नेकपाको कर्णाली प्रदेशको विवादः दुई अध्यक्षको छुट्टाछुट्टै निर्देशन – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नेकपाको कर्णाली प्रदेशको विवादः दुई अध्यक्षको छुट्टाछुट्टै निर्देशन

    मा प्रकाशित

कनिका खबर
कार्तिक ८, काठमाडौं
नेकपाको कर्णाली प्रदेशको विवाद समाधानका लागि २ अध्यक्षबीच सहमति भएको भनिए पनि दुई अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फरकफरक निर्देशन कर्णालीमा पठाएको पाइएको छ । ओलीको ५ कात्तिक र प्रचण्डको ७ कात्तिकको मितिमा जारी पत्र सार्वजनिक भएपछि यस्तो थाहा भएको हो । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओलीले कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई लेखेको पत्रमा निवर्तमान मुख्य सचेतक गुलाबजंग शाहलाई जिम्मेवारीमा स्थापित गर्न निर्देशन दिनुभएको छ । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री शाहीले शाहलाई कारबाही गरेर सीता नेपालीलाई प्रमुख सचेतक बनाउनुभएको छ । प्रचण्डले लेखेको पत्रमा आफू र ओलीबीच ४ कात्तिकमा भएको सहमति लागू गर्न प्रदेश इन्चार्जलाई निर्देशन दिइएको छ । प्रचण्डले लेखेको पत्रमा भनिएको छ, ‘दुई अध्यक्षहरुबीच कात्तिक ४ मा भएको भेटघाटमा कर्णाली प्रदेशको विषयमा छलफल भई अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतकसम्बन्धी विषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको छ । यो समझ्दारी र हाम्रो दलको प्रदेश सभा सदस्यहरुको भावना र मर्मअनुसार कार्यान्वयन गर्न निर्देशन दिन्छु ।’

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध पेस भएको अविश्वासको प्रस्ताव नेकपाबाट बहुमतले अस्वीकृत भएको छ । प्रमुख सचेतक सीता नेपालीको अध्यक्षतामा हिजो बसेको बैठकमा १८ जना सांसद उपस्थित थिए । बैठकमा पूर्वमाओवादी पक्षका ११ जना र वरिष्ठ नेता माधवकुमार नेपाल खेमाका ८ जना उपस्थित थिए । अध्यक्ष तथा प्रधानमन्त्री ओली समूहका यमलाल कँडेल सहित ११ जना र पूर्वमाओवादी समूहका सांसदहरु धर्मराज रेग्मी र पुष्पा घर्ती भने बैठकमा अनुपस्थित रहनुभयो । हिजोको बैठकले दफा २४ को ४ बमोजिम बहुमतको आधारमा निर्णय गरेको प्रमुख सचेतक नेपालीले बताउनुभयो । ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपाका ३३ सांसद छन् । सांसद यामलाल कँडेलको अगुवाइमा असोज २५ गते १८ जना सांसदले शाही विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तीमध्ये ९ जनाले आफ्नो हस्ताक्षर फिर्ता लिएका थिए ।

कार्यकारी अध्यक्ष दाहालद्वारा जारी विज्ञप्ति

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्