कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गुरुकुल शिक्षाको विकास र धार्मिक स्थलहरूको संरक्षण तथा प्रवद्र्धनमा प्रदेश सरकारले प्राथमिकता दिँदै आएको बताउनुभएको छ । उहाँले आध्यात्मिक ज्ञान र नैतिक शिक्षाको अभावमा समाजमा अनुशासन तथा कर्तव्यबोध कमजोर हुँदै जाने भन्दै गुरुकुल शिक्षालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–२, पिपरा नन्दनगरस्थित कैलाश आश्रम तथा मनकामना दुर्गा मन्दिरमा आयोजित ३२औँ ज्ञानमहायज्ञ तथा श्रीमद्भागवत महापुराण सप्ताहको बिहिबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले गुरुकुल शिक्षा र छात्रावासको विकासका लागि प्रदेश सरकारले बजेटको व्यवस्था गरेको बताउनुभयो ।
गुरुकुलमा अध्ययनरत विद्यार्थीलाई सहज र व्यवस्थित रूपमा बसोबासको व्यवस्था गर्न छात्रावास निर्माणलाई छिटो सम्पन्न गर्नुपर्ने उहाँको भनाइ थियो । गुरुकुल शिक्षाको विकास र छात्रावास निर्माणका लागि प्रदेश सरकारले निरन्तर ध्यान दिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री आचार्यले धार्मिक तथा ऐतिहासिक स्थलको विकास र आन्तरिक तथा बाह्य धार्मिक पर्यटक आकर्षित गर्न आयोजकले निरन्तर प्रयास गरिरहेको भन्दै प्रशंसा गर्नुभयो । गत वर्षझैँ यस वर्ष पनि ३२औँ महायज्ञ सञ्चालन गरेर धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक गतिविधिलाई निरन्तरता दिएकोमा आयोजकप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले नन्दनगर क्षेत्रको विकास र उन्नतिमा आयोजकले पु¥याएको योगदानको प्रशंसा गर्दै यस ऐतिहासिक स्थलको विकासमा तीनै तहका सरकारको ध्यान आकर्षित भइरहेको बताउनुभयो ।
आध्यात्मिक ज्ञानले मानिसलाई अनुशासित, कर्तव्यनिष्ठ र जिम्मेवार बनाउने उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले धर्म र आध्यात्मिक शिक्षाको अवमूल्यन हुँदा समाजमा अराजकता बढ्न सक्ने धारणा राख्नुभयो । समाजमा नैतिकता, अनुशासन र आत्मज्ञानको विकासका लागि गुरुकुल शिक्षालाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो ।
आर्जित कमाइको निश्चित हिस्सा दान तथा सामाजिक सेवामा खर्च गर्ने संस्कारले समाज र धार्मिक संस्थाको विकासमा सहयोग पुग्ने भन्दै उहाँले दान तथा परोपकारको महत्वसमेत औँल्याउनुभयो । कैलाश आश्रम तथा मनकामना दुर्गा मन्दिर व्यवस्थापन समितिको आयोजनामा मंसिर १६ गतेसम्म सञ्चालन हुने महायज्ञमा कूर्मपुराण पाठपारायण तथा संगीतमय श्रीमद्भागवत धनधान्याचल कार्यक्रमसमेत आयोजना गरिएको छ । महायज्ञमार्फत धार्मिक तथा आध्यात्मिक गतिविधिलाई प्रवद्र्धन गर्दै मन्दिर तथा गुरुकुलको विकास गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।
मा प्रकाशित


