स्थानीय निर्वाचन डायरी : ३६ भुलेर ६३ बन्ने प्रयास – Kanika Khabar
Wednesday, May 15Nepali News Portal

स्थानीय निर्वाचन डायरी : ३६ भुलेर ६३ बन्ने प्रयास

    मा प्रकाशित

खेमराज रिजाल
तुलसीपुर, २३ चैत । घोराही–तुलसीपुर बस यात्रामा मंगलवार विहान भेटिएका एकजना पाका कांग्रेस नेताले भनेका थिए– ‘रुख चिन्ह लिएर चुनाव लड्न त्यति सहज छैन, चढ्नका लागि भ¥याङ, समाउने हांगो र व्याक सपोर्टमा पुस गर्ने कार्यकर्ता साथमा हुनुपर्दछ ।’

तुलसीपुर पुग्दा नेपाली कांग्रेस नगरसमितिले भर्खरै निर्माण गरेको सभाहलमा तुलसीपुर उपमहानगरपालिकाको नेतृत्व गर्न मेयर र उपमेयरका आकांक्षीहरुको जमघट सुरु भइसकेको थियो । नेपाली कांग्रेस तुलसीपुर नगर समितिले स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा मेयर र उपमेयरका आकांक्षीलाई भेला पारेर अभिमत लिने कार्यक्रम राखेको थियो । कार्यक्रममा नगर सभापति सुरेश हमालले विषय प्रवेश गराउँदै उदार दिलले आफ्नो उम्मेदवारीको पुष्ट्याईका लागि आग्रह गरेका थिए ।

बाक्लो उपस्थिति थियो, आकांक्षीहरुको । खुल्नुअघि बहस चलिरहेको थियो, ‘अब हामीले ३६ भुलेर ६३ बन्नुपर्छ । अर्थात हामी दुईतिर होइन एकैतिर फर्कनुपर्छ ।’ कार्यक्रम निकै सौहार्द थियो । ३६ अंक लेखिरहँदा दुईवटा अंक विपरीततर्फ फर्केका हुन्छन्, तर त्यसैलाई ६३ बनाउँदा दुवै अंक एकैतिर । अर्थात एकता र गोलबन्दको संकेत हो ६३ अंक । सौहार्द यो प्रसंगमा कि चार बर्षको संघात्मक प्रणालीमा स्थानीय तहको नेतृत्व गर्नका लागि धेरै लालायित थिए । प्रदेश र संघको जनप्रतिनिधि भन्दा पनि स्थानीय जनप्रतिनिधिको प्रत्यक्ष टच जनतासँग हुने देखिएकाले मेयर÷उपमेयर पद निकै आकर्षणको पद जस्तो देखिन्थ्यो ।

करिब दुई दशकभन्दा बढी स्थानीय तह जनप्रतिनिधिविहीन भएको अवस्थामा बल्लचल्ल २०७४ मा भएको स्थानीय तहको निर्वाचनले धेरैको पालो कटाउन सकेको छैन । यसबीचमा धेरै आकांक्षी बन्नु स्वाभाविक पनि हो । किनकि यो अवधिमा एउटा भर्खरै नेविसंघमा प्रवेश गरेको विद्यार्थी पनि मेयरको हैसियत राख्नका लागि सकल दर्जा बनिसकेको छ । एउटा तरुण प्रदेशसभा सांसद बन्न र युवा संघीय सांसदको उम्मेदवार बन्न लायक भइसकेको छ । त्यसमा पनि पछिल्लो समयमा राजनीतिक नेतृत्वमा युवा सहभागिताको पहुँच बढाउने माहोल पनि पार्टीका केन्द्रीय महाधिवेशनहरुले नै पुष्टि गरिसकेका छन् ।

कति धेरै आकांक्षी ? आफूले मेयरको आकांक्षा राखिसकेपछि एकजना मेयरका आकांक्षी नेताले भनेका थिए, टिकट पाउनका लागि सबथोकको तालमेल हुनु पर्लाजस्तो लाग्छ मलाई । हो त्यही माहोलमा मेयर पदमा एकजना महिला आकांक्षीसहित कम्तीमा डेढ दर्जनले आकांक्षा राखे । आफ्नो उम्मेदवारीको आवश्यकता र औचित्य सकेसम्म पुष्टि पनि गरे । सुन्दा लाग्थ्यो, सबै मेयर बन्नका लागि सबै हिसावले लायक नै थिए । तर राजनीति त्यस्तो कहाँ हो र ? यो त हजारले खेती गर्ने र एउटाले स्याहार्ने अभ्यास न हो ।

मेयर पदमा आकांक्षा राख्नेहरुमा महिला आकांक्षी सुषमा लामिछाने गिरीदेखि नेपाली कांग्रेसका पूर्वसभापति घनश्याम रेग्मी, पूर्वसभापति कीर्तिबहादुर खड्का, कांग्रेस क्षेत्रीय सभापति जगत खड्का, महाधिवेशन प्रतिनिधि कृष्णकुमार गिरी, अग्रज व्यवसायी तथा कांग्रेस नेता डिल्लीबहादुर बस्नेत महाधिवेशन प्रतिनिधि विमल रिजाल, महाधिवेशन प्रतिनिधि डा. नहकुल केसी, महाधिवेशन प्रतिनिधि गोविन्दबहादुर शाह, नेपाली कांग्रेस नगर सभापति सुरेश हमाल, वडाध्यक्ष तथा कांग्रेस नेता टोपबहादुर केसी कांग्रेस पूर्व जिल्ला सहसचिव सुरेन्द्र खड्का, कांग्रेस नेता किरण शाह, युवा व्यवसायी जनकप्रसाद खराल, थारु अगुवा तथा बुद्धिजीवी चूर्णबहादुर चौधरी तथा वित्तीय क्षेत्रमा कार्यालय प्रमुखको जिम्मेवारी निर्वाह गरेर रिटायर्ड लाइफमा फेरि राजनीतिमा जोडिएका नेता एकराज आचार्यलगायतले तुलसीपुरको मेयर मैले चलाउन सक्छु भन्ने आशयसहितको आकांक्षा व्यक्त गरे ।

मेयरमा मात्र होइन, उपमेयरमा पनि धेरै महिलाहरु आकांक्षी देखिए । आफूलाई उपमेयरको आकांक्षी घोषणा गर्नेमा ५ जना महिलाहरु थिए । कविता शर्मा, यमुना शाह, देवीका नेपाली, देवा डाँगी, पवित्रा धितालजस्ता होनहार महिला नेतृहरुले उपमेयर चलाउन आफू तयार रहेको र पार्टीले टिकट दिएमा कुशलतापूर्वक नेतृत्व बहन गर्न सक्ने बताएका थिए । हेरौं टिकट कस्को पल्लामा पर्ने हो । त्यसो त गठबन्धनको पनि कुरा उठेको छ । मेयर नेपाली कांग्रेसले लिएर उपमेयर गठबन्धनको माओवादी केन्द्रलाई छाड्नु परेमा के हुने भन्ने त छलफलको चरणमै प्रवेश गरेको छैन ।

जे होस्, निर्वाचनमा नेपाली कांग्रेस नेता कार्यकर्ताहरुमा निकै उत्साह देखिएको छ । तुलसीपुरका १९ वडाका अध्यक्षका लागि नाम सिफारिस भएको तथ्यांक हेर्दा एउटै वडामा कम्तीमा पनि आधा दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् । नेपाली कांग्रेसको विधानले वडाबाट अध्यक्षका लागि सिफारिस पठाउँदा एकजना महिलासहित तीनजनाको मात्र नाम पठाउने भनेको छ, तर यो सम्भव भएन ।

मेयरको उम्मेदवारको टुंगो कहाबाट ?

सायद यो विषयमा मात्रै पनि सबै आकांक्षी जानकार नहुन सक्छन् । प्रक्रिया यस्तो छ । मेयर÷उपमयेयरका लागि पालिकाका वडाहरुले सिफारिस गरेको आधारमा नगर समितिले नाम सिफारिस गरी प्रदेश र क्षेत्रमा पठाउने छ । क्षेत्रले जिल्ला कार्यसमितिलाई अनुमोदनका लागि पठाउने छ ।

जिल्लाले सिफारिस भएका नामलाई अन्तिम टुंगोका लागि प्रदेश समितिमा पठाउने छ । कुनै पनि विवाद सिर्जना नभएको अवस्थामा प्रदेशले नै नाम टुंग्याउन सक्ने छ । अन्यथा विवाद भएमा वा केन्द्रको प्रत्यक्ष इन्ट्रेष्ट देखिएमा प्रदेशले धेरै आकांक्षी भएको खण्डमा आफूले अनुपयुक्त ठानेका नाम काटेर बढीमा तीन–तीन जनाको नाम केन्द्रमा पठाउने निर्वाचन सम्बन्धी कांग्रेसले बैधानिक व्यवस्था गरेको छ ।

प्रदेशले टुंग्याउन नसकेका उम्मेदवारको नामावली नेपाली कांग्रेसले केन्द्रमा गठन भएको केन्द्रीय संसदीय बोर्डमा पठाउने छ । बोर्डको संयोजक पार्टी सभापति नै रहने कांग्रेसको विधानले व्यवस्था गरेको छ । सम्भवतः उपमहानगरपालिकासम्मका प्रमुख र उपप्रमुखको उम्मेदवारी त्यही बोर्डले टुंग्याउने छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्