घोराही काङ्ग्रेस नगर सभापतिमा रावतको उम्मेदवारी : विद्यार्थी राजनीतिबाट नगर नेतृत्वसम्म – Kanika Khabar
Wednesday, September 23Nepali News Portal

घोराही काङ्ग्रेस नगर सभापतिमा रावतको उम्मेदवारी : विद्यार्थी राजनीतिबाट नगर नेतृत्वसम्म

    मा प्रकाशित

घोराही । नेपाली काङ्ग्रेस १५औँ महाधिवेशनअन्तर्गत घोराही उपमहानगरपालिका सभापतिका लागि तिलक रावत उम्मेदवार बनेका छन्। विद्यार्थी राजनीतिबाट काङ्ग्रेसको संगठनात्मक यात्रामा अघि बढेका रावत यसपटक पनि घोराही कांग्रेसको नेतृत्वका लागि मैदानमा छन्।

रावतको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएको हो । नेपाल विद्यार्थी संघ (नेविसंघ) मार्फत सक्रिय राजनीति थालेका रावतले पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयको नेविसंघ इकाइ सचिवको जिम्मेवारीसमेत सम्हालेका थिए। साथै दीपशिखा मावि प्लस टुमा अध्ययनरत रावत त्यतिबेला पनि नेविसंघ इकाइ सचिव भएर नेतृत्वमा खारिदै गए ।
विद्यार्थी राजनीतिमा सक्रिय रहँदै उनी नेपाली काङ्ग्रेसको मूल राजनीतिमा स्थापित हुँदै गए। २०६९ सालको रावतलाई नेविसंघ साविक क्षेत्र नम्बर ३ को सभापति भएर कुशल नेतृत्व प्रदानगरेका थिए

पारिवारिक राजनीतिक पृष्ठभूमि
रावतको राजनीतिक यात्रासँग पारिवारिक पृष्ठभूमि पनि जोडिएको छ। उनका बुवा अर्जुन रावत २०५४ सालको स्थानीय निर्वाचनमा रोल्पाको साविक दुविडाँडा गाविसको वडाध्यक्ष पदका उम्मेदवार थिए। द्वन्द्वकालमा रावत परिवार रोल्पाबाट विस्थापित भई दाङको घोराही आएको हो ।त्यसपछि दाङलाई कर्मभूमि बनाएर रावतले आफ्नो राजनीतिक यात्रा अगाडि बढाएका छन् ।

१४औँ महाधिवेशनमा घोराही नगर नेतृत्व

रावतको संगठनात्मक यात्रामा १४औँ महाधिवेशन महत्वपूर्ण मोडका रूपमा देखिन्छ। २०७८ सालमा भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत उनले घोराही उपमहानगरपालिका सभापतिमा निर्वाचित हुँदै नगर नेतृत्व सम्हालेका थिए। निर्वाचनमा रावतले २८७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी निरज गिरीले १६२ मत प्राप्त गरेका थिए ।
रावत दाङको कांग्रेसको संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका छन्।

विद्यार्थी नेतादेखि नगर सभापतिसम्म

रावतको राजनीतिक यात्रा विद्यार्थी संगठनबाट पार्टीको स्थानीय नेतृत्वसम्म आइपुगेका छन् । प्रारम्भिक चरणमा नेविसंघको विद्यालय इकाइबाट सुरु भएको उनको राजनीतिक यात्रा क्षेत्रीय नेतृत्व हुँदै घोराही उपमहानगरपालिका सभापतिसम्म पुगेको हो।

विद्यार्थी राजनीतिमा रहँदा नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको साथ पाएको रावत निर्भिक, निडर जुझारू तथा युवा नेताका रूपमा दर्ज छन् ।उनको पुन: नगर सभापतिको उम्मेदवारीलाई युवा पुस्ताको नेतृत्व आकांक्षासँग जोडिएको छ ।

नेतृत्वका लागि फेरि मैदानमा रावत

नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत पालिका तहको अधिवेशन २०८३ असोज ७ गते गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। यसै प्रक्रियाअन्तर्गत घोराही उपमहानगरपालिकाको सभापतिका लागि तिलक रावतले उम्मेदवारी दिएर मैदानमा उत्रिने भएका छन् ।
पार्टीको विद्यार्थी संगठनबाट राजनीतिक यात्रा सुरु गरेर स्थानीय तहको पार्टी नेतृत्व सम्हालिसकेका रावतका लागि १५औँ महाधिवेशनको घोराही अधिवेशन अर्को महत्वपूर्ण राजनीतिक परीक्षा बनेको छ। उनको उम्मेदवारीसँगै घोराही कांग्रेसमा नेतृत्व चयनको बहस पुनः केन्द्रमा आएको छ।

नेपाली कांग्रेसको घोराही उपमहानगरपालिकामा नेतृत्व चयनको बहस चलिरहँदा रावतको उम्मेदवारीलाई उनको संगठनात्मक अनुभव, विद्यार्थी राजनीतिदेखिको निरन्तरता र यसअघि नगर नेतृत्व सम्हालेको अनुभवका आधारमा हेर्न सकिन्छ।
रावतले विद्यार्थी राजनीतिबाट सुरु गरेको राजनीतिक यात्राले उनलाई संगठनको तल्लो तहदेखि कार्यकर्तासम्म पुग्ने अनुभव दिएको देखिन्छ।
१४औँ महाधिवेशनबाट घोराही नगर सभापतिको जिम्मेवारी सम्हालिसकेको अनुभव उनका लागि संगठन सञ्चालन र स्थानीय तहमा पार्टी गतिविधि व्यवस्थापन गर्ने व्यावहारिक आधार हो।
अहिले कांग्रेसका लागि स्थानीय संगठनलाई थप सक्रिय, व्यवस्थित र कार्यकर्तामुखी बनाउने विषय महत्वपूर्ण छ। यस्तो अवस्थामा संगठनभित्रको अनुभव र स्थानीय राजनीतिक परिवेशको जानकारी भएका नेतृत्वकर्ताको भूमिकाबारे बहस हुनु स्वाभाविक हुन्छ। जसका लागि रावत अब्बल नेतृत्व मानिन्छन् ।नेतामुखीभन्दा पनि आम कार्यकर्ताका माझ लोकप्रिय मानिने रावतले अन्तिम समयमा उम्मेदवारी घोषणा गरेका थिए ।
रावतको समूहबाट उपसभापतिमा बसन्त जोशी, तारा कँडेल आचार्य ,सचिवमा सनत गिरी र सहसचिवमा भीम बोहरा उम्मेदवार रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्