दाङ, १६ कार्तिक ।
आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन आउन अब १८ दिन बाँकी छ । निर्वाचनको मिति नजिकिरहँदा उम्मेदवारहरू पनि मतदाता भेटघाट तथा चुनावी प्रचार प्रसारलाई तीव्र बनाएका छन् ।
लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेका नेपाली काङ्ग्रेसका युवा तथा प्रभावशाली नेता प्रचण्ड विक्रम न्यौपाने दाङ क्षेत्र नं. २ (२) का उम्मेदवार रहेका छन् ।
विद्यार्थी जीवनबाट नै राजनीतिक ‘डेब्यु’ गरेका न्यौपाने प्रभावशाली नेताका रूपमा चिनिन्छन् । पहिलो पटक निर्वाचनमा उम्मेदवार भइरहेका न्यौपाने संसदीय राजनीतिमा ‘डेब्यु’ मार्ने दाउमा रहेका छन् । संसदीय निर्वाचनमा पहिलो प्रयासमा रहेका न्यौपानेको केन्द्रीय राजनीतिमा भने बलियो सम्बन्ध रहेको छ । नेपाली काङ्ग्रेसका केन्द्रीय राजनीतिमा समेत बलियो उपस्थिति जमाउने ल्याकत नेता न्यौपानेसँग रहेको छ । संसदीय निर्वाचनमा होमिएका नेता न्यौपाने विकासप्रेमी नेताका रुपमा चिनिन्छन् । उनले यतिबेला राखेको लक्ष्य भनेको नै समृद्ध दाङ र सम्पन्न दाङबासी रहेको छ । विकासका एजेन्डा लगेर जनताका घरदैलोमा पुगेका न्यौपानेले जनताका गुनासा सुन्दै विकासका आधार प्रस्तुत गरिरहेका छन् । विकासका योजना, कृषि उत्पादनका योजना, ग्रामीण पर्यटन, पर्यापर्यटनका योजनाका माध्यमबाट समृद्ध दाङको बलियो योजना छ नेता न्यौपानेसँग ।
मल, बीऊबिजन र सिंचाइ मागिरहेका मतदातालाई न्यौपानेलाई समयमै उपलब्ध गराउने प्रतिवद्धता मात्र गरेनन् कृषि उत्पादनको बजारीकरणको सरल योजनासमेत अभिव्यक्त गरे । समयमै मल उपलब्ध गराउने अल्पकालीन योजना हो तर मलको अभावलाई परिपूर्ति गर्न दीर्घकालीन योजना समेत उनले बताए ।
नेता न्यौपानेको योजनका पश्चात मतदाताहरुले एकै स्वरमा भने, ‘अब हाम्रो आशाको केन्द्र तपाईं नै हो । अब हामी गफ लगाउनेलाई होइन काम गर्नेलाई मतदान गर्छौ । हामीलाई विकास र निकास चाहिएको छ । हामीलाई दङाली हुनुमा गर्व लाग्ने बनाउने नेता चाहिएको छ । यसको आशाको केन्द्र तपाईं नै हो ।’
को हुन् प्रचण्ड ?
दाङ क्षेत्र नं. २ (२) मा गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रुपमा चुनावी मैदानमा रहेका छन् नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका प्रवक्ता प्रचण्डविक्रम न्यौपाने । न्यौपाने संसदीय निर्वाचनका लागि नयाँ अनुहार हुन् राजनीतिक परिपक्वताका दृष्टिले खारिएका व्यक्ति हुन् ।
२०३६ सालमा दाङको हापुरमा जन्मिएका न्यौपाने १४ वर्ष पुग्दा नपुग्दै राजनीतिमा सक्रिय रहे । २०५० सालमै मावि रतनपुरमा अध्ययन गर्दा नेपाल विद्यार्थी संघको इकाइ समितिमा रहेर राजनीतिक ‘डेब्यु’ गरेका न्यौपाने विद्यार्थी राजनीतिबाटै राजनीतिमा खारिएका व्यक्ति हुन् ।
एसएलसी पश्चात उच्च शिक्षा अध्ययन गर्न काठमाडौँ पुगेका न्यौपानेले पढाइसँगै राजनीतिलाई पनि छाडेनन् । काठमाडौंस्थित आरआर क्याम्पसमा आम सञ्चार ९पत्रकारिता० विषय लिएर अध्ययन गर्दै गरेका न्यौपानेलाई पत्रकारिताभन्दा राजनीतिले बढी आकर्षण गर्न थाल्यो । ‘पत्रकारिता पढिरहँदा फिल्डमा समाचार रिपोर्टिङ गरिरहँदा दाङमा चढेको राजनीतिक नसा राजधानीमा झन गहिरो बन्दै गयो । कार्यक्रममा रिपोर्टिङ गरिरहँदा नेताका भाषण र राजनीतिक गतिविधिले राजनीतिक वृत्तमा झनै कस्न थाले । समाचारका व्यास र अर्धव्यास कोर्ने मानसिकता राजनीतिक परिधिका वरिपरि घुम्न थाल्यो । परिणामतः राजनीतिबाट आफूलाई अलग राख्न सकेनँ ।’ उनले थपे, ‘ समाजसेवाको असल अस्त्र राजनीति हो । विकास र परिवर्तनका लागि पनि राजनीतिप्रति म बढी टाँसिएँ । म काठमाडौँका गल्लीमा भौतारिरहँदा, काठमाडौँको भौतिक विकासलाई नजिकबाट नियाँलिरहँदा दाङलाई सम्झन्थेँ । विकासका लागि राजनीति, राजनीतिका लागि नेता मेरा मगजमा फनफनी घुमिरहन्थ्यो । समृद्ध दाङ, सम्पन्न दाङ, सुखी दाङवासी मेरो इरादा बन्यो । र, म निरन्तर जोडिरहेँ राजनीतिसँग ।’
२०५६ मा स्नातक तह अध्ययन गर्न उनी काठमाडौँस्थित त्रिचन्द्र कलेजमा भर्ना भए । राजनीतिसँगै समाजसेवाका भावना जागृत भइसकेका न्यौपाने समाजशास्त्र विषय लिएर अध्ययन गर्न थाले । २०५७ मा स्ववियु सदस्य भएर न्यौपाने २०६० मा स्ववियु सचिव भए त्रिचन्द्र कलेजमा अध्ययन गर्दै गर्दा । २०६२ देखि २०६५ सम्म दुई कार्यकाल नेविसंघ इकाइ सभापति भएर नेतृत्व लिइसकेका न्यौपाने नेतृत्वमा ‘काबिल’ मानिन्छन् । २०६५ देखि २०६८ सम्म नेविसंघका सह महामन्त्री भएका न्यौपाने पार्टीको चौधौ महाधिवेशनबाट लुम्बिनी प्रदेशका सदस्य तथा प्रवक्ता भएका छन् ।
२०६२/०६३ को जनआन्दोलनमा काठमाडौंमै रहेर आन्दोलन गरेका न्यौपाने आन्दोलनको क्रममा पक्राउ परे र दुई महिना हिरासतमा समेत रहेका थिए ।
न्यौपानेले घरबाटै राजनीतिक संस्कारमा हुर्कदै आए । घरमै राजनीतिक वातावरण पनि पाए । ‘राजनीतिको पहिलो पाठशाला मेरा लागि घर नै बन्यो । हजुरबुबा नै राजनीतिमा सक्रिय भएका कारण पनि घरमा हुने नेता तथा कार्यकर्ताको जनघटले राजनीतिक अध्याय सिकाउँदै लग्यो मलाई । हजुरबुबापछि बुबाको राजनीतिक सक्रियता मेरा लागि लागि राजनीति नजिकबाट नियाल्ने अबसर बन्यो । ’ न्यौपानेले बताए ।
दाङका पुराना नेता जुद्धबहादुर न्यौपाने परिचित नाम हो । कुनै समयमा जुद्ध बहादुर न्यौपाने दाङ काङ्ग्रेसका लागि पर्याय थिए । न्यौपाने २०१५ सालमा निर्वाचित सांसद बने । २०५० सालमा राष्ट्रिय सभा सदस्य बने । उनै न्यौपाने नाती प्रचण्ड यतिबेला दाङ २९२० को निर्वाचनका लागि चुनावी दौडमा रहेका छन् । त्यसो त प्रचण्ड दाङका पुराना काङ्ग्रेस नेता भरतबहादुर न्यौपानेका छोरा हुन् ।