मा प्रकाशित
दाङ,१३ असार । दाङको घोराही उपमहानगरपालिका–५ धारापानीस्थित प्रसिद्ध पाण्डवेश्वर महादेव धाम धारापानीमा आज ‘घुम्न जाऔं धारापानी’ कार्यक्रम हुने भएको छ ।लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयअन्तर्गत रहेको पर्यटन विकास परिषद् बुटवलको आयोजना तथा स्थानीयको व्यवस्थापनमा आज पाण्डवेश्वर महादेव मन्दिरलाई धार्मिक एवं पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटकको सख्या वृद्धि गर्ने उद्देश्यले घुम्न जाऔ धारापानी कार्यक्रम गर्न लागेको हो । धार्मिक, पुरातात्त्विक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण मानिने पाण्डवेश्वर महादेव मन्दिरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पर्यटन विकास परिषद् बुटवलका अधिकृत जनकराज खनालले जानकारी दिएका छन् ।
उनका अनुसार आज शनिवार मन्दिरमा घुम्न जाऔ धारापानी कार्यक्रमअन्तर्गत विभिन्न जातजातिका कला,संस्कृति प्रदर्शनसँगै विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता,हस्तकलाका सामाग्री,कृषि उत्पादनसँगै रैथाने खाना प्रदर्शनी गरिने छ ।
धारापानीको प्रचारप्रसारसँगै स्थानीय स्थानीय कला, संस्कृति र पहिचानलाई थप उजागर गर्ने उद्देश्यले आयोजना गरिएको घुम्न जाऔ धारापानी कार्यक्रमको लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डबिक्रम न्यौपानेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । विश्वकै अग्लो त्रिशुलसँगै धार्मिक आस्थाको केन्द्रका रुपमा रहेको धारापानीमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउने उद्देश्य अनुसार कार्यक्रम सञ्चालन गर्न थालिएको छ । कार्यक्रम शनिबार बिहान साढे १० बजेदेखि पाण्डवेश्वर महादेव मन्दिर परिसरमा सुरु हुने आयोजक पर्यटन विकास परिषद् बुटवलले जनाएको छ ।


