दीपावली पर्वको आध्यात्मिक रहस्य – Kanika Khabar
Tuesday, December 1Nepali News Portal

दीपावली पर्वको आध्यात्मिक रहस्य


    मा प्रकाशित

माधव तिमिल्सेना ‘राजयोगी’

विजयादशमीको लगत्तै पछि आउने महान् चाड तिहार अर्थात् दीपावली हामी नेपालीहरू मात्र होइन विश्वको कुना–कुनामा निवास गर्ने सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूको साथै अन्य देशहरुमा समेत विशेष धार्मिक महत्वका साथ मनाइएको पाइन्छ । मनुष्यहरुको खुशी, आस्था र भावनाहरु परिपूर्ण गर्ने पर्व हो दीपावली ।

लक्ष्मीको पूजा गर्नु तथा घरमा सुख, समृद्धिको कामना गर्नु यो सबैको मान्यता र विश्वास रहेको छ । नेपालमा यो पर्व पाँच दिनसम्म मनाइन्छ । जसलाई यमपञ्चक पनि भनिन्छ । काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजा, म्ह पूजा अर्थात् आत्माको निवासस्थान पञ्चतत्वले बनेको आप्m्नै शरीर एवं किजा पूजा अर्थात् भाइटीका समेत गरेर पाँच दिनसम्म बडो हर्षोल्लासका साथ मनाइने यो पर्वमा नेपाली धेरै समयदेखि बिछोडिएका आफन्तहरू एक आपसमा भेटघाट गर्छन्, खुशी मनाउँछन् ।

कार्तिक कृष्ण अमावास्याको घोर कालीरात, जहाँ सम्पूर्ण प्रकृति जगत्मा अत्यन्त अन्धकार छाएको हुन्छ भने मानिसहरू आ–आफ्नो घरआँगन, चोक र सडक गल्लीहरूमा दीप बालेर सर्वत्र उज्यालो पार्छन् । कार्तिक कृष्ण अमावास्याको एक दिन अघि कार्तिक कृष्ण चतुर्दशीको दिनलाई नरक चतुर्दशी भनिन्छ । अतीतमा एकजना नरकासुर नाम गरेका असुर राजाले सारा सृष्टिमा आफ्नो आधिपत्य जमाई सारा देवताहरूलाई बन्दी बनाएका थिए रे ।

भगवान्ले यही कार्तिक कृष्ण औँसीको दिनमा नरकासुरको बध गरी सारा देवताहरूलाई स्वतन्त्र गरेर भयमुक्त बनाइदिनुभएकोले यो दिनलाई नरक चतुर्दशी भनिएको हो । यसैगरी दैत्यहरूका राजा बलिले पनि सारा भूमण्डललाई नै आफ्नो वशमा पारी धन सम्पत्तिकी आराध्यदेवी लक्ष्मी सहित सम्पूर्ण देवी देवताहरूलाई बन्दी बनाई कारागारमा कैद गरी राखेका थिए । भगवान्ले यी बलि राजामाथि विजय प्राप्त गरी सम्पूर्ण देवीदेवताहरूका साथै श्रीलक्ष्मीलाई पनि यही कार्तिक कृष्ण अमावास्याको दिन कारागार मुक्त गरी राजा बलिलाई पाताल लोकमा निर्वासित गरिदिनुभएकोले यसैको स्मृतिमा दीपावली मनाउन थालिएको हो भन्ने पौराणिक आख्यान पाइन्छ ।

तिहार यतिखेर हामी सबैले आफ्नो घरलाई सयपत्री तथा अन्य पूmल अनि रड्डी–विरड्डी बत्तीहरूले सजाइएका, चम्काएका हुन्छौँ । पौराणिक मान्यता अनुसार धनधान्यकी देवी लक्ष्मी आएर बास गर्छिन् भनेर गोबरले लिपी लक्ष्मी आउने बाटो बनाइएको हुन्छ । घरभित्र र बाहिर दियो, मैन बत्ती र बिजुली बत्ती बालेर झलमल्ल पारिएको हुन्छ । घरको बाहिरी स्वरूपलाई पनि अनेकौँ रड्डी–विरड्डी पूmल तथा बत्तीहरूले झलमल्ल शृङ्गारेर शोभायमान बनाइएको, विविध प्रकाशले एउटा सत्ययुगी स्वर्णिम संसारको झझल्को दिइरहेको हुन्छ ।

सरसफाईका दृष्टिले बेला–बेला सरसफाई गर्न प्रेरणा दिने यस्ता उत्सव हुनु अति नै खुशीको कुरा हो । जसरी बाहिरी अन्धकारले हामीलाई हानी गर्दछ, त्योभन्दा बढी हानिकारक हुन्छ हामीभित्रको अन्धकार । हामीभित्रका अन्धकार पक्ष भनेका काम, क्रोध, लोभ, मोह, अहंकार, शंका, भय, ईष्र्या आदि हुन् । जबसम्म हामीभित्र यस्ता अन्धकार पक्ष रहिरहन्छन् तबसम्म वास्तविक शान्ति पाउन सकिँदैन । साँचो सुख, शान्ति प्राप्त गर्नका लागि हामीले यस्ता अन्धकारलाई हटाएर गुणको धारण गर्न सक्नुपर्छ । दैवी गुण धारण गर्नका लागि हामीले आपूmलाई ज्योति बिन्दु आत्मा सम्झिएर ज्योति स्वरूप परमपिता परमात्मालाई याद गर्नु पर्दछ ।

यसो गर्दा हामी भित्रको कमीकमजोरी नष्ट हुँदै जान्छ । जब मन निर्विकार बन्दै जान्छ तब भित्री खुशी प्राप्त हुन थाल्दछ । यसरी भित्रैबाट शुद्ध र निर्मल बनेपछि हामी बन्धनमुक्त बन्दछौँ अनिमात्र हामी आन्तरिक खुशीको दीपावली मनाउन सामर्थवान् बन्न सक्छौँ । दीपावली शुद्ध, स्वच्छ र सात्विक पर्वको रूपमा मनाइने भएकोले त्यस अवधिभरमा अत्यन्तै सुखद् क्षण हुन्छ । स्वच्छता लक्ष्मीको पनि मन पसन्दको विषय हो । जहाँ स्वच्छता हुन्छ त्यहाँ देवी–देवताको बास हुन्छ । देवीलाई प्रशन्न गर्न भए पनि टोल समाजको सरसफाई गर्नु प्रशंसनीय कार्य हो ।

अस्वच्छता र दुर्गन्धबाट समाजमा जुन प्रतिकूल प्रभाव पर्छ त्यो ज्यादै भयावह हुन्छ । अस्वच्छताकै कारण मलेरिया, हैजा जस्ता महामारी रोग फैलिन्छन् । सरसफाईलाई प्रोत्साहन दिन कहिलेकहीँ समाजका प्रबुद्धवर्ग, विशिष्टवर्ग एवं संघसंस्थाका प्रमुखहरू सडक सफाईमा जुटेका हुन्छन् । घर–समाज स्वच्छ राख्नु साह्रै सराहनीय कार्य हो तर त्यसभन्दा पनि प्रशंसनीय कार्य मानव स्वयम् भित्रको स्वच्छता हो । लक्ष्मीपूजाको अवसरमा वाह्य रूपमा त सफाई गरिन्छ तर भित्रभित्रै ईष्र्या, द्वेष, घृणाको जलन छ, परचिन्तन–परदर्शन–परमतको आशक्ति छ, विषय–विकारको राग छ भने के त्यहाँ लक्ष्मीको आगमन हुन्छ ? कदापि हुँदैन ।

अतः आन्तरिक स्वच्छता, मनको स्वच्छता र आत्माको स्वच्छता महत्वपूर्ण पक्ष हो । वाह्य स्वच्छताको लागि पनि आन्तरिक स्वच्छताको भूमिका बढी प्रभावकारी रहन्छ । दीपावली दुवै स्वच्छताको पर्याय पर्व हो । दीप–लहरले हरेकको मन प्रफुल्लित गरेको हुन्छ, हरेकको हृदय लोभ्याएको हुन्छ अनि हरेकको दिल आकर्षित गरेको हुन्छ । धनकी देवी, सम्पन्नताकी देवी, समृद्धिकी देवी लक्ष्मीलाई प्रशन्न गर्नाले धनको वर्षा हुन्छ अनि हाम्रो विपन्नता समाप्त हुन्छ भन्ने मान्यता आजको होइन पुरातन, सनातन र परम्परागत नै हो ।

यस समय देवीको अगाडि फल–फूल, सेल–पुरी र मिठाई–मिष्ठान्न आदि सगुन राखेर भजन–कीर्तन, पूजा–आजाद्वारा देवीको पुकार र अलाप गरिन्छ । यसको साथै भैलो–देउसी आदिको आफ्नै पहिचान छ । देउसी भैलोको नाममा समेत विकृति मौलाएको आभाष पाइन्छ, आजभोलि । जुन पवित्र उद्देश्यले देउसी भैलो खेल्नुपर्नेमा युवा जमात दुव्र्यसनको शिकार भएका घटनाहरु समाजमा घटिरहेका हुन्छन् । संस्कृतिको जगेर्ना गर्नुपर्छ यो राम्रो पक्ष हो तर आजभोलि देखासिकी होडबाजी र पैसाका लागि मात्र प्रतिस्पर्धा भएको हो कि ? भन्ने भान समेत देखिनथालेको अवस्था भित्रिए जस्तो लाग्दैछ ।

अर्कोतिर आफ्नो भाग्यलाई अजमाउन कैयौँ व्यक्तिहरू जुवा–तास आदि खेल्ने प्रयास गर्छन् । जुवाबाट घरवारको नाश र जीवन वनबासका तीता सत्यहरु नभएका होइनन् यद्यपि सरकारले समेत अवैध मानेर रोक लगाए तापनि मानिसहरू जुवा–तास खेल्ने दुष्प्रयास गर्छन् । प्रायः यस बेला जुवा खेल्न प्रेरित गरिन्छ र यदि खेलेन भने अधम गति प्राप्त हुन्छ भन्ने मान्यता पनि छ । यस सन्दर्भमा हेर्दा जुवाको धार्मिक र आध्यात्मिक गहन रहस्य वर्तमान जुवा भन्दा बेग्लै छ । यस रहस्यलाई बुझ्ने हो भने यसमा गहिरो मानव सेवा समाहित छ ।

हामीसँग भएको तन–मन–धनको केही अंश मानव सेवा, समाज सेवा, ईश्वरीय सेवा अर्थ दाउमा लगाउँछौँ भने जुन कालान्तरमा पुण्य कर्मको रूपमा कैयौँ गुणा बढी भई आफैलाई प्राप्त हुन्छ, यो श्रेष्ठ कर्म हो, प्रारब्ध कर्म हो, सञ्चित कर्म हो । कर्मको फल गुह्य छ, अटल छ, अविनाशी छ । गीतामा वर्णन छ—कर्मण्ये वाधिकारस्ते माँ फलेषु कदाचन । (कर्म गर तर फलको आशा नगर) । भावार्थ यो पो हुनुपर्ने हो त तर यहाँ अर्थको अनर्थ हुँदै गइरहेको छ, आजभोलि नेपाली समाजमा ।
दीपावलीमा मानिसहरू घर सफा गर्छन्, दीप प्रज्वलित गर्छन्, पूजा गर्छन् ।

देवीको आह्वान गर्छन् तर पनि ती लक्ष्मी न त कसैको घरमा आएकी छन् न त धन–धान्यले भरपूर गरेकी छन् न कुनै वरदान दिएकी छन् । व्यक्ति, समाज, संसार दिनप्रतिदिन विपन्न हुँदैछ । समयप्रति समय आउने प्राकृतिक प्रकोप र आपद–विपदबाट विकसित राष्ट्रहरू समेत भयभित र त्रसित छन् । सेकेण्डमा धन–जन समाप्त हुन्छ । (नेपालमा गत वर्ष आएको भूइँचालो हाम्रो साक्षी छ) । करोडपति पलभरमा रोडपति बन्छन् । साश्वत सत्य रूपमा गहिरिएर विचार गर्ने हो भने हामी यही भेटाउँछौँ — ती लक्ष्मी जसको हामी आह्वान गर्छौं तिनको वाह्य पूजा–पुकार त गर्छौँ तर तिनमा भएका लक्षण, तिनले धारण गरेका ज्ञान, गुण, सीप हामी धारण गर्दैनौँ ।

लक्ष्मी सत्यताकी देवी, दिव्यताकी देवी, पवित्रताकी देवी, सतोगुणकी देवी हुन् तर तिनले अपनाएको सतोगुण के हामीले अपनाएका छौँ ? छैनौ । अब कसरी पुरा हुन्छ त सुख समृद्धिको हाम्रो चाहना ? लक्ष्मी सर्वइन्द्रियकी रानी, वैकुण्ठकी रानी, स्वर्गकी महारानी र श्रीनारायणकी विश्व महारानी हुन् तर हामी आफ्नै इन्द्रीयका राजा, रानी बन्नसकेका छैनौँ । यस बसुन्धरामा जब अलकापुरी, स्वर्ग पुरी, वैकुण्ठ पुरी हुन्छ तब श्रीलक्ष्मी साकार रूपमा पञ्चतत्वको काया धारण गरी आउँछिन् । हामीले द्वापर र कलियुगमा गरेको आह्वान त्यहाँ साकार हुन्छ । वैकुण्ठ सामान्य संसार होइन त्यो त धन–दौलत, वस्तु–वैभव, समृद्धि–सम्पन्नता आदि सबैबाट परिपूर्ण, भरिपूर्ण र सम्पूर्ण संसार हो । सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण, सम्पूर्ण निर्विकारी, अहिंसा परमोधर्म जस्ता गुण, मूल्य र विशेषताले विभूषित देवलोक हो ।

जहाँ बाघ र गाईसँगै पानी पिउँछन्, दूध, घ्यूको नदी बग्छ अर्थात सबै कुरा प्रर्याप्त हुन्छ । बसन्त बहार प्रकृति हुन्छ, जहाँ ज्ञान विज्ञानको अद्भूत विकास र मिलन हुन्छ, सुख–शान्ति–खुशीका सहनाई बज्छन् । यहाँका दुःख, कष्ट पीडाजस्ता नकारात्मक शब्द, कर्म, संस्कारको नाम निशान नै हुँदैन । स्रष्टाले सिर्जना गरेको अकल्पनीय, अतुलनीय संसार वैकुण्ठ पुरी हो । त्यहाँ कुनै पूजा हुँदैनथ्यो, स्वयम् पूज्य थिए । त्यहाँ कुनै भक्ति हुँदैनथ्यो स्वयम् भगवान्–भगवती (देवी–देवता) थिए । त्यहाँ कुनै कसैको आह्वान हुँदैनथ्यो स्वयम् साकारमा थिए ।

त्यहाँ कतै तीर्थाटन गर्न जानु पर्दैनथ्यो, सम्पूर्ण जगत् नै तीर्थस्थल थियो । त्यहाँको गंगा–जल गुलाव–जल समान थियो । जुन संसार यही धरामा स्थापना हुनसक्छ, यदि हाम्रा स्वभाव संस्कार र कर्महरुमा दिव्यीकरण हुन सक्यो भने । त्यो सम्भव छ, यदि हामीले परमात्मा पिताले दिएको मार्गमा हिड्यौँ भने ।

संसार परिवर्तनशील छ । संसारको गति निकै परिवर्तन भएको छ । आज चारैतिर फोहरमैला–गन्दगीका नाला देखिन्छन् । वागमती–विष्णुमती–ढलमती बनेका छन् । प्रदूषणले आकाश छोएको छ, विषय–विकारको ज्वाला दन्किएको छ, अन्याय–अत्याचार–भ्रष्टाचारको बजार गरम छ । दुःख, पीडा र रोगको स्थिति कहालिलाग्दो छ । यसैले यो रौरव नरक समान बनेको छ । मानवको उत्थान एवं विकासको पराकाष्ठा देवलोक हो भने उसको पतनको अन्त्य कुम्भीपाक नरक हो । अब हामी सबैले आफ्नो उठान र समाज उत्थान बारे सोच्नुपर्ने बेला आएको छ ।

दीपावलीमा स्वच्छता अपनाउनु, दीप–जलाउनु, लक्ष्मीको आह्वान गर्नु राम्रो पक्ष हो तर लक्ष्मीका जस्ता ज्ञान–गुण–शक्ति–लक्षण धारण गरेर उहाँ समान पूज्य र पावन बन्नु सर्वोत्तम लक्ष्य हो । लक्ष्मीपूजा, दीपावलीले हामीलाई यही सन्देश दिन्छ, प्रेरणा दिन्छ । भनिन्छ—परिस्थितिले पुरुषको जन्म दिन्छ जो परिवर्तनको सम्वाहक बन्दछ । आजको कहालीलाग्दो स्थितिबाट मुक्त गरेर मुक्ति र जीवन मुक्तिको पथ–प्रदर्शकको महत्वपूर्ण भूमिका केवल मुक्तेश्वर निराकार शिव परमात्माले मात्र गर्न सक्नुहुन्छ । खुशीको कुरा स्वयं विश्व– नियन्ता सर्वआत्माहरुका पिता पशुपतिनाथ शिव परमात्माको यस बसुन्धरामा उहाँको दिव्य अवतरण यही दिव्य कार्यको लागि भइसकेको छ ।

वहांलाई चिनौ र आफ्नो जीवनलाई सफल बनाउने महान कार्यमा सहभागी बनौँ । उहाँ नै देवआत्मा, धर्मात्मा, महान्–आत्मा, पापात्मा सर्वका सद्गति दाता, पारलौकिक पिता हुनुहुन्छ । उहाँको दिव्य सन्देश लिएर निरन्तर उहाँको स्मृति गर्दै रहेमा हाम्रो दूषित मन स्वच्छ हुन्छ, हाम्रो आत्म–दीप प्रज्वलित हुन्छ, तेस्रो नेत्र खुल्छ । यसरी सम्पूर्ण आत्म–दीप जागृत हुँदै गए, आसुरी शक्ति माथि दिग्विजय प्राप्त गर्दै गए भने जगतबाट अन्धकार (तमो प्रधानता हट्दै जान्छ र झिलीमिली उज्यालो छाउँदै जान्छ ।

सबै असत्यबाट सत्यतातिर अग्रसर हुँदै जान्छन् अनि आत्माहरू विस्तारै मृत्युलोकबाट अमरलोकतिर स्थानान्तर हुँदै जान्छन् । जहाँ लक्ष्मी–नारायणको अटल, अखण्ड, निर्विघ्न राज्य हुन्छ । उनको राज्यारोहण, राज्याभिषेक बडो आकर्षक, भव्य र सुन्दर हुन्छ । त्यस विजय उत्सवमा जुन खुशीयाली, शोभावली, सजावली र दीपावली हुन्छ त्यो कल्पकै सर्वोत्तम हुन्छ । त्यसैको पर्यायको रूपमा आजसम्म हाम्रो परिपे्रक्ष र सन्दर्भमा दीपावली प्रस्तुत गरिरहेका छौँ, मनाउँदै छौँ । आज हामी संगमको सुन्दर प्रहरमा छौँ ।

संगममा रहेर हामी एक छुट्टै, अलग्यै, भिन्दै दीपावली मनाउँदै छौँ । हामी पहिले स्वयम्को आत्म–दीप बाल्दै छौँ अनि सबै आत्माको । संसारका सबै आत्मदीप झिल–मिल, झिल–मिल गरी जले भने त्यो घडी कति चामत्कारिक होला ? यस्तो सुन्दर दीपावली मनाऔँ । यही आध्यात्मिक रहस्यलाई ध्यान दिँदै आफूभित्रका मनोविकृति तथा कमीकमजोरीहरुको समाप्ती गरौँ । दीपावलीको पावन घडीमा सबैको आत्मदीप जागृत होस्, सबै स्वच्छ बनून, सबै निरोगी होउन्, सबै सम्पन्न बनून्, चारैतिर समृद्धि छाओस् हार्दिक मंगलमय शुभकामना ! ओम् शान्ति !!

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्