काठमाडौँ, २५ साउन ।
नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ केन्द्रीय समिति विस्तार भएसँगै असन्तुष्ट विद्यार्थी नेताहरु विरोधमा उत्रिएका छन् ।
नेविसंघमा नेताका भतिज, साला र आफन्त नियुक्त गरेको भन्दै असन्तुष्ट विद्यार्थी नेताहरुले समानान्तर समिति गठन गर्ने तयारी पनि गरेका छन् ।
नेविसंघको हालै मनोनित केन्द्रीय सदस्यहरूमा सक्रिय कार्यकर्ता नपरे पछि असन्तुष्ट समूहले हिजो ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय घेराउको प्रयाससहित नाराबाजी गरेका थिए । तर, उनीहरूलाई सानेपास्थित कार्यालय जान नदिए पछि आज पार्टी सभापति देउवाको निवास घेराउ गर्न लागेका हुन् ।
नेविसंघका असन्तुष्ट समूहका विद्यार्थी नेता योगेन्द्र रावलले धुम्बाराहीस्थित देउवा निवासमा घर घेराउ गरी नेविसंघ केन्द्रीय समिति सदस्य मनोनयनमा पुनर्विचार गर्न दबाब दिइने बताए ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाको सिफारिसमा सभापति देउवाले ७ सय १० जनालाई केन्द्रीय समितिमा मनोनयन गरेका छन् । उनले गरेको सो मनोयनमा स्वयं रावल पनि अटाएका छैनन् ।


