दीपक बोहरा
तुलसीपुर, २८ जेठ ।
दाङको तुलसीपुरमा गोली चलेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ अस्वारा स्थित गहतेखोलामा कुलोको विवाद भएपछि स्थानीय एक युवाले गोली चलाएका हुन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार सोही वडाको चन्दगञ्ज बस्ने २५ बर्षीय पूर्ण बहादुर ओलीले गोली चलाएका हुन् ।
तर, उनले चलाएको गोली कसैलाई पनि लागेन । उनले भारतबाट पेस्तोल ल्याएको बुझिएको प्रहरी नायब उपरीक्षक सिंहले बताए । शुक्रबार दिउसो सवा १२ बजेतिर पेस्तोल चलाएर रा २ प ६७९२ नम्बरको मोटरसाईकलमा भाग्दै गरेको अबस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीसहित भाग्दै गरेको मोटरसाईकल चलाईरहेका तुलसीपुर ८ टिकरीका आकाश चौधरीलाई पनि पक्राउ गरिएको छ । प्रहरीले पेष्तोलसहित ६ राउन्ड गोली पनि बरामद गरेको छ ।
यसरी भयो घटना ?
पूर्ण बहादुर प्रायः भारत बस्थे । केही समय अघि मात्रै उनी तुलसीपुर स्थित घरमा आएका थिए । उनले भारतबाट पेस्तोल ल्याएको बयान दिएका छन् । गहतेखोलाबाट बुटनिया जाने कुलो नजिकै उनको पनि खेत छ । त्यहाँ कुलो लैजाने विषयमा सामान्य विवाद भयो । विवाद पछि तत्काल उनले घरमा गएर पेस्तोल ल्याए र त्यहाँ एक राउण्ड गोली प्रहार गरे । गोली कसैलाई पनि लागेन ।
गोली प्रहार भएपछि सबैको भागाभाग भयो । त्यही क्रममा उनी घरमा गएर ‘ड्रेस चेन्ज’ गर्नुकासाथै हतियार लुकाएर भाग्दै गरेका थिए । त्यतिबेला गाउँका सबैले घेरा हाले । प्रहरी पनि सक्रिय भयो । र, उनलाई पक्राउ गर्न सफल भयो ।