अटवारी पर्वमा लमही नगरपालिकाले दियो दुई दिन सार्वजनिक विदा – Kanika Khabar
Saturday, April 27Nepali News Portal

अटवारी पर्वमा लमही नगरपालिकाले दियो दुई दिन सार्वजनिक विदा

    मा प्रकाशित

दाङ – थारु समुदायको महान पर्व अटवारी पर्वको अवसरमा लमही नगरपालिकाले दुई दिन विदा दिने भएको छ । नगरपालिकाले आज जारि गरेको सुचनामा यहि असोज ७ र ८ गतेका दिन स्थानीय विदाको रुपमा लमही नगरपालिकाको मातहतमा रहेका सरकारी कार्यालय, शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरुमा विदा दिने जनाईएको छ ।

अटवारी पर्व थारु समुदायको माघीपछिको दोस्रो ठूलो पर्व हो । आइतबार दिनभर व्रत बसेर दाजुभाइले साँझ पूजापाठ गरेर फलफूल र अन्दीको रोटी खाने गर्दछन् । वर्त बसेका बर्तालुहरुले फलफूललगायतका पकुवान खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग राख्ने प्रचलन छ । त्यसरी छुट्याएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीको रूपमा उपहार दिने चलन छ ।

अटवारीको दोस्रो दिन अर्थात सोमबार बिहान पतौला खरिया, खुर्मा, फुलौरी, भात, गब्दा र तामासहितका तरकारी र सात प्रकारको विभिन्न परिकार तयार गरी ब्रतालुहरूले नुहाइधुवाइ पूजापाठ गर्ने गर्छन् । पूजापाठपछि ब्रतालुले आफ्नो खानाको परिकारबाटआधा भाग दिदीबहिनाका लागि छुट्याएपछि भोजन गर्ने चलन रही आएको छ । सोमबार बिहानको भोजनलाई थारु भाषामा ‘फ्राहार’ भनिन्छ ।

अघिल्लो दिन (आइतबार) र दोस्रो दिन (सोमबार) ब्रतालु दाजुभाइले आफूले खानुपूर्व दिदीबहिनीको लागी फलफूल तथा खानाका परिकारबाट छुट्याएको परिकार विवाहित छोरीचेलीबेटीलाई यसै दिन दिने चलन छ । छोरीचेलीलाई वर्षभरिको सम्झना स्वरूप पठाउने कोसेलीलाई ‘अग्रासन’ भनिन्छ ।

विवाहित छोरीचेलीले दाजुभाइहरूले आफ्नो भागबाट दिदीबहिनीका लागि राखेको खानाको परिकार लगायतका पकवानसहितको कोसेली आउला भनेर दिदीबहिनी दाजुभाइ आउने ब्यग्र प्रतीक्षामा बसेका हुन्छन् । वर्षभरि माइतीमा आउन नपाएका दिदीबहिनीहरु यसै पर्वको अवसरमा दाजुभाइसँग भलाकुसारी गर्ने मौका पाउँछन् । अट्वारी पर्व पश्चिम नेपालको कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ जिल्लाका थारू समुदायले मनाउने गरेका छन् ।

दाङका थारु राजा दंगीशरणको राज्यमा शत्रुले आक्रमण गरेको बेला महाभारतका पाँच पाण्डव मध्ये भिमले लडाई लडेर थारु राज्यलाई सुरक्षा गरेको सम्झनामा अट्वारी पर्व मनाउने प्रचलन रहिआएको किवदंती छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्