दाङ, ३० साउन ।
राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालकाे कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्ने भएकाे छ ।
कक्षा १२ काे नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको बोर्डले जनाएकाे छ ।
देशभरका एक हजार ४ सय ५७ परीक्षा केन्द्रबाट करिब ४ लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए । बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए ।
प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गरेमात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको बाेर्डले जनाएकाे छ ।
यसरी हेर्न सकिन्छ नतिजा
कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ ।
बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ ।
त्यसका लागि neb लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नम्बर मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।


