गोरखा । गोरखाको शहीद लखन गाउँपालिका–१ बक्राङबाट चन्दा असुली गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार रामलक्ष्मण सामुदायिक वनका सचिव रामबहादुर भुजेललाई आफूहरू नेपाल कम्युनिष्ट पार्टी माओवादीका कार्यकर्ता भएको बताउँदै डर, धाकधम्की दिई पार्टीको लेटरप्याडमार्फत चन्दा मागिएको सूचना प्राप्त भएको थियो ।
सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय गोरखाबाट प्रहरी सहायक निरीक्षक ईश्वर बाचे मगरको नेतृत्वमा खटिएको टोलीले पालुङटार नगरपालिका–७ च्याङ्लीका ३८ वर्षीय अमृत सापकोटा र मोरङको मिक्लाजुङ गाउँपालिका–९ का ३८ वर्षीय राजकुमार माझीलाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट २० हजार रुपैयाँ नगद, नेपाल कम्युनिष्ट पार्टी माओवादीको छाप एक थान, रसिद प्याड दुई थान तथा पर्चा–पम्प्लेट ५० थान बरामद गरिएको प्रहरीले जनाएको छ ।


