पशुपतिनाथबाट सुनको जलहरी जोख्नका लागि निकालियो – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

पशुपतिनाथबाट सुनको जलहरी जोख्नका लागि निकालियो

    मा प्रकाशित

काठमाडौँ, १० असार ।
पशुपतिनाथ मन्दिरको सुनको जलहरी जोख्नका लागि निकालिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिनाथ मन्दिरको सुनको जलहरी जोख्नका लागि निकालेको हो ।

अख्तियारको टोलीले आज आइतवार बेलुकी पशुपतिनाथ मन्दिरको जलहरी बाहिर निकालेर जोख्न थालेको हो । मन्दिरबाट निकालिएको जलहरीलाई सेतो कपडाले छोपेर मन्दिर परिसरमा राखी जोख्ने काम भइरहेको छ । झन्डै एक क्विन्टलको जलहरी विभिन्न भाग मिलाएर जडान गरेकाले टुक्रा–टुक्रा पारेर मात्रै निकाल्न सकिन्छ ।

नाप जाँचको दृश्य रेकर्डका लागि अख्तियारको टोलीले अस्थायी रूपमा सीसीटीभी क्यामरा जडान गरेको छ भने काठमाडौँ महानगरपालिकाको वडाका प्रतिनिधि, प्रहरी वृत्त गौशालाको टोली, पशुपति क्षेत्र विकास कोष र पुजारीहरूलाई स्थलमा राखिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पशुपतिनाथमा राखिएको १०८ किलोको सुनको जलहरीमा तौल र गुणस्तरको विषयमा अख्तियारमा उजुरी परेको थियो । ११ किलो कम सुन राखिएको भन्दै महालेखा परीक्षकको कार्यालयले पनि अनियमितताको शङ्का गरेको थियो ।

जलहरी राख्ने सुन खरीद गर्दा अनियमितता भएको उजुरी परेपनि अख्तियारले यो विषयमा अनुसनधान अघि बढाएको थिएन । तर गत महिना  प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिमा सुनको भनेर चाँदीको जलहरी राखेको भन्दै एमाले अध्यक्ष ओलीलाई आरोपित गरेपछि यो विषय पुन: चर्चामा आएको थियो । दाहालको भनाइ तथ्यहीन भएको भन्दै संसदको रेकर्डबाट मेटाइए पनि अख्तियारले यो विषयमा अनुसन्धान अघि बढाएको हो ।

सुनको जलहरी राख्न सरकारले नेपाल राष्ट्र बैंकबाट एक सय तीन किलो सात सय ७३ ग्राम सुन ८० करोड रुपैयाँभन्दा धेरैमा किनेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्