सम्पादकीय : काङ्ग्रेसको आन्तरिक क्षयीकरण र भविष्य – Kanika Khabar
Friday, March 29Nepali News Portal

सम्पादकीय : काङ्ग्रेसको आन्तरिक क्षयीकरण र भविष्य

    मा प्रकाशित

प्रमुख सत्तारुढ दल नेपाली काङ्ग्रेसमा पछिल्लो राजनीतिक उतार चढावसँगै केही हलचल मच्चिएको छ । अलि बेसी गुटउपगुटमा गिजुलिएको काङ्ग्रेसको भ्रष्टाचार तथा शक्ति दुरुपयोगका परिणामहरु यतिबेला सतहमै आएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री तथा पार्टीमा आफूलाई प्रभावशाली नेताका रुपमा दर्ज गर्दै आएका बालकृष्ण खाँण पक्राउ परेसँगै पार्टीभित्र एक प्रकारको हलचल मच्चिएको हो । यता खाँण मात्र पक्राउ परेनन् पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु देउवा राणाका विषयमा समेत कुरा उठेपछि पार्टीमा ठुलै तरङ्ग उठेको छ ।

खाँण दोषी आरोपित भई पक्राउ परे पनि उनलाई पार्टीले जिम्मेवारीबाट नहटाउनु, निलम्बन नगर्नुमा पनि रहस्य रहेको राजनीतिक पङ्क्तिमा विश्लेषण हुन थालेको छ । एक पत्रकार सम्मेलन गरी पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले खाँणले आफूलाई निर्दोष हुने दावी गरिरहेका कारण जिम्मेवारीबाट नहटाइएको स्पष्टीकरण दिए पनि त्यो लाज छोप्न प्रयोग गरेको टालोभन्दा बढी मान्न सकिदैन । यता आरजुसमेत यो विषयमा मुछिएको आशङ्का रहिरहेको बेला अडियो प्रकरण बाहिरिएपछि पार्टीभित्र देखिएको तरङ्ग भयानक बन्दै जान थालेको छ । पार्टीभित्र पनि एक समूहले खाँणलाई निलम्बन गर्नुपर्ने आवाज उठाइरहँदा नेतृत्व मौन रहनुले पार्टी क्षयीकरणको सम्भावना बढेर गएको छ । आज मङ्गलबार पार्टी प्रवक्ता डा. महतले पत्रकार सम्मेलन गरी नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीको धारणा राखेका छन् । खाँण आरोपित मात्र भएको र अझै दोषी ठहर नभएको बताएका छन् । प्रवक्ताले आयोजना गरेको पत्रकार सम्मेलनको गाम्भीर्य तथा उद्देश्य सर्वसाधारण नागरिकसम्म कत्तिको बोधगम्य शैलीमा पुग्छ र पार्टीले आफ्नो विरासतलाई जोगाउन सक्छ भन्ने अर्को चिन्ताको विषय पनि बनेको छ । आजको पत्रकार सम्मेलनमा भनिएझैं सर्वसाधारण नागरिकसम्म ती अभिव्यक्ति विश्वासिला बनेर जान सक्लान् त ? प्रश्न आफैतिर तेर्सिन्छ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझि दोषी आरोपित भएलगत्तै पार्टीले निलम्बन गरेर जनतासम्म एउटा विश्वास कायम राख्ने प्रयास ग¥यो तर काङ्ग्रेसले यो हिम्मत जुटाएन । परिणामतः खाँणको निलम्वनसँगै शरणार्थी प्रकरणको पार्टीभित्र अझ ठुलो पहिरो जान सक्ने भएकाले खाँण निलम्वनमा पार्टी सुस्ताएको विश्लेषण राजनीतिक वृत्तमा बाक्लिन थालेको छ । अब काङ्ग्रेसले राजनीतिक वृत्तमा बाक्लिएको विश्लेषणलाई चिर्न सक्ने आधार जुटाउन सकेन भने पार्टीको आन्तरिक क्षयीकरणसँगै धमिलो भविष्य निकट रहन्छ ।

आज मङ्गलबार नै पार्टीका महामन्त्री गगन थापाले भुटानी शरणार्थीका विषयमा आफ्नो धारणा पनि सार्वजनिक गरेका छन् । महामन्त्री थापाले धारणा सार्वजनिक गर्दै नक्कली भुटानी शरणार्थी प्रकरण र भ्रष्टाचारमा मुछिएकालाई पार्टीबाट निलम्वन गर्नै पर्ने बताएका छन् । महामन्त्री थापाको धारणामा पार्टीको भविष्य खोजिएको छ, पार्टीप्रतिको जनविश्वासलाई कायम राखिएको छ । काङ्ग्रेसभित्र देखिएकै मुख्य समस्या भनेको पार्टी सुध्रने कि कमजोरी लुकाउँदै, ढाकछोप गर्दै शक्तिको दुरुपयोग गरेर भए पनि व्यक्ति बचाउ गर्ने रहेको छ । व्यक्ति बचाउ गर्दै जाँदा पार्टी क्षयीकरणको मार्गमा जाने निश्चितप्रायः छ ।

यो चिन्ता काङ्ग्रेसका तेस्रो पुस्ताका नेतासम्म बाक्लिएको छ । आज मङ्गलबार नै संस्थापन इतरका तेस्रो तहका नेताहरुले पत्रकार सम्मेलन काङ्ग्रेस रुपान्तरण अभियान घोषणा गरेका छन् । सात प्रदेशसहित डायस्पोरामा समेत रुपान्तरणको मुद्दा लिएर बहस र अन्तर्क्रिया गरिने पत्रकार सम्मेलनमा बताइएको छ ।
सात प्रदेशमा गरिने बहस तथा अन्तर्क्रियाका लागि संयोजक समेत तोकिएको छ । कोशीमा गुरुराज घिमिरे, मधेशमा रञ्जित कर्ण, बागमतीमा मधु आचार्य, गण्डकीमा देवराज चालिसे, लुम्बिनीमा डा. गोविन्द पोखरेल, कर्णालीमा भूपेन्द्रजंग शाही र सुदूरपश्चिममा भरत खड्का संयोजकको भूमिकामा छन् ।

महामन्त्रीको सार्वजनिक धारणा, संस्थापन इतरका तेस्रो पुस्ताका नेताहरुको पत्रकार सम्मेलन र काङ्ग्रेस रुपान्तरण अभियानको घोषणाले पार्टी पङ्क्तिका थुप्रै असहमति र असन्तुष्टिलाई पुष्टि गर्दछन् । काङ्ग्रेस अहिलेकै शैलीमा चल्ने हो भने सम्भवतः आगामी निर्वाचन उसका लागि अझ खुम्चिदै जाने बाध्यताका रुपमा रहनेछ । पार्टी आन्तरिक क्षयीकरणकै बाटोमा लैजाने कि शुद्धिकरण तथा सुदृढीकरण गर्दै पार्टीको भविष्यलाई फराकिलो आयाम दिने भन्ने चुनौति काङ्ग्रेसका लागि खडा भएको छ । व्यक्ति बचाउको मार्ग खोज्ने कि पार्टी बचाउको मार्ग खोज्ने काङ्ग्रेसको भविष्य त्यसैमा रहन्छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्