देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति गगन थापाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा बसेको छ । बैठकको प्रारम्भमा सभापति थापाले समसामयिक राजनीतिक विषयमा विशेष सम्बोधन गरेका थिए। त्यसपछि महामन्त्री प्रदीप पौडेलले बैठकका लागि विभिन्न कार्यसूची प्रस्तुत गरेका थिए । बैठकमा संगठनको आगामी कार्यभारअन्तर्गत ‘हामी तयार छौँ’ अभियान, भोटेकोशी र बूढीगण्डकी विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माण, विस्थापित सुकुम्बासीको व्यवस्थापन र नागरिक सरोकारका विषयमा छलफल गर्ने कार्यसूची तय गरिएको छ । त्यस्तै, सरकारका पछिल्ला गतिविधि र आगामी स्थानीय निर्वाचनका विषयमा प्रारम्भिक छलफल गर्ने कार्यसूची रहेको कांग्रेसले जनाएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।
२- इरानको संसद्का सभामुख तथा अमेरिकासँगको वार्तामा इरानका प्रमुख वार्ताकार मोहम्मद बगेर गालिबाफले इरानले अघि सारेका सात सर्त पूरा नभएसम्म अमेरिकासँग कुनै पनि वार्ता नहुने बताएका छन् । मंगलबार संसद्मा सम्बोधन गर्दै गालिबाफले इरानको अडान पहिले नै स्पष्ट पारिसकेको उल्लेख गर्दै सात सर्त पूरा नहुँदासम्म कुनै कदम नचाल्ने र वार्ता पनि नगर्ने बताएका हुन् । उनले शत्रुका गतिविधिको जवाफ दिन इरान तयार रहेको चेतावनीसमेत दिएका छन् । शत्रु पक्षबाट कुनै गल्ती भए युद्धको भौगोलिक स्वरूप नै परिवर्तन गर्न आफूहरू तयार रहेको उनको भनाइ थियो । इरानले अमेरिकासमक्ष सात मागसहितको प्रस्ताव पेस गरेको जनाएको छ । इरानका अनुसार ती सर्त पूरा भए तोकिएको अवधिको अन्त्यमा होर्मुज जलमार्ग खोलिनेछ। त्यसपछि अमेरिकासँग स्थायी सम्झौताका लागि वार्ता सुरु हुनेछ । इरानका सर्तमा सबै मोर्चामा युद्ध अन्त्य गर्नुपर्ने, लेबनानमाथि इजरायलले गरिरहेका आक्रमण रोक्नुपर्ने, इरानमाथिको समुद्री नाकाबन्दी हटाउनुपर्ने र अमेरिकाले इरानमाथि लगाएका प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग समावेश छन् ।
३- मेडिकल शिक्षा सुधार तथा विगतमा भएका सहमति कार्यान्वयनका विषयमा सरकारले सरोकारवालासँग छलफल गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिक्षामन्त्री सस्मित पोखरेलको उपस्थितिमा भएको छलफलमा डा. गोविन्द केसीसँग भएका सम्झौता कार्यान्वयन, वीरगञ्जस्थित नेशनल मेडिकल कलेजको विवाद समाधान र चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने विषयमा छलफल भएको हो । बैठकमा कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी कानुनी व्यवस्था अध्यादेशमार्फत संशोधन गर्ने विषयसमेत उठेको थियो। नेशनल मेडिकल कलेजको विवाद समाधानका लागि समिति गठन गरी पठाउने विषयमा पनि छलफल भएको छ । शिक्षामन्त्री पोखरेलले चिकित्सा शिक्षा सुधारका क्रममा देखिएका समस्या नीतिगत रूपमा सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै डा. केसीसँग भएका सम्झौता कार्यान्वयनका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने बताएका छन् । बैठकले चिकित्सा शिक्षा सुधारका लागि नीतिगत पहल र अन्तरनिकाय समन्वयलाई तीव्रता दिने निर्णय गरेको छ ।
४- भारतका १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीले लिस्ट ‘ए’ क्रिकेटमा अहिलेसम्मकै छिटो शतक डेढ सय र दोहोरो शतक बनाउने कीर्तिमान कायम गरेका छन् । उनले एसिया कप राइजिङ स्टार्स प्रतियोगिताअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको समूह चरणको खेलमा मात्र २८ बलमा शतक पूरा गरेका हुन् । भारत ‘ए’ बाट ओपनिङ गरेका सूर्यवंशीले ६.३ ओभरमै शतक पूरा गर्दा १४ छक्का र चार चौका प्रहार गरेका थिए । उनले ३७५ को स्ट्राइक रेटमा ब्याटिङ गर्दै न्युजिल्यान्डका जेक फ्रेजर म्याकगर्कको कीर्तिमान एक बलले तोडेका हुन् । यो सूर्यवंशीको १६ लिस्ट ‘ए’ खेलमा दोस्रो शतक हो । उनले यसअघि यसै वर्ष श्रीलंका ‘ए’ विरुद्ध ११ बलमा अर्धशतक बनाएर लिस्ट ‘ए’ क्रिकेटमा सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान बनाएका थिए । यूएईविरुद्धको खेलमा उनले ४० बलमै १५० रन पूरा गर्दै आफ्नै पुरानो कीर्तिमानसमेत तोडेका छन् । यसअघि उनले गत वर्ष बिहारबाट अरुणाचल प्रदेशविरुद्ध ५९ बलमा १५० रन बनाएका थिए । यसै खेलमा उनले ५२ बलमा दोहोरो शतक पूरा गर्दै लिस्ट ‘ए’ क्रिकेटमा सबैभन्दा छिटो दोहोरो शतकको कीर्तिमानसमेत बनाएका छन् । यसअघि न्युजिल्यान्डका चाड बोवेसले सन् २०२४ अक्टोबर २३ मा क्यान्टरबरीबाट ओटागोविरुद्ध फोर्ड ट्रफीमा १०३ बलमा दोहोरो शतक पूरा गरेका थिए । यस खेलमा सूर्यवंशी २०४ रन बनाएर आउट भएका थिए । उनले आफ्नो इनिंगमा ५३ बल खेल्दै २८ छक्का र ७ चौका प्रहार गरेका थिए । यो खेल भारतले ७ विकेटले जितेर समुह बी बाट सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
५- नेपाली कांग्रेसका सभापति गगन थापाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र देखिएका समस्यामा कांग्रेस प्रवेश नगर्ने बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले रास्वपाभित्रका कुनै पनि समस्यामा कांग्रेसको रुचि नरहेको स्पष्ट पारेका हुन् । उनले भने, ‘हामी राष्ट्रिय स्वतन्त्र पार्टीभित्रका कुनै पनि खालका समस्याभित्र पस्दा पनि पस्दैनौँ, हामीलाई रुचि पनि छैन। हामी कुनै कचकच पनि गर्दैनौँ, हामी कुनै उपद्रोमा सहभागी पनि हुँदैनौँ । हामीले यो कुरा हाम्रो पार्टीको महाधिवेशनका दस्तावेजमा स्पष्ट भनेका छौँ ।’ थापाले सरकार सञ्चालन गर्न सरकारको आफ्नै जिम्मेवारी भएजस्तै प्रतिपक्षी दलहरूको पनि जिम्मेवारी हुने बताएका छन् । प्रतिपक्षमा रहेका दलहरूबीच गठबन्धन बनाउनुपर्ने पक्षमा कांग्रेस नरहेको स्पष्ट पार्दै उनले सरकारलाई प्रतिरोध गर्नुपर्ने ठाउँमा प्रतिरोध र सहकार्य गर्नुपर्ने ठाउँमा सहकार्य गर्ने नीति कांग्रेसले लिने बताए । उनले सरकारको कामकारबाहीबारे टिप्पणी गर्न थालेपछि आफ्नो विषयमा अडियो सार्वजनिक गर्ने र विभिन्न प्रचारबाजी गर्ने काम भएको पनि बताएका छन् । यस्ता गतिविधिविरुद्ध आफू पहिलेदेखि नै लड्दै आएको र आगामी दिनमा पनि लड्न तयार रहेको थापाले स्पष्ट गरेका थिए ।
६- काठमाडौं । नेपालसहित हिन्दुकुश हिमालय क्षेत्रका अधिकांश देशमा यस वर्षको हिउँदेयाममा औसतभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ । काठमाडौंस्थित अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), बेइजिङ नर्मल विश्वविद्यालय र चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको वायुमण्डलीय भौतिक विज्ञान संस्थानले सार्वजनिक गरेको नयाँ प्रतिवेदनले यस्तो प्रक्षेपण गरेको हो । प्रतिवेदनअनुसार नेपाल, अफगानिस्तान, बंगलादेश र उत्तरी म्यानमारसहित हिन्दुकुश हिमालय क्षेत्रका विभिन्न देशमा औसतभन्दा बढी वर्षा हुने सम्भावना छ । तर, क्षेत्रअनुसार मौसमी अवस्था फरक रहने देखिएको छ। पश्चिमी हिमालय क्षेत्रमा भारी वर्षाका कारण स्थानीय बाढी, पहिरो र हिमपहिरोको जोखिम बढ्न सक्ने प्रतिवेदनमा उल्लेख छ । ‘हिन्दुकुश हिमालय हिउँदे मौसम पूर्वानुमान २०२६’ नाम दिइएको प्रतिवेदन अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासनले शक्तिशालीदेखि अत्यन्त शक्तिशाली ‘एल निनो’ अवस्था विकास भइरहेको जानकारी सार्वजनिक गरेपछि आएको हो । सन् १९५० देखि उपलब्ध अभिलेखमध्ये यो सबैभन्दा शक्तिशाली एल निनो बन्न सक्ने सम्भावना करिब ६० प्रतिशत रहेको बताइएको छ। इसिमोडका वैज्ञानिकहरूका अनुसार यसले हिमालयका फेदी क्षेत्रमा बढी वर्षा र उच्च हिमाली क्षेत्रमा बढी हिमपात गराउन सक्छ । यस वर्षको हिउँदे मौसमको पूर्वानुमान सार्वजनिक हुँदा यसअघि गएको मनसुनमा नेपाल र भुटानलगायत क्षेत्रमा विनाशकारी प्राकृतिक विपद् भएका थिए । हिमाली क्षेत्रमा हिमनदी र स्थायी रूपमा जमेको जमिनमा आएको परिवर्तनका कारण यस्ता घटना भएको प्रतिवेदनले उल्लेख गरेको छ । सन् २०२६ को अगस्टमा नेपालको रसुवा जिल्लामा गएको विनाशकारी ढुंगा–हिउँ पहिरोका कारण उद्धार तथा पुनर्निर्माणमा ४ अर्ब ७० करोड अमेरिकी डलर बराबरको क्षति भएको अनुमान राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका प्रमुख लेखक सार्थक श्रेष्ठले मौसम प्रणाली र नदीले देशको सीमा नचिन्ने भएकाले विपद् बुझ्न र सामना गर्न क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएका छन् । क्षेत्रीय विज्ञता र आधुनिक पूर्वानुमान विधिलाई एकीकृत गरेर हिन्दुकुश हिमालय क्षेत्रका आठवटै देशलाई आगामी मौसमको साझा चित्र उपलब्ध गराउने उद्देश्यले प्रतिवेदन तयार गरिएको उनको भनाइ छ । प्रतिवेदनले अफगानिस्तान, पाकिस्तान, उत्तरी भारत र नेपालका केही क्षेत्रमा औसतभन्दा बढी हिउँ जम्ने अनुमान गरेको छ। यसको विपरीत भुटान र चीनको पूर्वी तिब्बत क्षेत्रमा हिउँको तह औसतभन्दा कम हुन सक्ने देखिएको छ । हिउँको गहिराइले नदीमा पानीको बहाव कायम राख्न र आगामी वर्षका लागि उपलब्ध हुने पानीको मात्रा अनुमान गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। हिउँ कम जम्दा सिँचाइ, जलविद्युत् उत्पादन र मुहानबाट बग्ने पानीमा समेत असर पर्न सक्छ । हिउँदेयाममा बढी वर्षा हुने अनुमान भए पनि हिन्दुकुश हिमालयका सबै क्षेत्रमा डढेलोको जोखिम भने हट्ने छैन। केही क्षेत्रमा लामो समयसम्म सुख्खा अवस्था रहने र घाँस तथा अन्य वनस्पति सुक्ने भएकाले आगलागीको जोखिम बढ्न सक्ने प्रतिवेदनमा उल्लेख छ। विशेषगरी चीनको दक्षिणपूर्वी तिब्बत र म्यानमारका केही क्षेत्रमा वन तथा घाँसे मैदानमा उच्चदेखि अत्यन्त उच्च डढेलो जोखिम देखिएको छ । इसिमोडका जलविज्ञानी मनीष श्रेष्ठले विपद् तयारी मनसुन सकिएपछि पनि निरन्तर हुनुपर्ने बताएका छन्। वर्षा अनियमित र तीव्र हुँदै जाँदा स्थानीय तहले मौसमी पूर्वानुमानका आधारमा पूर्वतयारी गर्नुपर्ने र कुन समयमा कहाँ कदम चाल्ने भन्ने निर्णयका लागि छोटो अवधिका स्थानीय पूर्वानुमान उपयोग गर्नुपर्ने उनको भनाइ छ ।
७- नेप्सेमा आज दोहोरो अंकले वृद्धि भएको छ । आज मंगलबार नेप्से १५.३९ अंकले बढेर २६३८.९५ विन्दुमा पुगेर रोकिएको छ । आज ३५० कम्पनिका एक करोड ४६ लाख ७० हजार १७७ कित्ता शेयर ५ अर्ब ५५ करोड ३० लाख १९ हजार २४९ मा कारोबार भएको थियो । आज माइक्रो फाइनान्स र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य भने बढेको छ । आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयर ५.०५ प्रतिशतले बढेको छ भने माउन्टेन हाइड्रोको शेयर ३.४२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी मानुषी लघुवित्तको शेयर ८ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी होटल शोल्टीको ३२ करोड १७ लाख बराबरको कारोबार भएको छ भने ग्लोबल आइएमईको ३० करोड ८३ लाख बराबरको कारोबार भएको छ ।
८- नेपाली काँग्रेसका सभापति गगन थापाले पूर्व सभापति शेरबहादुर देउवालाई जथाभावी नबोल्न चेतावनी दिदै राजनीतिक लेभल मेन्टेन गर्न आग्रह गरेका छन् । काँग्रेस केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले देउवाले राजनीतिक मन्चमा आफ्नो बारेमा र अदालतको बारेमा टिप्पणी गर्ने गरेको उल्लेख गर्दै जीवनको यो क्षणमा राजनीतिक मर्यादा ननाघ्न आग्रह गरेका हुन् । जेनजी आन्दोलनका क्रममा देउवाको घर गगन थापाले जलाएको हो भनेर सोध्दा देउवाले टाउको हल्लाएर सहमति जनाएको एक भिडियो आफूले हेरेको प्रसंग सुनाउदै थापाले भने- ‘त्यो उमेर र कदको नेताको बोली राजनीतिक हुनुपर्छ। असहमति पनि राजनीतिक हुनुपर्छ। सीमा र मर्यादाभित्र हुनुपर्छ ।’ देउवाले विभिन्न सार्वजनिक मञ्चबाट दिएका अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै थापाले त्यसपछि गुनासो नभएर देउवाप्रति प्रेम र चिन्ताका कारणले सुझाव दिएको बताए । उनले भने- ‘तपाइँ अग्लो हुनुहुन्छ, अग्लाइमै बस्नुस् । तपाईंले आफ्नो लेबल मेन्टेन गर्नुस् ।’ सभापति थापाले देउवाको अदालतमा चलखेल भएको भन्ने अभिव्यक्तिप्रति प्रश्न उठाउदै अदालतमा कसले वारेस राखेको छ भन्ने विषय खोज्न सञ्चार क्षेत्रलाई आग्रह गरे । उनले भने- ‘अदालतमा वारेस कसले हालेको हो, खोज्नुहोस्, त्यसपछि देउवा बोल्न छाड्नुहुन्छ ।’
९- सन् २०२६ को शरद ऋतुमा नेपालका ४७ हिमाल आरोहणका लागि ७७ देशका १ हजार ६१३ पर्वतारोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आरोहण अनुमति लिनेमा १ हजार २३७ पुरुष र ३७६ महिला रहेका छन् । उनीहरूबाट सरकारले ३३ करोड २९ लाख ४ हजार ९२२ रुपैयाँ रोयल्टी संकलन गरेको छ । प्रतिवेदनअनुसार कुल १८४ आरोहण टोलीले अनुमति लिएका छन्। उनीहरूबाट २ करोड १८ लाख ८८ हजार २५९ अमेरिकी डलर रोयल्टी संकलन भएको छ । जसअनुसार सबैभन्दा बढी आरोही मनास्लुमा पुगेका छन्। मनास्लु आरोहणका लागि ४३ टोलीका ५०० जनाले अनुमति लिएका छन्। त्यस्तै आमादब्लममा ३९ टोलीका ४६९, थापा पिक (धम्पुस) मा १३ टोलीका ६१ र हिमलुङ हिमालमा १३ टोलीका १३० जनाले अनुमति लिएका छन् । धौलागिरि प्रथममा ६ टोलीका ३७ पर्वतारोहीले अनुमति लिएका छन् । आरोहण अनुमति लिने देशमध्ये चीन पहिलो स्थानमा रहेको छ । चीनबाट १०२ पुरुष र ४४ महिला गरी १४६ जना पर्वतारोहीले अनुमति लिएका छन् । त्यस्तै फ्रान्सबाट १२४ पुरुष र १९ महिला गरी १४३, अमेरिकाबाट ९७ पुरुष र ३३ महिला गरी १३० तथा रुसबाट ८४ पुरुष र ३७ महिला गरी १२१ जनाले अनुमति लिएका छन् । यसैगरी बेलायतबाट ९६ पुरुष र १६ महिला गरी ११२, जर्मनीबाट १००, नेपालबाट ८८, इटालीबाट ६४, स्विट्जरल्यान्डबाट ५१ र अस्ट्रेलियाबाट ४६ जना पर्वतारोहीले आरोहण अनुमति लिएका छन् । त्यस्तै नेपालबाट अनुमति लिनेमा ८३ पुरुष र पाँच महिला रहेका छन् । पर्यटन विभागको तथ्यांकले शरद ऋतुमा पनि नेपालका हिमालप्रति विदेशी पर्वतारोहीको आकर्षण उल्लेख्य रहेको देखाएको छ। विशेषगरी मनास्लु र आमादब्लम आरोहणका लागि सबैभन्दा धेरै टोली तथा पर्वतारोही आकर्षित भएका छन् ।
१०- राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको सबै प्रकारका प्रतिबन्ध हटाएपछि संघको कार्यालय पुनः सञ्चालनमा आएको छ । एन्फाका महासचिव किरण राईले अब अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन पनि चाँडै हट्ने विश्वास व्यक्त गरेका छन् । महासचिव राईका अनुसार नेपाली फुटबलको समस्या समाधान, संघको निर्वाचनलगायत विषयमा फिफा र एसियाली फुटबल महासंघ (एएफसी) ले कार्ययोजना अनुसार नेपाली फुटबलले निकास पाउने उनको विश्वास छ । संघको निर्वाचनका विषयमा आफूहरू फिफा र एएफसीको लिखित निर्देशनको प्रतीक्षामा रहेको बताउँदै राईले नेपाली फुटबलको निकासका लागि एन्फा सबै विकल्पमा लचिलो रहेको बताएका छन् । थाइल्यान्डमा फिफा र एएफसीका प्रतिनिधिसँग सकारात्मक छलफल गरी नेपाली फुटबललाई निकास दिने प्रयास गरेको भन्दै उनले शिक्षा, युवा तथा खेलकुदमन्त्री, प्रमुख सल्लाहकार र राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्षसहितको प्रतिनिधिमण्डललाई धन्यवादसमेत दिएका छन् ।
११- प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्दसम्बन्धी सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले ठेक्का रद्दसम्बन्धी उजुरीमाथि छलफल गर्दै आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिएको हो । बैठकमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियाले सार्वजनिक खरिद नियमावलीअनुसार प्रक्रिया र मूल्याङ्कनका आधार सच्याउनुपर्ने देखिएकाले कानुनी जटिलता रोक्न ठेक्का रद्द गरिएको स्पष्ट पारे । समिति सदस्यहरूले आयोजना अलपत्र पार्न नहुने भन्दै ठेक्का रद्द गर्नुको कारण स्पष्ट पार्न माग गरेका थिए । मध्यतराईमा सिँचाइ सुविधा विस्तार र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित अघि बढाइएको आयोजनाको बाँध तथा विद्युत् गृह निर्माणको ठेक्का रद्द भएपछि समितिमा उजुरी परेको थियो ।
१२- भारत भ्रमण सकेर स्वदेश फर्किएपछि प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो भ्रमण टोलीका सदस्यहरूको प्रशंसा गरेका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालको तस्बिरसहित उनीहरूलाई ‘देश उभो लगाउने टोली, निकै मिहिनेती मान्छेहरू’ भन्दै प्रशंसा गरेका हुन् । भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनाल पनि सहभागी भएका थिए । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई भ्रमण टोलीका सदस्यहरूको कामप्रतिको प्रशंसाका रूपमा हेरिएको छ ।
१३- बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिना दुई वर्षभन्दा बढी समयदेखि भारतमा निर्वासनमा रहेपछि आगामी डिसेम्बर १६ मा स्वदेश फर्किने तयारीमा गरेको बताइएको छ । बंगलादेशका मिडियाका अनुसार बंगलादेशको विजय दिवसका अवसरमा ढाकासम्म राष्ट्रिय ध्वजावाहक विमानबाट फर्कने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेकी छन् । हसिनाका प्रवक्ता सैयद मोजम्मेल अलीका अनुसार उनले भारतको नयाँदिल्लीबाट बिमान बंगलादेश एयरलाइन्समार्फत स्वदेश फर्कन चाहेको बताएकी छन् । सन् २०२४ अगस्ट ५ मा उनी बंगलादेशबाट भारत पुगेकी थिइन् । तर बंगलादेश सरकारले हसिना स्वदेश फर्कन चाहे भारतसँगको सुपुर्दगी सन्धिअनुसार मात्रै सम्भव हुने स्पष्ट गरेको छ । विद्यार्थी आन्दोलनमाथि भएको हिंसात्मक दमनको आदेश दिएको अभियोगमा बंगलादेशको अदालतले गत वर्ष उनको अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो । हसिनाले भने आरोप अस्वीकार गर्दै आएकी छन् ।बंगलादेशका विदेश राज्यमन्त्री हुमायुन कबिरले हसिना सुपुर्दगी प्रक्रियाबाट मात्रै फर्कन सक्ने बताएका छन् । सन् २०२४ को आन्दोलनका क्रममा संयुक्त राष्ट्रसंघका अनुसार १ हजार ४०० जनासम्मको मृत्यु भएको थियो ।
१४- इरानकी चर्चित गायिका परस्तु अहमदी र उनको सांगीतिक समूहका चार सदस्यलाई युट्युबमा सार्वजनिक गरिएको सांगीतिक प्रस्तुतिका कारण ७४ कोर्रा हानिएको छ । स्थानीय सञ्चारमाध्यमले उनका वकिललाई उद्धृत गर्दै सोमबार सजाय कार्यान्वयन गरिएको जनाएका छन् । २९ वर्षीया अहमदीले सन् २०२४ डिसेम्बरमा दर्शकविहीन मञ्चमा गीत गाएर त्यसको भिडियो युट्युबमा सार्वजनिक गरेकी थिइन् । भिडियो लाखौँले हेरेका थिए । इरानमा महिलालाई सार्वजनिक रूपमा गीत गाउन प्रतिबन्ध छ भने हिजाब लगाउन र मर्यादित पहिरन अपनाउनुपर्ने नियम छ । उक्त प्रस्तुतिलाई लिएर अहमदीसहित उनका संगीतकर्मी र समूहका सदस्यलाई सार्वजनिक मर्यादा उल्लङ्घन तथा अश्लील सामग्री निर्माण र प्रसारणमा संलग्न भएको आरोप लगाइएको थियो। उनीहरूलाई गत जुनमा ७४ कोर्राको सजाय सुनाइएको थियो । एम्नेस्टी इन्टरनेसनलले यसअघि नै सजायको विरोध गर्दै कार्यान्वयन नगर्न इरानी सरकारसँग आग्रह गरेको थियो । सन् २०२२ मा महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि इरानमा महिलाले हिजाबसम्बन्धी नियमको विरोध गर्दै सार्वजनिक रूपमा हिजाब नलगाउने क्रम बढेको छ ।
१५- भारतको अयोध्याबाट प्रस्थान गरेको ‘सरयू–कमला एक्सप्रेस’ मंगलबार बिहान जनकपुरधाम आइपुगेको छ । रेल जनकपुरधामस्थित रेलवे स्टेसनमा आइपुग्दा जनप्रतिनिधि, धार्मिक अगुवा तथा स्थानीयवासीले सांस्कृतिक कार्यक्रम र परम्परागत झाँकीसहित भव्य स्वागत गरेका छन् । स्वागतका लागि जनकपुरधामका मेयर मनोजकुमार साह, जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णव, संघीय सांसद तथा मधेस प्रदेशसभा सदस्यहरू स्टेसन पुगेका थिए । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीबाट संयुक्त रूपमा भर्चुअल माध्यमबाट रेल सेवाको उद्घाटन गरेका थिए । करिब ६०४ किलोमिटर दूरी पार गर्ने १७ डिब्बे रेलले भारतको उत्तर प्रदेश र बिहार हुँदै जनकपुरधामलाई जोड्नेछ । सातामा एकपटक सञ्चालन हुने यस रेल सेवाले अयोध्या र जनकपुरधामबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धसँगै पर्यटन र दुई देशबीचको आवागमनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।
१६- नेपाली बजारमा सुनचाँदीको मूल्य आज बढेको छ । आज सुनको मूल्य तोलाको ५ सयले बढेर तोलाको दुई लाख ४७ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन प्रतितोला दुई लाख ४७ हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ३१४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि सोमाबर चाँदी ३११० रुपैयाँमा कारोबार भएको थियो ।
१७- अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङ पुनर्बहाली भएपछि कम्पनीको सेयर मूल्य एकै दिन ३१.४८ प्रतिशतले बढेको छ । सोमबारको कारोबारमा एनभिडियाको सेयर मूल्य ३६.६६ प्रतिशतसम्म बढेको थियो । यससँगै कम्पनीको बजार पुँजीकरण एकै दिन ९५२ अर्ब अमेरिकी डलरले वृद्धि भएको छ । ह्वाङलाई तत्काल लागू हुने गरी कम्पनीको प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्षमा पुनर्बहाली गरिएको घोषणापछि कृत्रिम बुद्धिमत्तासम्बन्धी कम्पनीका सेयरमा समेत तीव्र वृद्धि भएको थियो । यसको प्रभाव अमेरिकी सेयर बजारमा पनि देखियो। प्रविधि कम्पनीहरूको बाहुल्य रहेको नास्डाक परिसूचक ६.५१ प्रतिशत, एसएन्डपी ५०० परिसूचक ४.७३ प्रतिशत र डाउ जोन्स परिसूचक ३.०१ प्रतिशतले बढ्यो । गत साता कृत्रिम बुद्धिमत्तामा भइरहेको लगानीको भविष्यप्रति चिन्ता बढेपछि प्रविधि कम्पनीका सेयरमा ठूलो गिरावट आएको थियो । ह्वाङको पुनरागमनले लगानीकर्ताको अन्योल घटाएको र बजारमा सकारात्मक प्रभाव पारेको विश्लेषकहरूले बताएका छन् ।
१८- नेपालको कोशी प्रदेशस्थित लेलेप नजिकै ५.४ म्याग्निच्युडको भूकम्प गएको छ । मंगलबार बिहान ७ बजेर १७ मिनेटमा भूकम्प गएको हो । यसको केन्द्रबिन्दु कोशी प्रदेशको लेलेपबाट करिब ९ किलोमिटर टाढा रहेको थियो । भूकम्पको धक्का नेपालसहित बंगलादेश, भारत, भुटान र चीनमा महसुस भएको जनाइएको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो । अमेरिकाको भूगर्भ सर्वेक्षण संस्था यूएसजीएसले नेपालको पूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको बताएको छ ।
१९- विपद्को समयमा नागरिकलाई मोबाइल फोनमार्फत समयमै पूर्वसूचना उपलब्ध गराउने उद्देश्यले नेपालमा सेल ब्रोडकास्ट प्रणाली (सिबिएस) को प्रारम्भिक प्राविधिक परीक्षण सफल भएको छ । सोमबार सूचना तथा सञ्चार मन्त्रालय, गृह मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको समन्वयमा नेपाल टेलिकमले नियन्त्रित वातावरणमा उक्त प्रणालीको परीक्षण गरेको हो । परीक्षणका क्रममा तोकिएका मोबाइल उपकरणमा ‘यो परीक्षण सन्देश हो’ भन्ने सूचना सफलतापूर्वक प्राप्त भएको थियो । सेल ब्रोडकास्ट प्रणालीमार्फत विपद्को जोखिममा रहेका निश्चित भौगोलिक क्षेत्रका मोबाइल प्रयोगकर्तालाई एकैपटक पूर्वसूचना पठाउन सकिन्छ । यस प्रणालीले विशेषगरी बाढीपहिरोजस्ता प्राकृतिक विपद्का बेला नागरिकलाई समयमै सचेत गराउन र आवश्यक सुरक्षात्मक उपाय अपनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ । दोस्रो पुस्ताको दूरसञ्चार सञ्जालमा प्रारम्भिक परीक्षण सफल भएसँगै थप प्राविधिक परीक्षण र आवश्यक तयारी पूरा गरी बाढीको उच्च जोखिम रहेका क्षेत्रमा यो प्रणाली चरणबद्ध रूपमा विस्तार गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ । विपद् पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै नागरिकको जीवनरक्षा तथा जनधनको क्षति न्यूनीकरण गर्ने सरकारी प्रयासमा यो परीक्षणलाई महत्त्वपूर्ण प्रारम्भिक उपलब्धिका रूपमा लिइएको छ ।
२०- टर्कीमा आयोजित संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–३१ कुनै ठोस सम्झौतामा पुग्न नसकी सम्पन्न भएको छ। जीवाश्म इन्धनको प्रयोग क्रमशः अन्त्य गर्ने विषय र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न धनी राष्ट्रले उपलब्ध गराउनुपर्ने आर्थिक सहयोगमा सहमति नजुट्दा सम्मेलन निष्कर्षविहीन बनेको हो । करिब २०० देशका प्रतिनिधिमण्डल सहभागी सम्मेलन दुई सातासम्म चलेको थियो। निर्धारित कार्यतालिकाअनुसार शुक्रबार नै सम्पन्न हुनुपर्ने सम्मेलन सहमति जुटाउने प्रयासमा आइतबारसम्म लम्बिएको थियो । यससँगै यो इतिहासकै सबैभन्दा लामो कोप सम्मेलन बनेको छ । सम्मेलनको अन्तिम मस्यौदामा जीवाश्म इन्धनको प्रयोग क्रमशः अन्त्य गर्नुपर्ने विषय समावेश नगरिएपछि युरोपेली संघसहित केही राष्ट्रले त्यसलाई अस्वीकार गरेका थिए । जलवायु परिवर्तनको प्रमुख कारण मानिने कोइला, तेल र ग्यासको प्रयोग घटाउने विषयलाई सम्झौतामा समेट्नुपर्ने उनीहरूको माग थियो । युरोपेली संघका तर्फबाट बोल्दै आयरल्यान्डका मन्त्री डाराघ ओ’ब्रायनले सम्झौतालाई औपचारिक रूपमा अस्वीकार गर्ने घोषणा गरेका थिए। उनले अन्तिम मस्यौदा ढिलो सार्वजनिक गरिएको भन्दै आलोचना गरे । जीवाश्म इन्धनको उल्लेखसमेत नभएको सम्झौता स्वीकार गर्न नसकिने उनको भनाइ थियो । उनले केही तेल उत्पादक राष्ट्रले आफ्नो स्वार्थअनुकूल सम्मेलनको वार्तालाई प्रभावित पारेको आरोपसमेत लगाए । जीवाश्म इन्धनको विषय हटाएर तयार गरिएको सम्झौतालाई उनले जलवायु संरक्षणको नाममा वास्तविक अवस्था लुकाउने प्रयासका रूपमा व्याख्या गरेका थिए । आइतबार सार्वजनिक गरिएको १२ पृष्ठको चौथो मस्यौदामा सन् २०३५ सम्म कुल ऊर्जा खपतमा विद्युत्को हिस्सा ३५ प्रतिशत पुर्याउन देशहरूलाई आग्रह गरिएको थियो । कार्बन उत्सर्जन नियन्त्रण, कार्बनको प्रयोग तथा भण्डारणसम्बन्धी प्रविधिको उपयोगमा पनि केही सामान्य परिवर्तन समेटिएका थिए। तर जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विषय भने पूर्ण रूपमा छुटाइएको थियो । फ्रान्सले कार्बन उत्सर्जन नियन्त्रण तथा भण्डारण प्रविधिमा अत्यधिक निर्भर हुँदा तेल र ग्यास उत्पादक राष्ट्रले हालकै स्तरमा जीवाश्म इन्धन प्रयोग जारी राख्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको थियो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्मेलन कुनै व्यापक सम्झौतामा पुग्न नसकेकोमा गहिरो निराशा व्यक्त गरेका छन्। उनले वार्तामा सहमति नजुटे पनि जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक तथ्यमा कुनै अस्पष्टता नरहेको बताएका छन् । गुटेरेसले जीवाश्म इन्धन उत्पादन गर्ने शक्तिशाली कम्पनी र तिनका स्वार्थसँग जोडिएका समूहको आलोचना गर्दै उनीहरूले वैज्ञानिक तथ्यलाई गलत ढंगले प्रस्तुत गर्ने, नीतिगत निर्णयमा ढिलाइ गराउने र जलवायु संरक्षणका प्रयास रोक्ने काम गरिरहेको आरोप लगाए । उनले धनी राष्ट्रहरूलाई जलवायु कोष उपलब्ध गराउने प्रतिबद्धता पूरा गर्न पनि आग्रह गरेका छन् । जलवायु परिवर्तनको सबैभन्दा बढी असर भोगिरहेका समुदायसम्म आर्थिक सहयोग पुर्याउन आवश्यक रकम र समयसीमा स्पष्ट गर्नुपर्ने उनको भनाइ थियो । जीवाश्म इन्धन भन्नाले लाखौँ वर्षअघि जीवजन्तु तथा वनस्पतिका अवशेषबाट बनेका कोइला, पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासलाई बुझिन्छ। विश्वको ठूलो हिस्सा ऊर्जा उत्पादनका लागि यिनै स्रोतमा निर्भर छ । यस्ता इन्धन जलाउँदा कार्बनडाइअक्साइड लगायतका हरितगृह ग्यास उत्सर्जन हुन्छन्। ती ग्यासले वायुमण्डलमा तापक्रम बढाउने भएकाले पृथ्वीको तापमान वृद्धि र जलवायु परिवर्तनलाई तीव्र बनाउँछन् । यही कारण विश्वका अधिकांश राष्ट्रले जीवाश्म इन्धनको प्रयोग घटाउनुपर्ने आवश्यकता स्वीकार गरे पनि त्यसलाई कसरी, कुन समयसीमाभित्र र कस्तो आर्थिक सहयोगका आधारमा कार्यान्वयन गर्ने भन्ने विषयमा मतभेद रहँदै आएको छ। कोप–३१ मा पनि यही मतभेदले साझा सम्झौताको बाटो अवरुद्ध गरेको हो ।


