दाङ, १५ वैशाख ।
देशभर विद्यार्थी भर्ना अभियान चलिरहेको बेला दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ७ सौडियारस्थित मावि सौडियार बोल्ड निर्णय गरेको छ । विद्यालयको निर्णय अनुसार विद्यालयमा पढाउने शिक्षक, कर्मचारीले आफ्ना बालबच्चा भर्ना गर्नेलाई स्वागतसहित सम्मान गर्ने र विद्यालयमा पढाउने शिक्षक, कर्मचारीले अन्यत्र भर्ना गरे विद्यालयको नियमानुसार हाजिरी नगराइने भएको छ ।
शिक्षक कर्मचारीले नजिकका निजी विद्यालयमा बच्चा भर्ना गर्दा विद्यालयको शैक्षिक अवस्था नै कमजोर रहेको सन्देश जाने भएकाले यसलाई चिर्नका निमित्त यो अभियान थालिएको शिक्षक अभिभावक संघका अध्यक्ष लोकबहादुर कवरले बताए । उनले अभियानलाई कडाइका साथ कार्यान्वयनमा लैजान विद्यालयका निमित्त प्रअसहित सबै शिक्षक र कर्मचारीलाई आग्रह गरेका छन् । उनले विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको निर्णय कार्यान्वयन नगरेमा शिक्षकहरुको अभिलेखीकरण गर्ने, नियम बमोजिम हाजिरी नगराउने, स्पष्टिकरण लिने र सम्बन्धित निकायमा जानकारी दिने नीति तय गरिएको अध्यक्ष कवरले बताए ।
विद्यालयले शुक्रबार अभिभावक भेला मार्फत आफ्ना बच्चा भर्ना गराउन ल्याउने शिक्षकलाई स्वागत गर्दै सम्मान गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईको अध्यक्षता तथा घोराही उप महानगर शिक्षा महाशाखाका अधिकृत घनश्याम वलीको प्रमुख आतिथ्यतामा भएको भेलामा अबिर लगाएर शिक्षक र भर्ना हुने बालबच्चालाई सम्मान गरिएको थियो । अङ्ग्रेजी मिडियममा पढाउने शिक्षिका बिनिता चौधरीले आफ्नो बच्चा विद्यालयमा भर्ना गरेकी छिन भने विद्यालयकी नेपाली मिडियममा पढाउने शिक्षिका सबिता खड्काले पनि आफ्नो बच्चा विद्यालयमा भर्ना गरेकी छिन ।
आफ्ना बच्चा आफैले पढाउँदा ठिक हुन्छ भनेर विद्यालय प्रशासनले शिक्षकहरुलाई अनुरोध गरेको थियो’– निमित्त प्रअ वलीले भने ‘‘स्वतस्फूर्तरुपमा धेरै शिक्षकले बच्चा ल्याउनुभयो, अझै अन्य सरहरुलाई पनि तुरुन्त भर्ना गर्न ल्याउन भनेका छौ ।’ उनका अनुसार विद्यालयमा अङ्ग्रेजी र नेपाली दुबै माध्यमबाट पढाइ हुन्छ । दक्ष, अनुभवी तालिमप्राप्त शिक्षकले पढाउदै आएका छन ।
आफ्ना बच्चा आफैले रेखदेख गरी पढाउन सजिलो पनि हुने भएकाले आफूले बच्चा भर्ना गरेको शिक्षिका बिनिता चौधरीले बताइन ।