भदौ ९, दाङ ।
आज दुई नयाँ दलको सनाखत हुँदै छ । नयाँ दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई आज निर्वाचन आयोगले सनाखतका लागि बोलाएको हो। नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।
आयोगले दुवै दललाई सनाखतका लागि अढाई घण्टा समय निर्धारण गरेको छ । बिहान साढे ११ बजेदेखि दिउँसो दुई बजेसम्म नेताहरु आयोगमा पुगेर सनाखत गर्नुपर्नेछ ।
सरकारले दल विभाजन गर्न सजिलो हुने अध्यादेश ल्याएपछि पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको थियो । राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नयाँ दल दर्ताका लागि संघीय संसद् वा केन्द्रीय सदस्यको २० प्रतिशत हुनुपर्छ ।
एमालेका सांसद तथा केन्द्रीय सदस्यहरूले वरिष्ठ नेता नेपाल अध्यक्ष हुने गरी नयाँ दल दर्ता गर्न निवेदन दिएका छन् । त्यसमा ५७ केन्द्रीय सदस्यको नामावली उल्लेख गरिएको छ । त्यस्तै जसपा (लोकतान्त्रिक) पार्टीमा २३ सदस्य छन् । आयोगले यसअघि जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुर पक्ष दलविहीन भएको थियो । सो पार्टीका ३७ सांसद (प्रतिनिधिसभा र राष्ट्रिय सभा) मध्ये ठाकुरको पक्षमा १४ जना सांसदछन् । राजनीतिक दलसम्बन्धी ऐन–२०७३ मा दल दर्ताका लागि दलको प्रमुख पदाधिकारीले केन्द्रीय समितिको निर्णयसहित दलको विधान, घोषणापत्र, झण्डा, चिह्नको नमुनालगायत कागजात कागजात संलग्न गराउनुपर्ने छ ।


