कनिका खबर
भदौ २३, भक्तपुर
कोरोना सङ्क्रमण भएर गम्भीर अवस्थामा पुगेका बिरामीको प्लाज्मा थेरापी गर्न नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले कोरोना भाइरस सङ्क्रमण निको भएकाको रगत सङ्कलन अभियान सुरु गरेको छ । कोरोना सङ्क्रमण निको भएकाको रगतको प्लाज्मा गम्भीर बिरामीका लागि जीवनदान बन्न सक्ने भएपछि रेडक्रसले सङ्क्रमण भएर निको भएकाको रगत सङ्कलन अभियान शुरु गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति मनोजकुमार थापाले जानकारी दिनुभयो । कोरोना भाइरसको औषधि र खोप पत्ता नलागेको अहिलेका अवस्थामा सङ्क्रमण भएर निको भएकाको रगतको प्लाज्मा गम्भीर सङ्क्रमितका लागि जीवनदान हुने भएपछि प्लाज्मा थेरापीका लागि रगतको माग आउन थालेको उहाँले बताउनुभयो । पहिलो पटक सङ्कलन गरिएको रगतको प्लाज्मा पाटन अस्पतालमा उपचार गराइरहेका सङ्क्रमितलाई उपलब्ध गराइएको छ । आज ए पोजेटिभ रक्त समूहका अर्का एक व्यक्तिको रगत सङ्कलन गरेर बयोधा अस्पतालमा उपचार गराइरहेका सङ्क्रमितका लागि प्लाज्मा बनाएर पठाएको सभापति थापाले जानकारी दिनुभयो । प्लाज्मा थेरापीका लागि रगत दिने व्यक्तिलाई घरसम्मै रेडक्रसले सवारीसाधन लिएर लिन जाने र भक्तपुर रेडक्रसको रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक) मा रगत सङ्कलन गरी प्लाज्मा छुट्याएर उपलब्ध गराउने गरिएको छ । रेडक्रसले कोरोना सङ्क्रमण निको भएका व्यक्ति र परिवारको सहमतिमा रगत सङ्कलन गर्ने गरेको छ ।
मा प्रकाशित