सत्य, तथ्य र कथ्य – Kanika Khabar
Friday, February 14Nepali News Portal

सत्य, तथ्य र कथ्य

    मा प्रकाशित

सत्य, तथ्य र कथ्य सुन्दा उस्तै उस्तै सुनिन्छ्न । वास्तविक अर्थमा यी शब्दहरू उस्तै भने होइनन् । उस्तै सुनिनुमा यी शब्दहरूबिच केवल तुक मिल्न जानु मात्र हो । शब्दहरुका बिशेषता केलाउने हो भने यी शब्दहरू श्रुतिसमभिन्नार्थक शब्दहरू पनि होइनन् । यी शब्दहरू उस्तै सुनिनुको विविध कारणहरु मध्य एउटा कारण यी शब्दहरूको अन्तिम अक्षरको उच्चारण मेल खानु पनि हो । यसरी उच्चारण मिलेर उस्तै सुनिदैमा हामीले शब्दहरूको भित्री भाव बुझ्न चुक्यौ भने हामी अलमलमा पर्न सक्द्छाँै । उपहारमा पाएको यो मानव जीवनबाट खुसीहरु गुमाउने सम्भावना बढेर जान्छ । वर्तमान मानव जगतको गहन अध्ययन गर्ने हो भने लाखौं मानिसहरू मनोरोगको शिकार भएका भेटिन्छन् । खोजी नगरेका तथ्यहरुले ओझेल पारेर आधार हराएका सत्यहरु भुल्दा हाम्रो मस्तिष्कले जन्माउने मनग्रन्थे कथ्य नै मानिसमा पाइने मनोरोगको प्रमुख कारण हुन सक्द्छ । यस्ता शब्द केवल शब्द मात्र नभएर त्यसले गहिरो सन्देश बोकेको हुन्छ भन्ने यथार्थलाई हामी कसैले पनि नकार्न सक्दैनौँ । त्यसकारण हामीले शब्दको सतही ज्ञान मात्र बुझेर पुग्दैन । गहिराई सम्म पुगेर खोतल्ने हो भने पर्यावाची शब्दहरुमा त भिन्नता भेट्टाउन सकिन्छ भने यी शब्दहरू त पर्यावाची शब्दहरू नै होइनन् । शाब्दिक अर्थलाई मात्र केलाएर हेर्यौ भने पनि नाप्न नसकिने भिन्नता पाउन सकिन्छ यी शब्दहरू भित्र। मेरो विचारमा पृथ्वीको जुन सुकै परिधिभित्र जस्तो सुकै अवस्थामा पनि सबै मानव जातिले एकनासले बुझ्ने सन्दर्भ नै सत्य हो भने समयको चक्र सङ्गै घटेको वा घट्न गएको घटनालाई प्रमाणित गर्ने अवस्था नै तथ्य हो । मानौ एउटा ठाउँमा कुनै घटना घटेको छ । त्यो घटनाको सत्य पत्ता लगाउनका लागि तथ्यहरुको सख्त जरुरत पर्दछ । त्यो घटना घटेको सावित गर्न एकत्रित गरिने आधारहरु नै तथ्य हुन भनेर बुझ्न सकिन्छ । बेलाबखतमा आधार र तथ्य बिना सत्य पनि लुकिदिने गर्दछ र उक्त सत्य हामी माझ कहिल्यै आउन सक्दैन । हो यिनै सत्य र तथ्यलाई लिएर कसैको मस्तिष्कमा बिचारहरुले लुकामारी खेल्दै द्वन्द गरिदिन्छ्न र सत्य र तथ्यबाट अलग्गिएर कथ्यको दलदलमा फसिदिन्छ्न । अर्थात् हामीले कुनै घटनालाई लिएर सोचै सोचको अग्निशिखामा कथ्यको पहाड बनाईदिन्छाँ ै। अनि समयले त्यही कथ्यको आधारमा हामीलाई दुखको भुमरीमा जाकिदिन्छ ।

गम्भीर भएर ख्याल राख्यौ भने मिर्मिरे बिहानीदेखि गोधुली सन्ध्यासम्मको एउटा पनि पल उस्तै हुदैनन् । मिनेट मिनेटमा हुने मिहिन बदलावहरुले जरा फिजाईरहेका हुन्छ्न । तर हामीले ती मिहिन बदलावहरुको फिटिक्कै वास्ता गरेका हुदैनौ । मानव स्वभाव भनेको आफूलाई असहज परिस्थिति आयो भने मात्र सोच्ने स्वभावले जकडिएको देखिन्छ । जब समस्या हाम्रो वरिपरि नाच्न थाल्छ तब के को सत्य खोज्ने के को तथ्य खोज्ने । त्यसबेला सरासर कथ्यमा हाम फाल्नु सिवाय केही सोच्न लाग्दैनौ । जस्तो कि जुत्ता लगाउनुपूर्व जुत्ता भित्र हात हालेर जाच्नुको साटो जुत्ता लगाई सकेपछि सानो कनले बिझाउछ अनि मात्र जुत्ता फुकालेर उक्त कन झिकेर फ्याल्छौ । सामान्य हिसाबले हेर्दा त अप्ठ्यारो नपरी टाउको किन दुखाउनु र जस्तो लाग्नु स्वभाविक होला तर छिन भरको असावधानीले पु¥याउने असरको हिसाब किताब कहिले र कसरी राख्ने भन्ने बिचार नगर्नु मुर्खता हुन्छ जस्तो लाग्द्छ । इतिहासलाई पल्टाएर हेर्दा पनि कथ्यहरुले जीवनलाई दुःखको खाडलमा धकेलेको पढ्न पाइन्छ । धर्म ग्रन्थहरु रामायण र महाभारतको अध्ययन गर्ने हो भने पनि कथ्यले निम्ताएका पीडाहरु भेटाउन सकिन्छ । मर्यादा पुरुष चौध बर्षको वनवासी जीवन व्यतित गरेर फर्केपछि सीताको अग्निपरीक्षा लिन्छन् । तिनै रामले तथ्यलाई खोजी गरी सत्य बाहिर ल्याउने हिम्मत गुमाएर कथ्यले प्रतापीड भएको देख्न पाइन्छ । धर्म पालक न्यायमूर्ती श्रीकृष्णले धर्म संस्थापनार्थ कुरुक्षेत्रको युद्ध भुमिमा मानव जीवन र मानव मानव बिचको सम्बन्ध बारे यथार्थ तथ्य प्रत्यक्ष नदेखाएसम्म अर्जुन पनि कथ्यले गाँजिएर दुःखको चङ्गुलमा फनफनी घुमिरहेको देखिन्छन् । यसरी कथ्यले तथ्य खोज्ने आँटलाई छायाँमा धकेलिदिन्छ र सत्यसम्म पुग्न अवरोध बनिदिन सक्दछ । यदि जीवनरुपि बगैचामा खुसीको फूलहरु फुलाउनु छ भने कागले कान लग्यो भन्दैमा कागको पछि दौड्ने होइन पहिला कान छामेर एकीन गर्न सक्नुपर्दछ ।

गत बिगतका दिनहरुमा हाम्रा दैनिकीहरुको राम्रोसँग जोड घटाउ नगरेर ठीक चलिरहेको छ भन्ने निष्कर्ष निकाल्नु हजारौं फिटको उचाइमा उडिरहेको हवाईजहाजबाट पृथ्वीमा सुरक्षा कवच बिना छलाङ लगाए सरह हो । संयोगले सहज बनेका दिनहरु जिन्दगीका सधै अनुकरणीय दृष्टान्त हुन सक्दैनन् । तथ्यले घेरिएको सत्य मात्र एक अनुकरणीय जीवनको उदाहरण बन्न सक्द्छ । केही मानिसहरुले यसमा कर्म र भाग्यलाई जोडेर धारणा बनाउने गर्द्छन् । धारणा बनाउँदा पनि सत्य र तथ्यको साथ लिने वा कथ्यको साथ लिने बारे मानसिक द्वन्द्व हुन सक्दछ । धेरै जसो अवस्थामा कथ्यले जित्ने गर्दछ । कथ्यले धारणा बनाएका मानिसहरूले कर्म र भाग्यको बारेमा पनि कथ्यहरुले भरिदिन्छन् । अनि यस्ता कैयन मानिसहरुको जीवन एउटा मोडमा पुगेर उजाड बनाईदिन्छ । तर कर्म र भाग्यमा कुन ठूलो भन्ने बहस भन्दा पनि कर्म र भाग्य बारेको सत्य, तथ्य र कथ्यको बारेमा जानकारी राख्नु उत्तम हुने गर्दछ । तपाईं मान्नुस् या नमान्नुस् तपाईं एक जीवित प्राणी हो । यो सरासर सत्य हो । यसमा कसैले शंका राख्दैन । तपाईलाई मानिस भनेर प्रमाणीकरण गर्ने मानव स्वरुपका विभिन्न अङ्ग प्रत्यङ्गहरु र तपाईंले देखाउने क्रिया प्रतिक्रिया मानवीय स्वरुपमै प्राप्त भएका छन् । ती सम्पूर्ण शरीरका भागहरु र तपाईंका गतिविधिहरु तथ्य हुन् । परीक्षण र प्रमाणबिना त्यही शरीरका भागहरुमा समस्या छ भन्ने कुरा तपाईंको दिमागमा चल्यो भने त्यो कथ्य हो र त्यही कथ्यले तपाईंको जीवनलाई तहसनहस बनाईदिन्छ । कर्ममा भन्दा भाग्यमा बिश्वास गर्नेहरुले बुझ्नु पर्ने कुरा के हो भने भाग्यले कर्म होइन, कर्मले भाग्य बनाउने गर्दछ । मानी लिनुस् एउटा ब्यक्ति विपरीत दिशाबाट रेल आईरहेको देख्दा देख्दै यदि ऊ रेलको लिगमा सुतिदिन्छ भने उसको मृत्यु भाग्यले होला वा कर्मले ? यो बहुत बिचाराणीय कुरा छ । यस्तो अवस्थामा तपाईं उसलाई बाँचेको देख्न चाहनुभयो भने के ऊ बाँच्न सक्ला त ? ऊ कदापि बाँच्न सक्दैन किनकि ऊ भित्रको कथ्यले पहिले नै मरिसकेको हुन्छ । तब मात्र ऊ रेलको लिगमा जानाजान सुत्न पुग्दछ । क्यान्सर जितेर नयाँ जीवन पाएकी अभिनेत्री मनिषा कोइरालालाई यदि कथ्यले गाँजेको भए उनको उदाहरण मैले पेस गर्न पाउने थिएनँ । हामीले हाम्रो जीवनलाई प्रकृतिको अनुपम उपहारस्वरूप जिउने हो भने आधार हिन कथ्यलाई छोडेर सत्य र तथ्यको खोजी गर्ने हिम्मत जुटाउनु पर्दछ । यदि यसो गरियो भने लकडाउनको समय हाम्रो जीवनको लागि एउटा सत्य र तथ्य खोज्ने सुनौलो मौका बन्नेछ । हजारौं कथ्यले गाँजेका मानिसहरूलाई सत्य र तथ्यको उज्यालो बिहानी किरणहरुले स्पर्श गर्नेछन् । उनीहरुका आँखामा उमङ्गका तरङ्गहरु लहराउनेछन् । उनीहरुको लागि यो नै जीवन जिउने बुटि बन्नेछ । सजिलो शब्दमा बुझ्नलाई सत्य र तथ्यको साहारामा आत्माविश्वास बढाएर र सावधानीपूर्वक अघि बढनु नै कथ्यलाई परास्त गर्ने एउटा मात्र भरपर्दो अस्त्र हुन सक्दछ । यद्यपि सत्य भेटाउन असीमित कठिनाइहरु झेल्नु पर्ने हुनसक्दछ । सत्यको ढोका खोल्न तथ्यहरुको अवलोकन र प्रयोग अदम्य साहस र धैर्यका साथ गर्नु जरुरी देखिन्छ । बालकृष्ण समले जन्माएको मुकुन्दले सत्य खोज्ने सिलसिलामा इन्दिराको खुकुरी प्रहारबाट ज्यान समेत गुमाउने खतरा मोलेको पाइन्छ । देवकोटाको कल्पनाले मुनाको मस्तिष्कलाई कथ्यले नभरिदिएको भए ल्हासाबाट मदन नफर्कियोन्जेल मुना अस्ताउने थिइन होला । उसमा बिश्वास र हिम्मतले रजाइँ गर्थे होला । यी कथाहरुबाट सत्य पल भर मै सरल तरिकाबाट भेट्न असम्भव छ भन्ने बुझिन्छ । सत्य प्राप्तिको दौरानमा झेल्नुपरेको अप्ठ्यारा तथा चुनौतीपूर्ण कदमहरु प्रकारान्तरमा स्वर्गीय आनन्दले भरिपुर्ण हुने गर्द्छन भन्ने उदाहरणहरु भर्खरै कोरोनासँगको युद्ध जितेर मृत्यु बिजेता बनेकाहरुको चेहेरामा प्रष्ट देख्न पाइएको थियो ।

अहिलेको महासंकटको घडीमा आम मानिसहरू बिचमा पैदा भए गरेका तमाम कथ्यहरुले पकड बनाएर बसेका छन् । कोभिड १९ को सन्दर्भलाई लिएर यसको बारेका कथ्यहरुमा समेत विविधता प्रकट गरेको पाइन्छ । कसैले यसलाई मानिसले बनाएको भाइरस भनेका छ्न त कसैले यसको भ्याक्सिन पत्ता लाग्यो भन्ने गरेका छ्न, कसैले औषधि पत्ता लाग्यो भनेका छन् । संचार माध्यमबाट अस्ति नेपालको सुदुरपश्चिममा अवस्थित कञ्चनपुरका बैद्यले उक्त भाइरसलाई निको पार्ने आयुर्वेदिक औषधि पत्ता लगाए भन्ने खबर आएको थियो । यसरी आएको जम्मै कुराहरुलाई म कथ्य भन्न चाहन्छु । किनकि यी कुराहरुमा कुनै तथ्य भएको झिनो सङ्केत पनि छैन जसले सत्यसम्म पु¥याउन सकोस् । कुनै पनि औषधिको आविष्कार गर्नु र त्यसको उपदेयिता के हो भनेर परीक्षण गर्नलाई दुई चार महिनाले पुग्दैन जस्तो लाग्दछ । यसको आविष्कार, परीक्षण, आशातीत परिणाम र बिश्वसनियताको लागि कम्तीमा एक ढेड बर्षसम्मको लगातार परीक्षण हुनु जरुरी हुन्छ होला । यदि यति छिटो त्यसखाले औषधि पत्ता लाग्ने भए बिज्ञहरुले भरिपूर्ण तथा प्रविधिको क्षेत्रमा अग्रगतिमा छलाङ मारिसकेका देशहरुले अकल्पनीय क्षति बेहोर्ने थिएनन होला ।

समाजमा ब्याप्तरुपमा सुनिने सत्य र तथ्यलाई ओझेल पारी पृथ्वी घुमे जस्तै दिमागलाई गोलगोल घुमाउने कथ्यमा ध्यान नदिनु अहिलेको बुद्धिमानी ठहर्छ । बरु संसारले मानी आएको बिश्व स्वास्थ्य सङगठनको सल्लाह बमोजिम स्थानीय स्तरमा उब्जाइएका कथ्यहरुको पछि लाग्नु घातक सावित हुन सक्दछ । यद्यपि जडिबुटीको नियमित सेवन गर्नुले रोग प्रतिरोधात्मक क्षमता बढाउने उपाय हुन सक्द्छ । तर यसले लागिसकेको कोरोनालाई ठीक पार्छ भन्नु गलत सावित हुन सक्दछ । यसर्थ यस परिस्थितिलाई पराजित गर्ने अचुक उपाय भनेको भिडभाडमा जानबाट बच्ने । यदि जानै परे पनि सामाजिक दुरी कायम राख्ने । आँखा, नाक, मुखको अधिक सुरक्षा अपनाउने । बाहिर निस्कदा मास्क, चस्मा प्रयोग गर्ने । हातलाई सफासँग साबुन पानीले धुने र स्यानिटाइजरको प्रयोग गर्ने । शरीरको अन्य भागलाई सकेसम्म नाङ्गो नछोड्ने र नियमित सरसफाइ गरिराख्ने । राज्यद्वारा घोषित लकडाउनको पूर्ण पालना गर्दै घरैमा बसी विभिन्न पुस्तक पढ्ने, परिवारका सदस्यहरुसँग घरभित्र खेलिने ज्ञानबद्र्धक खेल खेल्ने, योगा ध्यान वा शारीरिक ब्यायाम गर्ने । यस्तै अन्य रचनात्मक क्रियाकलाप गर्दै समयको सहि सदुपयोग गर्नु हर बिपत्तिको घडीसँग बिजय प्राप्त गर्ने जीवन मन्त्र हुन सक्दछन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्