कनिका संवाददाता
असार २१, काठमाडौं
मेलम्ची खानेपानी आयोजनाको सुरुङमा आज पानी छोडिएपछि सरकारले मेलम्ची आयोजना नयाँ चरणमा प्रवेश गरेको जनाएको छ । सिन्धुपाल्चोकको मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउन बनाइएको २६ किलोमिटर सुरुङमा आज पानी छोडिएपछि आयोजना नयाँ चरणमा प्रवेश गरेको आज खानेपानी मन्त्रालयले मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा जनाएको हो । विभिन्न समस्या र चुनौती पार गर्दै काठमाडौंबासीको दुई दशकभन्दा लामो प्रतीक्षालाई सम्बोधन गर्ने क्रममा सुरुङमा पानी पथान्तरण गरेसँगै आजैका मितिदेखि आयोजना नयाँ चरणमा प्रवेश गरेको खानेपानी मन्त्री बिना मगरले बताउनुभयो ।
सुरुङको परीक्षणका लागि चाहिने सबै आवश्यक प्राविधिक तयारी सकिएको मेलम्ची खानेपानी विकास आयोजनाले जनाएको छ । अहिले परीक्षणका लागि प्राविधिक मापदण्डअनुसार प्रति सेकेन्ड दुइ सय ६० लिटर पानीका दरले सुरुङमा पानी प्रवाह गरिएको छ । पानी प्रवाह गर्दा २६ किलोमिटर सुरुङ भरिन करिब १५ देखि २० दिनसम्म लाग्ने प्राविधिक अनुमान गरिएको खानेपानी मन्त्री मगरले बताउनुभयो । पूर्ण भरिएको सुरुङलाई करिब १० दिन यथास्थितिमा राखिने र त्यसपछि पानी भरिएकै दरमा सुरुङ खाली गरिँदा पुन १५–२० दिन लाग्ने उहाँले बताउनुभयो । सुरुङ खाली भएपछि सुरुङको अवस्थाको पूर्ण परीक्षण गर्न सात दिन लाग्ने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । त्यसबेला केही समस्या देखिएमा समाधान गर्ने र त्यसपछि नियमित रुपमा सुरुङमा पानी छाड्ने आयोजनाका प्रमुख कार्यकारी अधिकृत तिरेश खत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार यसरी सुरुङमा नियमित पानी छाड्न सरदर दुइ महिना लाग्ने देखिएको छ । इटालियन कम्पनी सीएमसीले बीचैमा काम छाडेपछि आयोजनामा चिनियाँ कम्पनी सिनो हाइड्रोले काम गरिरहेको छ । सरकारले भनेअनुसार असारमै सुन्दरीजल आइहाले पनि उपभोक्ताले तत्कालै मेलम्चीको पानी पाउने अवस्था नहुने अनुमान गरिएको छ । मेलम्चीको पानी वितरण गर्न सहरका धेरै भागमा नयाँ लाइन जोडिएका छन् । आठवटा नयाँ ट्यांकीमा पानी पुर्यापउन ठूला पाइप जोडिएका छन् । आयोजनाको ट्याङ्की र वितरण पाइपलाइनको सफाइ एवं परीक्षण गर्न नै तीन महिनाभन्दा बढी लाग्ने अनुमान छ । चक्रपथ आसपासका एक तिहाइ क्षेत्रमा पुरानै पाइपबाट मेलम्चीको पानी वितरण हुनेछ ।
महाराजगञ्ज, धुम्बाराही, सामाखुसी, कलंकी क्षेत्रमा नयाँ पाइप राख्न बाँकी छ । पुरानो पाइपलाइन निकै पुरानो भएकाले ‘लिकेज’को समस्या पनि ठूलो छ । सरकारले आयोजनाको दोस्रो चरणको निर्माण कार्य सुरु गर्न आगामी वर्ष पाँच अर्ब ४६ करोड रुपैयाँ छुट्याएको छ ।