‘सरकारले हाम्रो भोट चिन्यो भोक चिनेन ’ – Kanika Khabar
Saturday, April 27Nepali News Portal

‘सरकारले हाम्रो भोट चिन्यो भोक चिनेन ’

    मा प्रकाशित

No description available.आदिम के.सी.
जेठ २८, दाङ ।

बस्तीलाई वरपरबाट घरेकोे पहाड । पहाडको फेद भएर बग्ने खोला । खोलाका ढिकमा ङिच्च गरेका साना झुपडी । गणितमा खिचिएका रेखाजस्तै स्थिर र स्तब्ध । माथि हेर्दा टोपी खस्ने अग्ला अग्ला पहाड । पहाडको साँघुरो काखमा एउटा बस्ती । पहाड काटेर झण्डै २०÷२५ मिनेट उकालो छिचोल्न पर्ने अर्को बस्ती पुग्नलाई ।

कोही समुह बनाएर, कोही खोलाको ढिक त कोही ती ससाना झुपडीको आँगनमा मुर्झाएको अनुहार लिएर बसेका थिए । केही पाउने आशामा । जीवन गुजार्ने आशामा । निराशाको अँध्यारोमा थोरै आशाको रश्मिले जबरजस्ती मुहारमा खुशी उब्जाउन बल गरिरहेका थिए ।

No description available.

घोराही उपमहानगरपालिका वडा नं. ११ का चाचला र खुमकोट गाउँ । चाचलाको सुनछहारी टोल र खुमकोेटको खुमकोट टोलका बासिन्दाका दृश्य थिए यी । कोरोना भाइरस सङ्क्रमणका लागि सरकारले लकडाउन जारी गरेपछि हुँदा खाने वर्गका विपद्मा परेका परिवारलाई राहत वितरण अभियान सुरु गरेको नारायणपुर उद्योग वाणिज्य संघ राहत वितरणका लागि पुग्दा देखिएका दृश्य थिए ।

निधारमा हातको पाली बनाएर घरीघरी राहत आउने बाटोतिर आँखा दौडाइरहेकी सुनछहारी टोलकी लालमति बि.क. राहत पाउँदा हर्षका आँसु झार्न लजाइनन् । किन रुनुभएको ? भन्ने सवालको जवाफमा भक्कानिदै भनिन्, ‘हाम्रा लागि पनि कोही रहेछन्, राहत पाउँदा त सपनाजस्तो लागेको छ । भोक टार्न गाह्रो भएको थियो अब त केही दिनलाई ढुक्क भयौँ नि ।’ उनी बोल्दाबोल्दै रोकिइन् , बोल्नै सकिनन् । मजेत्रोको एक छेउले आँखामा टिलपिलाइरहेका आँसु पुछिन् ।

No description available.

‘अब कसरी छाक टार्ने हो भन्ने समस्या परेको थियो हामीलाई । धेरै दिन भइसकेको थियो पेटभरि नखाएको, भोक मार्नलाई खान्छौँ । गरिबलाई बाँच्न गाह्रो छ । अझै यस्तै हुने हो भने कसरी बाँचिएला र भोकबाट ।’ अति निराश भएर दुखेसो पोख्दै थिए सुनछहारी टोलका तारा बहादुर बि.क. ।

‘अति विकटमा बस्ने हामी अति विपन्न परिवारका छौँ । दैनिक ज्याला मजदुरी नै हाम्रो जीविकोपार्जन हो । लकडाउनले गर्दा काम पनि ठप्प भयो कतै काम नै पाइएन अनि त अप्ठ्यारो अवस्था परेको हो । ’ सुनछहारी टोल विकास समितिका अध्यक्ष सुशील बि.क.ले भने ।

चाचलाका सुनछहारी टोलमा २४ घरधुरी छन् । २४ वटै घरधुरी नै अति विपन्न परिवारका रहेका छन् । लकडाउनको समयमा ज्याला मजदुरीका काम रोकिएपछि चुल्हो बाल्न नै उनीहरुलाई हम्मेहम्मे परेको थियो ।

त्यस्तै खुमकोट पनि अति विकट ठाउँ हो । घोराही उपमहानगरपालिकामा रहेको विकट ठाउँमा पर्दछ । खुमकोटको खुमकोट टोल विकास समितिमा २१ घरधुरी रहेका छन् । ती मध्ये १७ घरधुरी अति विपन्न रहेका छन् ।

‘ हामी भोकले मर्न थाल्यौँ । सरकारले हेरेन । कोही राहत लिएर आएनन् । हामी त भोटका लागि मात्र रहेछौँ । सरकारले हाम्रो भोट चिन्यो भोक चिनेन ।’ खुमकोटकी जैकली साहुले पीडा र आक्रोश एकै पटक पोखिन् । आँखाभरि जम्मा भएका आँसुलाई रोक्न खोज्दै थिइन् तर सकिनन् । आँसु पुछ्दै भनिन् ‘अब त केही दिनलाई ढुक्क भयौँ ।’ उनी भक्कानिदै खाद्यान्नको बोरा बोकिन् अनि उकालो लागिन् ।

नारायणपुर उद्योग वाणिज्य संघको राहत वितरण टोली त्यहाँ पुग्दा उनीहरु घण्टौ पहिला आएर राहतको प्रतीक्षामा बसिसकेका थिए । घोराही उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कुल बहादुर लामिछानेसहित संघको टोली राहत वितरणका लागि चाचला पुगेको थियो ।

No description available.

‘उद्योग वाणिज्य संघले विपद्का बेला विपननका साथमा रहेर काम गर्दैगर्दा चाचला र खुमकोटका विपन्नका लागि राहत उपलब्ध गराउनु अत्यन्तै सह्रानीय रहेको छ । सामाजिक उत्तरदायित्व बोध गर्दै मानवीय भावनाका साथ गरिएको यस्तो कार्यले विपन्नका लागि अभिभावकीय भूमिका खेलेको छ ।’ अध्यक्ष लामिछानेले भने ।
‘राहत वितरण अभियान अन्तर्गत हालसम्म ३७७ घरधुरीलाई राहत उपलब्ध गराएका छौँ । टोल विकास समितिका अध्यक्षको सिफारिसमा हामीले अति विपन्न परिवार, अपाङ्ग, एकल, बेसहारा परिवारलाई प्राथमिकतामा राखेर राहत वितरण गरेका हौँ । यो अभियानमा साथ दिने सबै सहयोगी मनप्रति हार्दिक आभार प्रकट गर्दछौँ ।’ संघका अध्यक्ष अभियान बस्नेतले बताए ।

पछिल्लो समयमा संघले विपन्नका लागि राहत, कोरोना सङ्क्रमितका लागि अटो एम्बुलेन्स सञ्चालन, बिरामीका लागि अक्सिजन व्यवस्थापन तथा विपद्को सारथि जस्ता अभियान सञ्चालन गर्दै आएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्