शुभारम्भ २०८० – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

शुभारम्भ २०८०

    मा प्रकाशित

आज अर्थात २०८० सालको पहिलो दिन । आजबाट २०८० सालको सुरुवात भएको छ । यतिबेला बितेको वर्षको समीक्षा र चालु वर्षको सुखद् अपेक्षा बाक्लिरहेको छ । हरेको वर्ष यो थिति चलिरहन्छ नै । दिन, हप्ता, महिना हुँदै हरेक वर्ष फेरिने वर्षले नयाँ उत्साह, नयाँ उमङ्ग, नयाँ सोंच र नयाँ योजना लिएर आउँछ । व्यक्तिका सोंच र योजना एउटा पाटो हो तर सरकारले बनाउने योजना, सोंच, कार्यशैली, कार्यान्वयन अर्को पाटो हो र सरकारको योजना र प्रणले मुलुकै लागि महत्व राख्ने गर्दछन् । यसप्रति सरकार सचेत हुने मात्र होइन कर्तव्यनिष्ठ बन्न जरुरी पनि छ ।

 

आजबाट शुभारम्भ भएको २०८० सबैका लागि फलदायी बनोस् भन्ने आम नागरिकको अपेक्षा हो । २०७९ का अपूरा र अपूर्ण कार्यलाई पूर्णता दिने प्रण आजको दिनसँग जोडिने गर्दछन् । बितेको वर्ष नागरिकका लागि त्यति सुखद् रहेन । अझ भन्ने हो भने चुनावी वर्षको रुपमा २०७९ ले आफूलाई स्थापित ग¥यो । बितेको वर्षको अधिकांश समय राज्यले चुनावका लागि खर्चिनु प¥यो । जसका कारण समृद्धीका काम, जनसेवाका काम, जनाधिकारका काम, समताका काम, संरक्षण, सिर्जना र निर्माणका काम कागजी योजनाका विगुल बने, राजनीतिक दलका चुनावी घोषणापत्रका सौन्दर्य बने तर कार्यान्वयनको परिधिभित्र पस्न सकेनन् । मुलुकमा शासन व्यवस्थाको तन्त्र खुबै फेरिए, जनताका सामु आश्वासनका सगरमाथा खडा गरिए, खुशीका समुद्र निर्माण गरियो तर व्यवस्था परिवर्तनसँगै सुखदु स्वप्नका रङ खोजिरहेका जनतालाई तिनै आश्वासनको सगरमाथाबाट खसालियो, तिनै खुशीको समुद्रमा डुबाइयो । परिणामतः जनतामा राजनीतिक वितृष्णा बढ्न थालेको छ । जनता वैकल्पिक शक्तिको खोजीमा देखिएको कुरा घाम जतिकै छर्लङ्ग छ ।

 

यो वर्ष राजनीतिक मुद्दाका विषयमा सफलता प्राप्त गरेको वर्ष बन्न आवश्यक छ । संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको दुई दशकको नजिक पुग्दा समेत जनताका अवस्थामा परिवर्तन नआउनु बिडम्वना हो । देशले जितेको वर्ष बनाउन राजनीतिक दलले इमान्दारिता देखाउन जरुरी छ । हामीले चाहेको नेपाल तीन ‘स’ अर्थात सभ्य, समृद्ध र समतायुक्त हो । मुलुकलाई समृद्धको बाटोमा प्रवेश गाउन नसक्ने हो भने युवाहरुको विदेश पलायन दर ह्वात्तै बढेर जानेछ । यो दर बढ्नु भनेको राजनीतिक वितृष्णा मात्र होइन राजनीतिक भविष्य अँध्यारो पनि हो । यसतर्फ सचेत हुन यो वर्षले शासकमा सद्बुद्धि प्रदान गरोस् । वर्ष २०८० हरेक दृष्टिले शुभ र उपलब्धिमुलक बनोस् शुभकामना ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्