कनिका खबर
असोज ८, दाङ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लाको सीमाबारे परराष्ट्र मन्त्रालयको अभिव्यक्ति अपरिपक्व भएको बताएको छ । हुम्ला जिल्लामा चीनले सीमा मिचेको हो वा होइन भन्ने विषयमा स्थलगत अध्ययनको विवरण आउनुपूर्व नै ‘सीमा मिचिएको छैन’ भनेर परराष्ट्र मन्त्रालयको धारणा सार्वजनिक हुनु कमजोरी भएको बताएको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जारी गरी प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाली सेना र नेपाल प्रहरीसमेतको टोलीले अध्ययन गरी सदरमुकाम फकिर्नुपूर्व नै सरकारले धारणा सार्वजनिक गर्नु अपरिपक्व भएको बताएका छन् ।
अध्ययन टोलीले बुधबार ११ नम्बर पिलर भेटेको र चीनले निर्माण गरेको १२ नम्बर पिलरबाट भित्र हो कि बाहिर भन्ने अध्ययन टोलीको निष्कर्षपछि मात्र सीमा मिचिएको हो कि होइन भन्ने निष्कर्ष पुग्न सकिने स्थितितर्फ सरकारले हेक्कासमेत राख्न नसकेको कांग्रेसको भनाइ छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सीमासम्बन्धी गम्भीर प्रश्नमा स्थानीय प्रशासन, राजनीतिक दल र सञ्चारमाध्यम समेतको ठोस अध्ययन र अवधारणको जगमा धारणा सार्जजनिक गर्नु जिम्मेवार र परिपक्व हुने हाम्रो बुझाइ छ ।’
कांग्रेसले आज बिहीबार साँझसम्ममा स्थलगत टोली हुम्लाको सदरमुकाम फर्किएपछि सीमा मिचिएको ठहर भए चीन सरकारसमक्ष कडा विरोध जनाउँदै संवादको कूटनीतिक प्रक्रियामार्फत समाधानमा पुग्न पनि कांग्रेसले सरकारलाई सचेत गराएको छ ।