कनिका संवाददाता
जेठ ४, दाङ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले लकडाउनका कारण मारमा परेका किसानहरुको समस्या समाधानका लागि गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन् । कनिका खवरसँग कुराकानी गर्दै चौधरीले दाङको देउखुरी क्षेत्रका तरकारी किसानहरु लकडाउनका कारण अधिक ठगिएको भन्दै उनीहरुले गरेको उत्पादनको बजारीकरणका लागि उचित व्यवस्थापन गर्न आग्रह गरे ।
‘देउखुरी क्षेत्रका तरकारी किसानहरु लकडाउनका कारण अधिक मारमा छन्,उनीहरु आफ्नो उत्पादन विक्रीका लागि बजारसम्म पुग्न पाएका छैनन्,’ उनले भने ‘खेतबारीमै आउने बिचौलियाहरुले निकै सस्तो मुल्य लगाएर तरकारी लिने गरेका छन्, किसानको पसिनामा बिचौलियाहरुले रजाईँ गरिरहेका छन् ।’ देउखुरीमा अहिले उत्पादन भएको तरकारी १० देखि १५ रुपैयाँ प्रति किलोका दरले किसानहरुले विक्री गर्नु पर्ने बाध्यता छ ।
तर किसानसँग १० देखि १५ रुपैयाँ प्रतिकिलोका दरले तरकारी खरिद गर्ने तरकारी व्यवसायीहरुले भने बजार पुर्याएर ६० देखि ७० रुपैयाँ प्रतिकिलोका दरले तरकारी विक्री गर्ने गरेका छन् । किसानको खेतबारीमै तरकारी खरिदका लागि पुग्ने व्यवसायीहरुले आफूले तोकेकै मुल्यमा तरकारी दिनु पर्ने अडान राख्छन् । तर बारीमा लटरम्म तरकारी खेर जाने त्रासले किसानहरुले सस्तो मुल्यमै तरकारी विक्री गर्नु पर्ने बाध्यता छ । ‘यति सम्मको ठगी तरकारी व्यवसायीहरुबाट किसानहरुलाई भएको छ,’ उनले भने ‘किसान आफूले उत्पादन गरेको तरकारी उनीहरुलाई बजार सम्म पुर्याएर विक्री वितरण गर्न दिने वातावरण मिलाउँदा के हुन्छ ? स्थानीय सरकार समेत किसानहरुको यो समस्या प्रति निकै उदासिन देखिए ।’
योगेन्द्रले तरकारी किसानहरुलाई बजारमा पुगेर तरकारी विक्री वितरण गर्ने वातावरण तयार गरिनु पर्ने बताउँदै प्रश्न गरे ‘कृषि क्षेत्रको बिकासका लागि काम गर्ने भन्दै नारा लगाउने सरकारले उनै किसानहरुलाई पीडित बनाएको सुहाउँछ ? किसानहरुलाई मारेर कसरी आउँछ कृषि क्रान्ति ?’