काठमाडौं । सर्बियाको राजनीतिमा ठूलो परिवर्तनको संकेत देखिएको छ ।
करिब दुई वर्षदेखि सरकारविरुद्ध आन्दोलन गर्दै आएका विद्यार्थीको समर्थनमा उत्रिएको समूहले निर्वाचनमा अग्रता हासिल गरेको प्रारम्भिक अनुमान सार्वजनिक भएको छ । लामो समयदेखि सत्तामा प्रभावशाली रहेका अलेक्जान्डर भुसिचले पनि प्रारम्भिक तथ्याङ्कले आफ्नो दल पराजित हुने देखाएको स्वीकार गरेका छन् ।
२५० सदस्यीय संसद्मा विद्यार्थी समर्थित समूहले १३५ देखि १४० सिट प्राप्त गर्न सक्ने देखिएको छ भने उनको दलले करिब १०५ सिटमा चित्त बुझाउनुपर्ने हुन सक्छ । निर्वाचन सर्वेक्षण संस्था सिइएसआइडी र इप्सोसको प्रारम्भिक अनुमानले पनि विद्यार्थी आन्दोलनसमर्थित उम्मेदवारले करिब १३८ सिट जित्न सक्ने देखाएको छ। यद्यपि, निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुन बाँकी रहेको छ ।
प्रारम्भिक नतिजा सार्वजनिक भएसँगै राजधानी बेलग्रेडमा विद्यार्थी तथा समर्थकहरूले उत्सव मनाउन थालेका छन् । बेलग्रेड विश्वविद्यालयका प्राध्यापक रादोमिर साइचिकले जनताको आवाज सुनिन थालेको बताउँदै अब देशको भविष्य सुधार्ने जिम्मेवारी पनि पूरा गर्नुपर्ने बताएका छन् । निर्वाचनमा आइतबार साँझसम्म ६७.६ प्रतिशत मतदाताले मतदान गरेको जनाइएको छ, जुन सन् १९९२ मा युगोस्लाभियाको विघटनपछि उच्च मतदानमध्ये एक भएको बताइएको छ ।
भुसिच एक दशकभन्दा लामो समयदेखि सर्बियाको राजनीतिमा प्रभावशाली रहँदै आएका छन् । उनको सरकारको कार्यशैली र बढ्दो सत्ताकेन्द्रित प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले लामो समयदेखि आन्दोलन गर्दै आएका थिए ।


