बन्ने हो जङ्गबहादुर ? ल्याउने हो भूमि फिर्ता ?? – Kanika Khabar
Saturday, April 27Nepali News Portal

बन्ने हो जङ्गबहादुर ? ल्याउने हो भूमि फिर्ता ??

    मा प्रकाशित

नेपाल सरकारले अतिक्रमित भूमिसहितको वास्तविक नक्सा सार्बजनिक गरेपछि अब स्थिति थप पेचिलो बन्नेछ । नेपाल सरकारले अब चाहेर पनि चुप लागेर बिगत जस्तो गम खाएर बस्न पाउने छैन । नागरिक समाज, सचेत युवा वर्ग अनि हामी देशलाई माया गर्ने सञ्चारकर्मी निमेषभर पनि सरकारलाई सुस्ताउन या बिगतजस्तै टालाटुली बाटुली खेल्न दिने छैनौँ ।

अजिङ्गर जस्तो भारत निलेको आहारा ओकल्न सजिलै मान्ने छैन । त्यस्तो बेला कतिपय स्वनामधन्य विद्ववान भारतसँग लडाई परे लड्नु पर्छ पनि भन्छन् । त्यो उधोमति र अठारौं शताब्दीको मतिले हाम्रो जमिनमाथि गिद्दे पन्जा गाडेको बाजले छाड्दैन । त्यतिबेला नेपाल सरकार सम्पूर्ण प्रमाणसहित वार्ता, संवदमा बस्नुपर्छ । वार्ता र संवादमा कम्तिमा पनि छोरालाई छात्रवृत्ति मागेका, चुनाव खर्च बुझेका या जहाज भाडामै चित्त बुझाएका रास्ट्रघातीहरुलाई सरिक गराउन हुँदैन । विगतमा फर्जी नक्सामा नासो साटेकालाई पनि परै राख्नुपर्छ ।

नदी,पानी,जङ्गे पिलर र मुलुकको अखण्डतासँग मन्त्री पद जुवाको खालमा राखेकाबाट पनि यो काम सम्भव छैन । वार्ताका दौरान भारतले बडे भाइको प्यार देखाउने छ, त्यतिबेला फसियो भने वार्ता कुर्सी र पिर्कामा पुग्ने छ । अहिलेसम्म भएको पनि यही हो । छिमेकी पिराहा भारत नेपालसँग लड्न आउने छैन, विश्वमा बुद्ध र गान्धीवादी छवि बनाएर सुरक्षा परिषदमा पाए ढोका नभए झ्यालबाट पस्न तुल्लिएकाले पनि कृत्रिम हाँसोसहित वार्तामा बस्ने छ । त्यतिबेला नेपालका तर्फबाट जन्मदिने आमा सम्झेर बार्ता गर्ने रास्ट्रभक्त चाहिन्छ ।

बङ्गलादेशलाई ४० वर्ष झुलाएको झेली हो भारत । जित्न रुन र हाँस्न सक्ने कलाकार हुन मोदी । द्विपक्षीय वार्ताबाट सम्भव नभए अन्तर्रास्ट्रियकरण गरेर पनि आफ्नो भूमि फिर्ता ल्याउनै पर्छ । पौने तिन करोड नेपालीको अन्तस्करणको आवाज सुनेर वर्तमान सरकारले कालापानी, नालापानी, लिम्पियाधुरामा नेपाली रक्तरन्जित झण्डा गाड्न जरुरी छ । कुटी,नाबी र गर्बाङका नागरिकलाई नेपाली हुनुको गर्वबोध गराउनुछ ।

सजिलो छैन तर असम्भव पनि छैन । मौसमी रास्ट्रवादको सपना नक्सा होइन भने विगतमा लत्पतिएको छवि सुधारेर इतिहास लेख्ने मन भए प्रधानमन्त्री ओली आँट गर्नुस्, अहिले सम्मका सबै खत माफ हुनेछ । तपाईका सहकर्मी राधाकृष्ण मैनाली तपाईलाई मृत्यु पर्यन्त प्रधानमन्त्री बन्नुछ भन्छन् ( जनताले नै बनाइ राख्नेछन् ।आगे तपाइँको मर्जी ।।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्