रामबहादुर बम्जन लगायत तीन जना विरुद्ध सर्लाही अदालतमा बाल यौन शोषणको मुद्दा – Kanika Khabar
Tuesday, August 18Nepali News Portal

रामबहादुर बम्जन लगायत तीन जना विरुद्ध सर्लाही अदालतमा बाल यौन शोषणको मुद्दा

    मा प्रकाशित

कनिका संवाददाता
असार १९, सर्लाही
लिटल वुद्ध भनिने रामबहादुर बम्जन लगायत तीन जनालाई प्रतिवादी बनाई सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीले बम्जन लगायत तीन विरुद्ध अदालतमा यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण मुद्दा दायर गरेको सर्लाही जिल्ला अदालतका श्रेस्तेदार शिवहरि पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार रामबहादुर बम्जन भन्ने रामलाल बम्जन, सर्लाहीको पत्थरकोटस्थित बोधी मार्ग दर्शन आश्रमका प्रमुख तोक्तेङ महात्मा गुरु भन्ने ज्ञानकुमार बम्जन र जेबी गुरु भन्ने जीतबहादुर तामाङ विरुद्ध मुद्दा दायर भएको हो । सो मुद्दामा बालबालिका सम्वन्धी ऐन अनुसार प्रतिवादीहरुलाई कारवाहीको माग गरिएको छ ।

बालबालिका सम्वन्धी ऐन अनुसार मुख्य प्रतिवादी रामबहादुर बम्जनविरुद्ध १२ देखि १४ वर्ष कैद र क्षतिपूर्ति माग दावी गरिएको जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीका सहायक न्यायाधिवक्ता युवराज शर्माले बताउनुभयो । बम्जनविरुद्ध सर्लाहीको लालबन्दी नगरपालिका–१३, पत्थरकोटस्थित आश्रममा एक १८ वर्षीया बालिकालाई यौन शौषण गरेको आरोप छ । सोही आरोपमा गत माघ महिनामा पीडितको तर्फबाट सर्लाही प्रहरीमा जाहेरी परेको थियो । त्यसपछि प्रहरीले सर्लाही, सिन्धुली लगायतका आश्रममा बम्जनको खोजी गरे पनि उनी फेला परेनन् । बम्जन पक्राउ नपरेपछि प्रहरीले केही दिन पहिले अनुसन्धान प्रतिवेदन सहितको मिसिल जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो । सरकारी वकिल कार्यालय मार्फत बम्जनविरुद्ध बिहिवार अदालतमा मुद्दा दर्ता भएको हो । अब प्रतिवादी बम्जन ३५ दिनभित्र अदालतमा उपस्थित हुन सक्ने छन् ।

सो अवधीमा उनी आफै अदालतमा उपस्थित नभए पक्राउ पूर्जी जारी हुने छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्