पक्राउ गरिएको चित्तलको जीवितै उद्धार – Kanika Khabar
Thursday, April 25Nepali News Portal

पक्राउ गरिएको चित्तलको जीवितै उद्धार

    मा प्रकाशित

बैशाख ११, दाङ ।

डिभिजन वन कार्यालय दाङको टोलीले एउटा वन्यजन्तु चित्तलको जीवितै उद्धार गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं १५ पतकौलीस्थित घडेरी डाँडा सामुदायिक वन क्षेत्रबाट बिहिवार दिउँसो चित्तलको जीवितै उद्धार गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले बताएका छन् ।

डिभिजनल प्रमुख ज्ञवालीका अनुसार नदी उकास क्षेत्रमा बृक्षरोपण गरी वन कायम भएपछि लकडाउनका समयमा गाउँ नजिकै रहेको वनमा चर्न आएको चित्तललाई गाउँका युवाहरुले सिकार गर्ने क्रममा घाइते बनाएको अवस्थामा चित्तलको उद्धार गरिएको हो ।

स्थानीय दुई गाउँका युवाहरुले चार वटा कुकुरको प्रयोग गरेर चित्तललाई लखेटीलखेटी मार्न लागेको भन्ने सुराकी पाएपछि डिभिजनल वन अधिकृत ज्ञवालीको नेतृत्वमा गएको टोलीले चित्तललाई फेला पारेर ल्याएको छ । दुई गाउँका युवाहरुले चित्तललाई पक्राउ गरेको र उक्त चित्तल मारेर लगाइने भागबण्डाको विषयमा विवाद भएपछि चित्तल पक्राउ गरिएको घटना बाहिर आएको थियो । टोलीले चित्तललाई पक्रेर सामुदायिक वन भवनको कोठामा थुनेको अवस्थामा फेला पारेको थियो । उद्धार गरिएको चित्तललाई अहिले डिभिजन वन कार्यालय दाङको उद्धार कक्षमा राखी औषधी उपचार शुरु गरिएको छ । घटनामा संलग्न भएकाहरुको खोजी कार्य तीव्र पारिएको कार्यालयले जनाएको छ ।

लकडाउनको समयमा डिभिजन वन कार्यालय दाङले वनगस्तीलाई तीव्र पारेको छ । मंगलबार पनि पश्चिम दाङको शान्तिनगरबाट सिकार गरिरहेको अवस्थामा भरुवा बन्दूक सहित चार जनालाई पक्राउ गरेको थियो । डिभिजन वन कार्यालय दाङले लकडाउनको अवधिमा विभिन्न १३ वटा घटनामा १४ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ । यस अवधिमा ४ वटा टेक्टर, ४ वटा मोटरसाइकल, २ वटा बन्दूक, गोलीबारुद, गुलेली र मटेङग्रा बरामद गरेको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर के.सी. ले जानकारी दिए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्