प्रतिष्ठानमा चैतदेखि बीएस्सी नर्सिङ पढाइ – Kanika Khabar
Friday, March 29Nepali News Portal

प्रतिष्ठानमा चैतदेखि बीएस्सी नर्सिङ पढाइ

    मा प्रकाशित

खेमराज रिजाल
दाङ, ११ असोज ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आउँदो चैत महिनादेखि बीएस्सी नर्सिङको पढाइ शुरु हुने जनाएको छ । प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानले सो कुराको जानकारी दिएको हो । साथै सकेसम्म आईएस्सी नर्सिङ कक्षा पनि चैतदेखि नै थाल्ने तयारी पनि प्रतिष्ठानले गरेको छ ।

‘बीएस्सी नर्सिङको करिकुलम निर्माणदेखि भौतिक पूर्वाधार निर्माण समेतका काम सम्पन्न भइसकेका छन्, अब लकडाउन भनेर रोकिने छैनौं’, प्रतिष्ठानका उपकुलपति प्रा.डा. संगीता भण्डारीले पत्रकार सम्मेलनमा भनिन् ।

प्रतिष्ठानले अघिल्लो बार्षिकोत्सवमा पनि गत चैतदेखि नै यो विषयको पढाइ थाल्ने अभिव्यक्ति दिएको थियो । यद्यपि चर्को लकडाउनका कारण पढाइको काम शुरु हुन सकेको थिएन ।

त्यसैगरी पत्रकार सम्मेलनमा उपकुलपति भण्डारीले एमबीबीएस कक्षा सञ्चालनका लागि पनि प्रतिष्ठान अघि बढिरहेको भन्दै राज्यले ३ सय बेडको अस्पताल बनाउन बजेट विनियोजन गरेको खण्डमा केही बर्षभित्रै एमबीबीएस र एमडी कक्षासमेत सञ्चालन गर्ने बताइन् ।

एमबीबीएस र एमडी कक्षा सञ्चालनका लागि भौतिक निर्माणका लागि आवश्यक पर्ने जग्गा प्राप्तिका लागि पनि पहल भइरहेको बताउँदै घोराहीको नवलपुर र झिङ्नीमा रहेका जग्गा प्राप्तिका लागि फाइल मन्त्रालयमा पुगिसकेको पनि पत्रकार सम्मेलनमा प्रा.डा. भण्डारीले उल्लेख गरिन् ।

सोही अवसरमा उपकुलपति भण्डारीले स्तरीय एवं विशेषज्ञ स्वास्थ्यसेवामा प्रतिष्ठान प्रतिवद्ध रहेको भन्दै अत्याधुनिक प्रयोगशाला, आइसियु सेवा (छोटो अवधिका लागि), स्तरीय अपे्रशन थियटर निर्माणलगायतका पैसा नहुने विपन्न बर्गका बिरामीहरुलाई निःशुल्क औषधिसहितको उपचारसेवा प्रदान गर्न समेत प्रतिष्ठान प्रतिवद्ध रहेको बताइन् ।

आइसियु सेवाका सन्दर्भमा केही प्रश्नहरु उठिरहेको उल्लेख गर्दै उनले अब अक्सिजन प्लान्ट निर्माण सम्पन्न भइसकेपछि निकट भविष्यमै आइसियु सेवा नियमित रुपमा सञ्चालन गर्ने पनि बताइन् ।

पत्रकार सम्मेलनमा प्रतिष्ठानका निर्देशक डा. सागर पन्थीले प्रतिष्ठानले आर्थिक बर्ष २०७६÷७७ मा प्रदान गरेका सेवाका विषयमा जानकारी गराएका थिए । उनले यस अवधिमा इमर्जेन्सी सेवा, बहिरंग सेवा, अन्तरंग सेवा, सुत्केरी सेवा, शल्यक्रिया सेवा, रेफरल, प्रयोगशाला, डट्स्, एआरटी, डायलासिस, पोषण, सामाजिक सेवा इकाईमार्फत निःशुल्क सेवा तथा एकद्वार संकट व्यवस्थापन केन्द्रद्वारा दिइएका सेवाहरुको विवरण तथ्यांकसहित प्रस्तुत गरेका थिए ।

साथै कोभिड–१९ का सन्दर्भमा बैशाखदेखि पहिलो ५ हप्तामै कम्तीमा १५ हजारको पिसिआर परीक्षण भएको र हालसम्म २४ हजार ४ सय ८९ जनाको पिसिआर परीक्षण भएको उल्लेख गरिएको थियो । जसमा नेगेटिभ रिपोर्टको संख्या २१ हजार १ सय ३ र पोजेटिभ रिपोर्टको संख्या १ हजार ३ सय ८६ रहेको उल्लेख गरियो । त्यस्तै आइसोलेसनमा ४३ जना बिरामीको उपचार तथा क्वारेन्टाइनमा राखेर १ सय जनाको उपचार तथा फिवर क्लिनिकमा ६ सय २७ जनालाई उपचार सेवा दिएको उल्लेख गरिएको थियो ।

निर्देशक पन्थीले प्रतिष्ठानले ल्याप्रोस्कोपी मेसिनद्वारा पित्तथैलीको पत्थरीको शल्यक्रिया, इकोकार्डियोग्राफी, एसएनसियु, पिआइसियु, बिरामीको सुरक्षालाई ध्यानमा राखी सिसी क्यामेरा जडान लगायतका सेवाहरु विस्तार गरिसकेको उल्लेख गर्दै चाँडै सिटीस्क्यान सेवा तथा निकट भविष्यमा एमआरआइ सेवासमेत उपलव्ध गराउने तयारी गरिरहेको बताए । त्यसैगरी भौतिक संरचना निर्माणतर्फ अस्पतालमा लिफ्ट सेवा, अत्याधुनिक मेसिन जडान गरी कपडाहरु धुने तथा निर्मलीकरण गर्ने गरिएको उल्लेख गरिएको छ ।

प्रतिष्ठानका भावी योजनामा १२८ स्लाइसको सिटीस्क्यान मेसिन जडान गरी दुई महिनाभित्रै सिटीस्क्यान सेवा प्रदान गरिने, न्युरो तथा स्पाइन सर्जरी सेवा, दूरविन प्रविधिमार्फत घुडा र कुमको शल्यक्रिया, युरो सर्जरी सेवा, आधुनिक मेसिनमार्फत नाक, कान र घाँटीको शल्यक्रिया, दुई महिनाभित्र आधुनिक मेसिनबाट पिनासको शल्यक्रिया, कान नसुन्नेहरुका लागि अडियोकोलोजी, इण्डोस्कोपी सेवा, ब्रोन्कोस्कोपी मेसिनद्वारा घाँटीमा अड्किएको हाडको शल्यक्रिया गरिने पनि प्रतिष्ठानले जनाएको छ ।

त्यसका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग पनि सहयोगका लागि आवश्यक परामर्श भइरहेको बताइएको छ । पत्रकार अन्तक्र्रिया कार्यक्रममा अस्पतालका डिन डा. वसन्त लामिछानेले अस्पतालको एकेडेमिक कक्षा सञ्चालनको तयारीका विषयमा जानकारी दिँदै प्रसूति सेवामा एकजना मात्रै चिकित्सक भए पनि महिला तथा गर्भवतीलाई उपचारविना घर फर्कनु नपरेको बताएका थिए ।

त्यसका लागि बीएस्सी नर्सिङ अध्ययनका लागि पढाइ कक्षको भौतिक निर्माण तथा पाठ्यक्रम निर्माणको काम सम्पन्न भइसकेको पनि डिन लामिछानेले बताएका छन् । प्रसूतिरोग विशेषज्ञसमेत रहेका डा. लामिछानेले प्रसूति सेवा नपाएर सायद कुनै पनि बिरामी अस्पतालबाट फर्कनु नपरेको उल्लेख गर्दै थप एकजना प्रसूतिरोग विशेषज्ञ राख्ने तयारी भइरहेको पनि बताए ।

दोस्रो वार्षिकोत्सवका अवसरमा प्रतिष्ठानले बृक्षारोपण कार्यक्रम आज शनिवार गर्ने जनाएको छ । त्यसैगरी आइतवार बिहान ८ बजे वार्षिकोत्सवका उपलक्ष्यमा रक्तदान कार्यक्रम तथा वार्षिकोत्सवका दिन १२ गते सोमवार निःशुल्क ओपिडी सेवा, झण्डात्तोलन तथा उत्कृष्ट स्वास्थ्यकर्मी एवं कर्मचारीलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको पनि पत्रकार सम्मेलनमा बताइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्