दाङ काङ्ग्रेसले थाल्यो वडास्तरमा पनि चुनावी गठबन्धनबारे छलफल – Kanika Khabar
Monday, April 29Nepali News Portal

दाङ काङ्ग्रेसले थाल्यो वडास्तरमा पनि चुनावी गठबन्धनबारे छलफल

    मा प्रकाशित

दाङ, १८ चैत ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले स्थानीय निर्वाचनमा वर्तमान सत्तारुढ घटकहरुबीच गठबन्धन गरी चुनावमा जाने निर्णय गरेसँगै नेपाली कांग्रेस दाङले जिल्लाका सबै वडा नेतृत्वलाई भेला पारेको छ । जिल्लाका दश पालिकाका सबै वडा सभापतिहरुसँग बिहीवार गहन छलफल पनि सम्पन्न भएको छ ।

पार्टीको आन्तरिक छलफल भएकाले गठबन्धन के–कसरी गर्ने भन्ने सन्दर्भमा सबैको सल्लाह लिने काम मात्रै भएको आयोजक नेपाली कांग्रेसले जनाएको छ । ‘कहाँ कसरी तालमेल गर्ने भन्ने विषयमा अलि पछि प्रवेश गर्ने छौं, अहिले त प्रतिक्रिया बुझ्नका लागि मात्रै आन्तरिक छलफलमा जुट्दै छौं’, दाङ कांग्रेसका एक पदाधिकारीले भने– यद्यपि पार्टी केन्द्रीय समितिको निर्णयलाई भने पार्टीले आत्मसात् गर्ने नै छ ।

तर कांग्रेसको तल्लो तहका नेता कार्यकर्ताहरु भने चुनावी तालमेलमा अझै पनि मन–मुटुले राजी देखिएका छैनन् । निर्वाचन नजिकिँदै गर्दा तालमेलको उद्देश्य र अर्थ पार्टीले प्रष्ट पार्ला तर कार्यकर्ता तहको एउटै अभिव्यक्ति छ, हाम्रो ल्याकत प्रमाणित गर्नका लागि पनि हामी एक्लै निर्वाचनमा जान उपयुक्त हुनेछ । अर्काथरीको भनाइ यो पनि छ कि यतिका बर्ष रुख चिन्हमा मतदान गर्दैै संगठनमा लागेकाहरुले एकाएक निर्वाचनमा कसरी रुख चिन्ह त्याग्न सक्नेछन् भन्ने पनि प्रश्न उठाइरहेका छन् ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा चितवनस्थित भरतपुर महानगरपालिकाको मेयरको टिकट पाएका कांग्रेसका दिनेश कोइरालाले आफ्नो चुनावी प्रचार थालिसकेका थिए । उनले तीन दिनसम्म प्रचार गरिसकेका थिए तर कांग्रेस नेतृत्वले त्यो बेला अप्रत्यासित निर्णय गरिदियो । तीन दिनसम्म चुनाव प्रचार गरेका कोइरालाको टिकट खोसेर माओवादीसँग सहकार्य गर्ने कांग्रेस नेतृत्वको निर्णयले कोइरालालाई ब्याक हुन कर लाग्यो । ‘मैले टिकट पाइसकेको थिएँ, तीन दिनसम्म चुनाव प्रचार गरिसकेको थिएँ’, कांग्रेस केन्द्रीय सदस्य समेत रहेका कोइरालाले भने– ‘तीन दिन प्रचार गरिसकेपछि मेरो टिकट खोसियो ।’

माओवादी अध्यक्ष पुष्पकमल दाहालपुत्री रेणु दाहाललाई कांग्रेसले सघाएर जिताउने निर्णय लिएका कांग्रेस सभापति देउवा रेणुको चुनावी प्रचारमा समेत खटिए । तर अप्रत्यासित रुपमा ‘ब्यक्तिगत स्वार्थ’ का लागि माओवादीसँग चुनावी समीकरण गरेको आक्रोश कार्यकर्ताहरुमा थियो । उनीहरुले यो आक्रोश मतदानका क्रममा सहजै पोखेको पनि देखियो । कोइरालाले भने ‘त्यो बेला कसरी हँसिया हथौडामा भोट हाल्न सहज हुन्थ्यो, धेरै साथीहरुले भोट दिनुभएन ।’

कोइरालाका अनुसार त्यो बेला बलियो समीकरण बनेको भए रेणुको मत ६० हजारभन्दा माथि हुन्थ्यो । तर रेणुको मत मुस्किलले ४० हजार कट्यो । जबकी त्यो बेला कांग्रेसको मत मात्रै झण्डै ४० हजार थियो । कांग्रेससँग चुनावी समीकरण गरेको माओवादीलाई जीतका लागि त्यो बेला मतपत्र च्यात्नु नै प¥यो । ‘कम मत आयो उहाँ (रेणु दाहाल) को,’ कोइरालाले भने– ‘नत्र किन मतपत्र च्यातिन्थे ?’ कोइरालाका अनुसार उक्त समीकरण दुई नेताको निर्णयमा मात्रै भएको थियो । तर कार्यकर्ताहरुले यसलाई पचाएनन् । अनि यो समीकरणप्रति उनीहरु प्रतिबद्ध हुन सकेनन् । ‘केन्द्रका दुई नेता बसेर ब्यक्तिगत लाभका लागि गरिने समीकरणले आम मतदाताको भावनालाई क्यास गर्न सक्दै सक्दैन,’ कोइरालाले भने ‘अघिल्लो चुनावमा भएको त्यही नै हो ।’

माओवादीसँग अघिल्लो चुनावमा चितवनमा भएको ‘फितलो समीकरण’ बुझेका कांग्रेसीहरुको ठूलो तप्काले अहिलेको गठबन्धनलाई रुचाएका छैनन् । अझ चितवनमा त माओवादीसँग कांग्रेसीहरु बेस्सरी झस्किएका छन् । यसर्थ अब चुनावमा पनि हुनसक्ने गठबन्धनले गठबन्धनमा रहेका दलका कार्यकर्ताहरुले चुनावमा फरक दलको अस्तित्वलाई स्वीकार्न सक्ने सम्भावना निकै कम देखिन्छ ।

‘चितवनका कांग्रेसी कार्यकर्ताहरुको मनोभावको कुरा गर्नुहुन्छ भने रुखमा बाहेक अन्य चुनाव चिन्हमा मत हाल्ने भन्ने छँदै छैन,’ कोइराला भन्छन्– ‘यसर्थ कार्यकर्ताहरुको यो मनोभावले गठबन्धनको आवश्यकता छैन है भन्ने सन्देश ब्यक्त गरिरहेको छ ।’ कार्यकर्ताहरुको मनोभाव एकातिर, शीर्ष नेताहरुको निर्णय अर्को भएमा नेताहरुको निर्णयले मात्रै गठबन्धनको औचित्य नहरने उनको बुझाइ छ ।

स्थानीय तहका नेता कार्यकर्ताहरुले मात्रै हैन, कांग्रेसका शीर्ष तहकै नेताहरुले समेत कांग्रेसीहरुले रुखमा बाहेक अन्यत्र मतदान गर्नै नसक्ने भन्दै गठबन्धन इतर रहेर धारणा ब्यक्त गरिरहेका छन् । फलतः गठबन्धन हुने वा नहुने भन्ने आशंका कायमै रहेको छ । अझ स्थानीय तहमा त एकले अर्को दललाई स्वीकारेर जाने सम्भावना झनै कम देखिन्छ ।

मूलतः कांग्रेस कार्यकर्ताहरु गठबन्धन भए तापनि फरक दललाई स्वीकारेर मतदानस्थलसम्म पुग्न तयार देखिन्नन् । नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नं. १७ का निवर्तमान उपसभापति सन्तोष योगी गठबन्धन भएको अवस्थामा मत कम खसेको खण्डमा त्यसको प्रमुख कारण नै गठबन्धनभित्र एकले अर्कोलाई नस्वीकार्दाको परिणाम नै हुने बताउँछन् ।

‘जसले बर्षोैँसम्म नेपाली कांग्रेस र रुख चिन्हलाई मात्रै मायाँ गरिरह्यो, त्यो मान्छे कसरी माओवादी वा अन्य दललाई भोट हाल्न मतदान केन्द्रमा पुग्छ ?’ योगीले भने ‘गठबन्धन भएको ठाउँमा मत कम खस्यो भने त्यसको प्रमुख कारण नै गठबन्धन हुनेछ, यसमा दुईमतै छैन ।’ उनका अनुसार स्थानीय तहका कांग्रेसी कार्यकर्ताहरु गठबन्धनका बिषयमा दुई तर्क गरिरहेका छन् । एउटा गठबन्धनको पक्षमा अनि अर्को बिपक्षमा ।

तर बिपक्षमा उभिएको तप्का स्थानीय तहमा ठूलो छ । ‘व्यक्तिगत लाभ हेरेका थोरै कांग्रेसीहरु गठबन्धनको पक्षमा छन्, उनीहरुले गठबन्धनमा रहेका फरक दललाई पनि मत हाल्न सक्छन्,’ योगीले भने– ‘तर गठबन्धन हुनुहुँदैन भन्ने पार्टीको सिद्धान्ततः उभिएको ठूलो तप्का पछि यो तप्का मलाई लाग्छ फरक दललाई मत हाल्नु परेको खण्डमा मतदान स्थलसम्म पनि पुग्छ कि पुग्दैन भन्ने मलाई लाग्छ, पुगिहालेको खण्डमा पनि मत कहाँ हाल्छ भन्ने अर्को कुरा हो ।’

यता आगामी निर्वाचनमा गठबन्धन अपरिहार्य देखेको माओवादीले भने माओवादीबाट कुनै पनि धोका नहुने दाबी गर्छ । विगतमा पनि पार्टीको केन्द्रीय कमिटीले गरेका हरेक निर्णय, सर्कुलर आम कार्यकर्ताहरुले पालना गर्दै आएको इतिहास रहेको भन्दै माओवादीका केन्द्रीय सदस्य निर्मल आचार्यले गठबन्धन गर्ने केन्द्रीय निर्णय भएमा माओवादीका कार्यकर्ताहरुबाट मतदानका क्रममा दायाँ–बायाँ नहुने दाबी गरे । ‘बिगतमा पनि पार्टीको निर्णय र सर्कुलरलाई आम कार्यकर्ताहरुले पालना गरेको इतिहास माओवादीभित्र छ,’ आचार्यले भने– ‘तर गठबन्धन भएको खण्डमा गठबन्धनमा आवद्ध कुनै पनि दलले विश्वासघात गर्नुहुँदैन पनि ।’

नेपाली कांग्रेसका केही शीर्षस्थ नेता र कार्यकर्ताहरुको धारणाले निर्वाचनमा गठबन्धन भैहाले पनि मतदानका क्रममा विश्वास गर्न नसकिने वातावरण बन्ने आशंका देखिए पनि त्यसो नहुने विश्वास माओवादीले गरेको छ । ‘अहिले कांग्रेसका केही शीर्षस्थ नेता र कार्यकर्ताहरु बोलेको कुराले पनि मतदानमा विश्वास हुँदैन कि भन्ने आशंका त देखाएको छ,’ आचार्यले भने– ‘तर गठबन्धन भएको खण्डमा पार्टीका केन्द्रीय निर्देशन आयो भने विश्वासको वातावरण बनिहाल्छ, एकले अर्कोलाई सहयोग गरेर अगाडि बढ्ने वातावरण बन्छ ।’

तर, कांग्रेसीहरुले आफूहरुले मात्रै अन्य दललाई भोट नदिने भनिरहेका छैनन्, अन्य दलबाट पनि आफूहरुलाई सहयोग हुनेमा सशंकित छन् । कम्युनिष्ट पार्टीहरुले कांग्रेसलाई किमार्थ सहयोग गर्न चाहँदैनन् भन्ने आम कांग्रेसीहरुको मनोभावले स्थानीय तहमा प्रभाव पारिरहेको छ । त्यसो, गत स्थानीय तहको निर्वाचनमा सहकार्य गरेको माओवादी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा

एमालेसँग चुनावी तालमेल गर्न गएको उदाहरणलाई बलियो प्रमाण कांग्रेसीहरुले मानिरहेका छन् । ‘स्थानीय तहको निर्वाचनका बेला कांग्रेससँग १० बर्षसम्म सहकार्य हुन्छ भनेर माओवादी अध्यक्ष पुष्पकमल दाहालले दाबी गर्नुभएको थियो,’ तत्कालीन स्थानीय तहको निर्वाचनमा मेयरको टिकट पाएका कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले भने– ‘अनि केही महिनापछि भएको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा उहाँ एमालेसँग जोडिन पुग्नुभयो, यसर्थ माओवादीलाई कसरी बिश्वास गर्ने भन्ने प्रश्न हो ।’

स्थानीय तहमा पनि गठबन्धन भैहालेको खण्डमा अन्य दलहरुबाट विश्वास मिल्नेमा कांग्रेसीहरुप्रति आशंका छ । कांग्रेस क्षेत्र नं. ३ दाङका सदस्य सुबास डाँगीले गठबन्धन भैहाले पनि अन्य दलहरुले कांग्रेसलाई सहयोग गर्छन् भन्ने ग्यारेन्टी के ? भनेर कार्यकर्ता पंक्तिबाट प्रश्न उठिरहेको बताए । ‘गठबन्धन त गर्ने तर कांग्रेसलाई अन्य दलहरुले सहयोग गर्नेमा विश्वस्त कसरी हुने भन्ने प्रश्न आइरहेका छन्,’ उनले भने– ‘त्यो खालको विश्वासको वातावरण बनेन भने गठबन्धन बन्नुको अर्थ के नै हुन्छ र ?’ त्यसो त आफ्नो पकड बलियो भएको स्थानमा अन्य दललाई गठबन्धनका नाममा स्थान छोडिदिने मनसाय कांग्रेसीहरुमा रत्तिभर छैन ।

यसर्थ सहज जीत हुने स्थानमा बाहेक आफू कमजोर भएको स्थानमा मात्रै अन्य दललाई स्थान दिइनुपर्ने आवाज कांग्रेसीहरुबाट उठिरहेको छ ।‘एमालेले कदापि जित्नु हुँदैन र कांग्रेस कमजोर  भएको स्थानमा गठबन्धन गरेर एमालेलाई हराउनुपर्छ भन्ने मानसिकता कांग्रेसीहरुमा बनेको छ’, डाँगी भन्छन्– ‘योबाहेक कांग्रेसको पकड बलियो भएको स्थानमा फरक दललाई स्थान दिइए त्यहाँ कांग्रेसीहरुले अन्य दललाई सहयोग गर्ने वातावरण बन्ने देखिन्न ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्