दाङ—नक्कली विवरण पेस गरी लिएको नागरिकताको नालेबेली – Kanika Khabar
Saturday, April 20Nepali News Portal

दाङ—नक्कली विवरण पेस गरी लिएको नागरिकताको नालेबेली

    मा प्रकाशित

कनिका खबर
असार १३, दाङ ।

झण्डै डेढ वर्ष अगाडि झुठो विवरण पेस गरी भारतीय नागरिकलाई नागरिकता दिएको खुलासा भएपछि यसले जिम्मेवार व्यक्तिहरुलाई सतर्क बनाएको छ । भारतका एक नागरिकले नेपाली नागरिकता लिनका लागि पेस गरेको विवरण झुठो भएपछि यसले प्रशासनिक क्षेत्रमा तनाव सिर्जना गरेको छ ।
दाङमा एक जना भारतीय नागरिकले झुठो विवरण पेस गरी नागरिकता लिएको खुलेको छ । भारतको बलरामपुर जिल्लाका विशाल कुमारले २०७५ मंसिर २५ गते जिल्ला प्रशासन कार्यालय दाङबाट नेपाली नागरिकता लिएका थिए ।

विशालले ‘मितबहादुर दमाई’ को नामबाट नागरिकता लिएका छन् । नेपाली नागरिकतामा उनको बुवाको नाम हिरालाल दमाई र ठेगाना दाङको बंगलाचुली गाउँपालिका वडा नं. ३ उल्लेख छ । उनको नागरिकता प्रमाणपत्र नं. ५२–०१–७५–०४०५२ हो । नागरिकतामा प्रशासकीय अधिकृत जनक प्रसाद भण्डारीको हस्ताक्षर छ ।
२५ वर्षे भारतीय नागरिक विशाल गुप्ता भारतबाट मजदुरी गर्न दाङको घोराही आए र घोराहीकै सम्झना नेपालीसँग उनले बिहे गरे , नेपालमै घरजम गरी बसेका विशालको एउटा बच्चा पनि जन्मियो । बच्चाको जन्मदर्ता गराउने बेला उनलाई नेपाली नागरिकको आवश्यकता पर्यो । उनी भारतीय नागरिक भएकै कारण विवाह दर्ता पनि भएको थिएन ।
विवाह दर्ता र बच्चाको जन्मदर्ताका लागि विशाललाई नेपाली नागरिकता चाहिने भएपछि विशालकी श्रीमती सम्झना नेपालीले नाताले मित मामा पर्ने हिरालाल दमाईसँग विशाललाई नेपाली नागरिकता दिलाइदिन अनुरोध गरेकी थिइन् । त्यसपछि हिरालालले सुरुमा बंगलाचुली–३ बाट बसाइँ सरेर घोराही उपमहानगरपालिका वडा नं. ३ मा बस्दै आएको बसाइँसराइँको निवेदन घोराही उपमहानगरपालिका वडा नं. ३ को कार्यालयमा २०७५ मंसिर २३ गते दर्ता गराए । त्यसको दुई दिनपछि विशाललाई आफ्नो छोरो मितबहादुर भन्दै नागरिकताको सिफारिस बनाएर सोही दिन जिल्ला प्रशासन कार्यालयबाट वंशजको आधारमा नागरिकता दिलाउन सफल भए । तर जारी नागरिकतामा वडा नं. ३ को सिफारिसमा बंगलाचुली गाउँपालिका वडा नं. ३ को ठेगाना राखेर नागरिकता दिलाइएको छ ।
प्रहरीले विशाल कुमारलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ । उनलाई जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
घटनाका आरोपित फरार
विशाल नागरिकता प्रकरणमा आरोपितहरु अहिले फरार भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । नागरिकता प्रकरणमा संलग्न भन्दै प्रहरीले हिरालाल दमाई, घोराही उपमहानगरपालिका वडा नं. ३ का अध्यक्ष माधवप्रसाद चौधरी, वडा सचिव पदमप्रसाद रेग्मी, त्रिपुरा खड्का, लिला अधिकारीविरुद्ध पनि मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले उनीहरु फरार रहेको र खोजी कार्य जारी रहेको बताएका छन् । आरोपितहरु अझै सम्पर्कमा नआएको र कागजी प्रक्रिया अगाडि बढेकाले फरार नै भएको मानिने प्रवक्ता खड्काले बताए ।
हामी फरार छैनौँ, बोलाएपछि अदालतमा हाजिर हुन्छौँ : अध्यक्ष चौधरी
घोराही उपमहानगरपालिका वडा नं। ३ का अध्यक्ष माधवप्रसाद चौधरीले आफू कार्यालय आउने जाने गरिरहेको र आफू फरार नभएको बताएका छन् । उनले भने, ‘प्रहरीले मागेका कागजात तथा विवरण हामीले उपलब्ध गराएका छौँ, बोलाएपछि हामी अदालतमा उपस्थित हुनेछौँ ।’ नागरिकताका लागि सिफारिस प्रक्रियाका बारेमा उनले भने, ‘कसैले मेरो छोरा हो भनेर प्रमाण जुटाएर आएपछि हामीले सिफारिस गर्नै प¥यो, हामीले गरेको त्यही हो, हामीले कसरी चिन्ने, कसैको निधारमा लेखिएको त हुँदैन नि, हामीले त कागजी प्रमाणका आधारमा काम गर्ने हो ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्