कनिका संवाददाता
बैशाख २९ दाङ ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले किसानहरुलाई अनुदानको मकै र धान वितरण सुरु गर्ने भएको छ । कृषि विकास शाखामा किसानहरुले माग गरेको आधारमा सोमबारबाट वितरण सुरु गरिने शाखाका प्रमुख धनराज गौतमले जानकारी गराए । “मकैको सोमबारबाटै वितरण हुन्छ भने धानको विउ जेठको पहिलो हप्ताबाट वितरण हुनेछ” गौतमले भने ।
उपमहानगरपालिकाले कृषकहरुलाई अनुदानमा उन्नत जातको मकै र धानको विउँ वितरणका लागि सार्वजनिक रुपमा आह्वान गरेको थियो । सूचनाका आधारमा दुबै बालीका लागि ५ सय जति किसानहरुले आवेदन दिएको पनि कृषि विकास शाखाले जानकारी दिएको छ ।
कृषकहरुको आवश्यकता पहिचान गरी सामाजिक दुरी कायम गर्दै वडा कार्यालय मार्फत विउँ वितरण गरिने अर्थ समितिका संयोजक माधव वलीले जानकारी दिए । उनले माग गर्ने सबै किसानहरुलाई विउ उपलब्ध गराइने पनि जानकारी दिए । “उहाँले मागेको भन्दा पनि आवश्यकत कति छ भन्ने कुरालाई मध्यनजर गरिनेछ” संयोजक वलीले भने ।
उपमहानगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा धान र मकैको विउ वितरण गर्ने भएको हो । उपमहानगरपालिकाको वसेको अर्थ समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
मा प्रकाशित