कोेभिड म्यादी अस्पताल : नाम मात्रका आइसियु र भेन्टिलेटर, कुरा ठूला लथालिङ्ग व्यवस्थापन – Kanika Khabar
Thursday, April 18Nepali News Portal

कोेभिड म्यादी अस्पताल : नाम मात्रका आइसियु र भेन्टिलेटर, कुरा ठूला लथालिङ्ग व्यवस्थापन

    मा प्रकाशित

खेमराज रिजाल
तुलसीपुर, २५ कार्तिक ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको पहलमा बेलझुण्डी विश्वविद्यालयको बीएएमएस अध्ययनरत विद्यार्थीहरुको क्याम्पसलाई रातारात कोरोना विशेष अस्पताल बनाइयो । संघीय मातहतमा रहेको सो विश्वविद्यालयको पठन–पाठन कहाँ हुने हो भन्ने विषयमा विश्वविद्यालयका पदाधिकारीहरु पनि जानकार भएनन्, किनकि विश्वविद्यालयको एउटा अध्यापन केन्द्र किन प्रदेश सरकारको मातहतमा कोरोना विशेष अस्पताललाई दिइयो भनेर ।

विश्व समुदाय नै कोरोना भाइरसको चपेटामा परेको अवस्थामा अस्पताल स्थापना हुनु दाङवासीका लागि गर्वको कुरा थियो तर अस्पताल अस्पताल नभएर आइसोलेसनमा मात्रै सीमित भएको जानकारहरुले बताएका छन् । किनकि यहाँ तुलसीपुरको अस्पतालबाट लगिएका आइसियु उपकरण र भेण्टिलेटर अझैसम्म पनि चल्न सकेका छैनन् । कारण बेलझुण्डी कोरोना विशेष अस्पताल नेपाल सरकारको कुन निकायले स्थापना गरेको हो भन्ने नै टुंगो लाग्न सकेको छैन ।

तुलसीपुरको प्रादेशिक अस्पतालको अभिन्न अंग बेलझुण्डी अस्पताल हो भने सो अस्पतालका अध्यक्ष प्रदेश सरकारका कानुनमन्त्री कुलबहादुर केसी छन्, अस्पताल विकास समितिका अध्यक्ष अर्कै छन् । अस्पतालका तात्कालीन मेसु डा. प्रताप पोख्रेललाई नसोधी अस्पतालको मेसु बनाइयो, अनि नसोधी फेरि हटाइयो । किनकि डा. पोख्रेलले चिकित्सकीय सेवावाहेकको अर्थराजनीति जान्दैनथे ।

फेरि तुलसीपुर अस्पतालमा मेसु फेरिएर डा. शर्वेश शर्मालाई बनाइयो । यही प्रश्नसँगै विश्वविद्यालयका कर्मचारीसमेत कोरोना विशेष अस्पतालमा हालीमुहाली गर्दै आए । त्यो पनि जनताले सहेकै अवस्था छ । मुख्यमन्त्री शंकर पोख्रेलले बोलेपछि सबै हुनेरहेछ भनेर । मुख्यमन्त्रीकै आसेपासेले विश्वविद्यालयमाको भवनमा कोरोना अस्पताल चलाए, तर त्यो म्यादी अस्पताल क्वारेन्टाइनभन्दा माथि उक्लिन सकेको छैन ।

कोरोना विशेष अस्पतालमा नत आइसियु सेवा सञ्चालनमा छ, न त भेण्टिलेटर चलेको छ, न त बिरामीलाई अस्पताल पुगेपछि गम्भीर समस्या भएपछि बाँच्ने आशा नै । एकपटक पनि खोलिएको छैन भेण्टिलेटर सेवा । प्रदेश सरकारको निर्णय त्यो बेला उपयुक्त थियो, तर बेलझुण्डीमा नियमित आइसियु सेवा किन चलेको छैन, दालभात खानलाई मात्रै निःशुल्क अस्पताल हो कि औषधि उपचारका लागि पनि हो ? यही प्रश्न स्थानीयबासीहरुले सोधिरहेका छन् ।

तर अस्पताल कसको स्वामित्वमा हो भन्नेमा सबै बेखवर छन् । कसैले भेण्टिलेटर खोज्दै बिरामीहरु अन्त नजान खोजिरहेका छन् । तर अस्पतालले यो विषयमा कुनै पनि स्वास्थ्य उपचार प्रगति गर्न सकेको छैन ।

अस्पतालमा कार्यरत कसैलाई पनि व्यवस्थापकीय विषयमा नबोल्ने भनिएको छ । त्यसैले नै गम्भीर समस्या आएका बिरामीलाई यहाँ विशेषज्ञ चिकित्सक नभएको बहानामा बाहिर पठाइँदै आएको छ । जसका कारण मृत्युका शिकार पनि बनिरहेका छन् यहाँका नागरिकहरु । कारण अस्पताल नाम मात्रैको हो, अक्सिजन थेरापीबाहेक न यो अस्पतालमा अक्सिजनको मात्रा सही स्थानमा ल्याउन नेपाल सरकारले निःशुल्क गरेको औषधि रेमडिसिभर नै छ, नत अन्य औषधोपचारका लागि विशेषज्ञ चिकित्सकीय सेवा नै ।

तर अस्पतालका सदस्य सचिव डा. शर्वेश शर्माले भने आइसियुलगायत भेण्टिलेटर सुविधासमेत भएको दावी गरेका छन् । उनले त्यसका लागि एनेस्थेसियाका चिकित्सक, चार जना फिजिसियन, र नर्सिङ स्टाफ पनि अस्पतालमा कार्यरत भएको दाबी गरे । तर यी चिकित्सक कुन अस्पतालबाट काजमा लागिएको हो, कति समय काम गर्छन् ? कति समय अनकलमा हुन्छन् वा आउनै पर्दैन भन्ने डा. शर्वेशले हेर्नुपर्ने हो ।

बिरामीले मृत्युवरण गर्दासम्म पनि अस्पतालले के सेवा दिइरहेको छ भन्नेमा आम नागरिकहरुले प्रश्न उठाइरहेका बेला अस्पताल व्यवस्थापनले सबै ठीकै छ भन्नु आफैमा पनि दुर्भाग्यको कुरा हो ।
कहिले चल्यो भेण्टिलेटर, कहिले चले आइसियु सेवा, किनकि बेलझुण्डी कोरोना विशेष अस्पतालमा आवश्यक स्वास्थ्य जनशक्ति नै छैन । चौबीसै घण्टा फिजिसियन र चौबीसै घण्टा एनेस्थेसियाका चिकित्सक भएर सोहीअनुरुपको प्रयोगशाला भएमात्रै अस्पतालमा कोरोनाका गम्भीर प्रकृतिका बिरामीले सेवा पाउने हो । तर कोरोना विशेष अस्पतालले जहिले पनि गम्भीर प्रकृतिका बिरामीलाई अन्त रिफर गर्दै आएको छ । जसका कारण कोरोना विशेष अस्पतालमा आएका बिरामीहरुले सम्बन्धित विशेषज्ञको उपचार सेवा नपाएरै देहत्याग गरिरहेको अवस्था पनि देखिएको छ ।

पर्फेक्ट जनशक्ति र उपकरण छैनन् : डा मिनचन्द्र

यसैबीच कोरोना विशेष अस्पतालमा पर्फेक्ट जनशक्ति र आवश्यकताअनुसारको प्रयोगशाला नभएको डा. मिनचन्द्र अधिकारीले बताएका छन् । तैपनि कोरोना संक्रमणसँग जोडिएका बिरामीहरुलाई आफूहरुले उपचार गरिरहेको उनले बताए ।

रिफर भनेको सबैले खोज्ने उपयुक्त विकल्प भएको भन्दै उनले यसलाई स्वाभाविकरुपमा लिन पनि आग्रह गरेका छन् । आफूलगायत ४ जना फिजिसियनहरु बेलझुण्डी कोरोना विशेष अस्पतालमा कार्यरत रहेको बताउँदै उनले बिरामी आफैले भेण्टिलेटरमा जान नचाहेका कारण दुर्भाग्यपूर्ण अवस्था आएको पनि बताए ।

तर हरेक विषयगत चिकित्सक बेलझुण्डी कोरोना विशेष अस्पतालमा छैनन् । कुन रोगका बिरामीलाई के उपचार गर्ने हो भन्ने सन्दर्भमा नेपाल सरकार नै गम्भीर नदेखिएका कारण हरेक रोगका बिरामीलाई कोरोनाका कारण निधन भएको प्रचार गरिँदै आएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्