जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधाम आउने भएका छन्। पार्टीकाे मधेश प्रदेश महामन्त्री मनीष कुमार साहले जारी गरेको सूचना तथा जानकारीपत्रअनुसार सभापति लामिछाने धर्मपत्नी निकिता पौडेलसहित कात्तिक २८ गते शनिबार जनकपुरधाम आउने कार्यक्रम तय भएको छ।
सभापति लामिछानेको जनकपुरधाम आगमनका क्रममा पार्टीले स्वागत, शुभकामना आदानप्रदान, सम्बोधन तथा पार्टीका नेता–कार्यकर्तासँग भेटघाट र अन्तरक्रियालगायतका कार्यक्रम राखेको छ।
निर्धारित कार्यक्रमअनुसार कात्तिक २८ गते दिउँसो १२ः१५ बजे जनकपुर विमानस्थलमा सभापति लामिछानेको स्वागत गरिनेछ। दिउँसो १ बजे जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा शुभकामना आदानप्रदान तथा सभापति लामिछानेबाट सम्बोधन हुनेछ। त्यसपछि दिउँसो २ बजेदेखि ४ बजेसम्म पार्टीका सबै तहका पदाधिकारीसँग सामूहिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।
कात्तिक २९ गते आइतबार बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म जनकपुरधामका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका मठमन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको छ। सोही दिन दिउँसो ३ बजे जनकपुरधामस्थित पवित्र गंगासागरमा आयोजना हुने छठ पर्वको पूजाअर्चना तथा धार्मिक अनुष्ठानमा सभापति लामिछाने सहभागी हुनेछन्।
त्यस्तै, कात्तिक ३० गते सोमबार बिहान ५ बजे उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्वको विधि तथा अनुष्ठानमा सहभागी हुने कार्यक्रम तय गरिएको छ। त्यसपछि दिउँसो जनकपुर विमानस्थलबाट बिदाइ तथा प्रस्थान गर्ने कार्यक्रम रहेको सूचनामा उल्लेख छ।
पार्टीले सभापति लामिछानेको जनकपुरधाम आगमन तथा छठ पर्वसँग सम्बन्धित कार्यक्रमलाई व्यवस्थित बनाउन मधेश प्रदेशअन्तर्गतका सम्पूर्ण तहका पदाधिकारी, सांसद, पार्टी सदस्य तथा शुभेच्छुकहरूलाई जानकारी गराउँदै आवश्यक समन्वय, सहकार्य र उपस्थितिका लागि अनुरोध गरेको छ।


