सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता – Kanika Khabar
Tuesday, November 24Nepali News Portal

सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता

    मा प्रकाशित

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल र नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अलअन्सारीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

भेटमा नेपाल–कतार सम्बन्ध थप सुदृढ बनाउने, लगानी विस्तार गर्ने तथा दुई देशबीचको सहकार्य बढाउने विषयमा छलफल भएको छ ।

भेटमा सभामुख अर्यालले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र कतारबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध, आपसी विश्वास र सहकार्यलाई थप मजबुत बनाउनुपर्ने बताएका छन् । उनले कतारमा कार्यरत नेपाली श्रमिकले त्यहाँको आर्थिक विकासमा पुर्‍याएको योगदानको चर्चा गर्दै उनीहरूको हकहित, सुरक्षा र मर्यादित वैदेशिक रोजगारी सुनिश्चित गर्न आवश्यक सहकार्य गर्न आग्रह गरेका छन् ।

सभामुख अर्यालले नेपालमा जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार र सूचना प्रविधिलगायतका क्षेत्रमा कतारी लगानी भित्राउन आग्रह गरेका छन् । साथै, नेपालमा उत्पादित फलफूल, तरकारी र अन्नलगायत कृषि उपज कतारमा निर्यात गर्ने वातावरण बनाउन समन्वय गर्नुपर्नेमा जोड दिएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरवेजको उडान सञ्चालनका लागि पहल गर्न तथा हवाई सम्पर्क विस्तारमार्फत पर्यटन र व्यापार प्रवर्द्धन गर्न पनि उनले आग्रह गरेका छन् । खेलकुदको विकासमा समेत दुई देशबीच सहकार्य विस्तार गर्नुपर्ने उनको भनाइ थियो ।

भेटमा सभामुखले गत वर्ष भोटेकोशी नदीमा आएको बाढीपछि कतार सरकारले गरेको मानवीय सहयोग, ऐक्यबद्धता र समवेदनाप्रति धन्यवाद दिएका थिए । उनले नेपालको पुनर्निर्माण तथा पुनःस्थापनामा थप सहयोगको अपेक्षा गर्दै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा दुई देशबीचको सहकार्यलाई निरन्तरता दिनुपर्ने बताएका थिए ।

कतारी राजदूत अलअन्सारीले नेपाल–कतार सम्बन्धलाई थप प्रगाढ बनाउन र आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्न कतार सकारात्मक रहेको बताएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्