अङ्गीकृत नागरिकता बारेको निर्णय पुनर्विचार गर्न नेकपालाई काङ्ग्रेसको आग्रह – Kanika Khabar
Thursday, April 25Nepali News Portal

अङ्गीकृत नागरिकता बारेको निर्णय पुनर्विचार गर्न नेकपालाई काङ्ग्रेसको आग्रह

    मा प्रकाशित

कनिका खबर
असार ८, दाङ ।
नेपाली काङ्ग्रेसले अङ्गीकृत नागरिकताका विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको निर्णयले मुलुकलाई राजनीतिक दुर्घटनातिर लगेको आरोप लगाएको छ । आज राष्ट्रियसभाको बैठकमा काङ्ग्रेस सांसद जीतेन्द्रनारायण देवले नेकपाको निर्णय अत्यन्त अदूरदर्शी, अपरिपक्व, मुलुकमा साम्प्रदायिक दङ्गा भड्काउने र प्रकारान्तरले मुलुकलाई नै विभाजनमा लैजाने खालको भएको टिप्पणी गरेका हुन् । नेता देवले यो निर्णयमा पुनर्विचार गर्न नेकपा नेतालाई आग्रह गरे ।
गत शनिबार नेकपा सचिवालय समितिको बैठकले नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने निर्णय गरेको थियो । नेकपाको उक्त निर्णयअनुसार नै प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले विदेशी बुहारीलाई सात वर्षपछि मात्र नेपाली नागरिकता दिने व्यवस्था राखेर नागरिकतासम्बन्धी विधेयक बहुमतले पास गरेको छ । तर कांग्रेस नेता देवले यो विषयले मुलुकलाई मुठभेड र गम्भीर राजनीतिक दुर्घटनातिर लैजाने बताए ।
नागरिकताको उक्त प्रावधानको विरोधमा वीरगञ्जदेखि राजविराजसम्म प्रदर्शन भइरहेको भन्दै नेता देवले कांग्रेस र मधेसवादी पार्टीलाई हेप्ने रणनीतिले दुर्घटना निम्त्याउने बताए । २०६३ सालमा तत्कालिन मधेसवादी दल, एमाले, माओवादी र नेपाली कांग्रेसबीच राष्ट्रिय सहमतिका आधारमा नागरिकता ऐन बनेको भन्दै उनले अहिले एक्कासी यसलाई उल्ट्याउन नहुने देवले बताए ।
नेपाल र भारतबीच सदियौंदेखि साँस्कृतिक सम्बन्ध रहेको भन्दै यसमाथि आक्रमण नगर्न पनि नेता देवले सचेत गराए । कम्युनिस्ट पार्टीभित्र विहार र उत्तर प्रदेशमा नेपालका मधेसी समुदायको सम्बन्धले गर्दा उताबाट आउने बुहारीले नेपालको राष्ट्रियता खतरामा परेको भन्ने ब्याख्या हुने गरेको नेता देवले बताए । नेपाल र भारतको सम्बन्ध कुनै पार्टीले स्थापना नगरेको भन्दै नेता देवले जबर्जस्ती विहाबारी रोक्ने हिसाबले अघि बढ्नु राजनीतिक दुर्घटना निम्त्याउनु भएको उनले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्