कानिका डेस्क
असार ६, दाङ
एक कोरोना सङ्क्रमित महिलाको कोहलपुरस्थित शिक्षण अस्पतालमा सफल शल्यक्रिया गरिएको छ ।
जटिल प्रसव समस्याले ग्रसित भीम अस्पताल भैरहवाबाट सिफारिश भएर आएकी महिलाको शल्यक्रियामार्फत छोरी जन्मिएको अस्पतालका सहनिर्देशक डा नितेश कनोडियाले जानकारी दिए ।
उनका अनुसार कृष्णनगर कपिलवस्तुकी २७ वर्षीया सङ्क्रमित गर्भवतीको आकस्मिक शल्यक्रिया गरिएको हो । अहिले आमा र नवजात शिशुको सामान्यावस्था छ ।
डा कविता सिन्हा, डा रवीन श्रेष्ठ, डा राजेश केसी, डा अमरेन्द्र कुशवाह र नर्सिङ्ग स्टाफ सङ्गीता गिरी, सरस्वती श्रेष्ठ र पवित्रा विष्टको टोलीले जटिल अवस्थामा रहेकी महिलाको शल्यक्रिया गरेको थियो ।
यस अघि अस्पतालले अछामकी २५ वर्षीया कोरोना सङ्क्रमित १८ हप्ताकी गर्भवतीको ठूलो आन्द्राको शल्यक्रिया पनि गरेको थियो ।
अस्पतालमा तीन जना कोरोना सङ्क्रमितको उपचार भइरहेको अस्पतालका सहनिर्देशक डा कनोडियाले बताए ।