कनिका संवाददाता
असार १९, सर्लाही
लिटल वुद्ध भनिने रामबहादुर बम्जन लगायत तीन जनालाई प्रतिवादी बनाई सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीले बम्जन लगायत तीन विरुद्ध अदालतमा यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण मुद्दा दायर गरेको सर्लाही जिल्ला अदालतका श्रेस्तेदार शिवहरि पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार रामबहादुर बम्जन भन्ने रामलाल बम्जन, सर्लाहीको पत्थरकोटस्थित बोधी मार्ग दर्शन आश्रमका प्रमुख तोक्तेङ महात्मा गुरु भन्ने ज्ञानकुमार बम्जन र जेबी गुरु भन्ने जीतबहादुर तामाङ विरुद्ध मुद्दा दायर भएको हो । सो मुद्दामा बालबालिका सम्वन्धी ऐन अनुसार प्रतिवादीहरुलाई कारवाहीको माग गरिएको छ ।
बालबालिका सम्वन्धी ऐन अनुसार मुख्य प्रतिवादी रामबहादुर बम्जनविरुद्ध १२ देखि १४ वर्ष कैद र क्षतिपूर्ति माग दावी गरिएको जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीका सहायक न्यायाधिवक्ता युवराज शर्माले बताउनुभयो । बम्जनविरुद्ध सर्लाहीको लालबन्दी नगरपालिका–१३, पत्थरकोटस्थित आश्रममा एक १८ वर्षीया बालिकालाई यौन शौषण गरेको आरोप छ । सोही आरोपमा गत माघ महिनामा पीडितको तर्फबाट सर्लाही प्रहरीमा जाहेरी परेको थियो । त्यसपछि प्रहरीले सर्लाही, सिन्धुली लगायतका आश्रममा बम्जनको खोजी गरे पनि उनी फेला परेनन् । बम्जन पक्राउ नपरेपछि प्रहरीले केही दिन पहिले अनुसन्धान प्रतिवेदन सहितको मिसिल जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो । सरकारी वकिल कार्यालय मार्फत बम्जनविरुद्ध बिहिवार अदालतमा मुद्दा दर्ता भएको हो । अब प्रतिवादी बम्जन ३५ दिनभित्र अदालतमा उपस्थित हुन सक्ने छन् ।
सो अवधीमा उनी आफै अदालतमा उपस्थित नभए पक्राउ पूर्जी जारी हुने छ ।