रुकुममा मारिएका नवराज विकलाई मरणोपरान्त पुरस्कार – Kanika Khabar
Friday, April 26Nepali News Portal

रुकुममा मारिएका नवराज विकलाई मरणोपरान्त पुरस्कार

    मा प्रकाशित

कनिका संवाददाता
असार १५, काठमाडौं ।

रुकुम पश्चिममा मारिएका जाजकरकोटका नवराज विकलाई सरकारले मरणोपरान्त पुरस्कृत गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७६ सालको भगत सर्वजित मानव मर्यादा पुरस्कार अन्तर्गत समाज सुधार अभियानतर्फ उनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । यो पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ । समाज सुधार, सामाजिक न्याय, समता तथा दलित मुक्ति आन्दोलनमा योगदान गरेका भगत सर्वजित विश्वकर्माको कदरस्वरुप सरकारले २०७३ सालबाट यो पुरस्कार प्रदान गर्न थालेको थियो ।

यो वर्ष समाज सुधारतर्फ नवराज विक, मानवअधिकारतर्फ तनहुँका त्रिभुवनचन्द्र वाग्ले र सिप, कला शिक्षा, साहित्य लेखन तथा अनुसन्धानतर्फ बाँकेका तिलक परियारलाई पुरस्कृत गर्ने निर्णय मन्त्रालयले गरेको हो । मन्त्रालयले यस वर्ष प्रदान गर्ने अन्य विधामा समेत पुरस्कृत हुनेको नाम टुङ्गो लगाएको छ । मन्त्रालयले २०५१ सालदेखि विभिन्न विधामा राष्ट्रियस्तरका पुरस्कार प्रदान गर्दै आएको छ । जसमा एक लाख रुपैयाँ राशिको ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ काठमाडौंका प्रा.डा. दयाराम श्रेष्ठले पाउनुहुनेछ भने संगीत तथा नाट्य विधातर्फ सिराहका सत्यनारायण चौधरीले राष्ट्रिय प्रतिभा पुरस्कार पाउनुहुनेछ ।

ललितकलातर्फ भने काठमाडौंका श्यामलाल श्रेष्ठलाई पुरस्कृत गरिने मन्त्रालयले जनाएको छ । यस विधामा हरेक विधातर्फ ५० हजार पुरस्कार राशिको प्रादेशिक प्रतिभा पुरस्कार समेत प्रदान गरिन्छ । सरकारले आज नै महाकवि देवकोटा पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार र पुष्पलाल राष्ट्रिय पुरस्कार पाउने व्यक्तिको नाम समेत छनोट गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्