निबन्ध : म, जिन्दगी र जागिर  – Kanika Khabar
Friday, February 23Nepali News Portal

निबन्ध : म, जिन्दगी र जागिर 

    मा प्रकाशित
उफ ! जिन्दगी तेरो कुनै ठेगान छैन । न त मेरो नै कुनै ठेगान छ । पहिला कसको ठेगान हुनुपर्ने ? तेरो कि मेरो ? मैले तँलाई घिसार्ने हो कि तैले मलाई लतार्ने हो, त्यो पनि + बोध छैन मलाई । फगत तेरो र मेरो बिच एउटा सान्निध्य साइनो छ । त्यो साइनो पनि कहिले बाक्लो, निकट र रसपूर्ण लाग्छ त कहिले पातलो÷फितलो, दूर अनि निरसपूर्ण लाग्छ । म तँलाई सुन्दर बनाउने ध्याउन्नमा घोरिइरहन्छु, तँ के गर्छस् त्यो मलाई थाहा छैन । लाग्छ मलाई जस्तो पीडा तँलाई छैन । किनकि तँ पीडामुक्त छस् । सारा पीडा मैले भोगेको छु, मैले बोकेको छु, सारा समस्या मैले झेलेको छु तेरो नाममा ।  तेरै सुर्तामा मैले आधा जीवन बिताइसकें ।
  जिन्दगी,  मैले तँलाई धेरै चोटी बोलाएँ, मैले तलाई धेरै पटक गुहारें । तर, तँ अन्धो रहेछस्, तँ बहिरो रहेछस् । न त मैले बोलाएको सुनिस् न त मैले गुहारेको थाहा पाइस् । लाग्छ, त्यसैले पनि तेरो र मेरो दूरी बढ्दै गएको छ । तर, दूरी बढ्यो पनि कसरी भनौं, तँलाई पो मेरो वास्ता छैन, म त चाहेर होस् या नचाहेर पनि हमेसा हमेसा तेरै साथमा छु । फरक यति हो तँ मेरो साथमा नहोलास्,  म भने तेरै साथमा रहिरहेको छु, जन्मेदेखि अहिलेसम्म, अनि रहिरहनेछु जीवनभरि ।
तँलाई थाहा छ जिन्दगी, तेरो र मेरो बिचमा बडो अनौठो सम्बन्ध छ । तैले कहिल्यै सोचेको छस् ? अहँ, सायद छैनस् होला । किन सोच्नु प¥यो ? जसको तँलाई आवश्यकता नै छैन । बेकारमा नदुखेको टाउको किन दुखाउनुप¥यो, होइन र ? हुन त सोच्नको लागि त दिमाग चाहिन्छ । दिमाग हुनको लागि मन हुनुपर्छ । तँसँग न त मन छ न त दिमाग नै छ । इमान्दारपूर्वक भन्ने हो भने म तँलाई सुखी बनाउने दौडधूपमा नै आफ्नो सारा समय खर्चदै आएको छु । तेरो सुखले मेरो सुखको सिर्जना गर्छ । तैले सुखको गर्भधारण गरिस् भने न हो मैले खुशी व्यक्त गर्ने । यो सृष्टिले, प्रकृतिले तँलाई बलियो बनायो, मलाई कमजोर बनायो । जहाँ तेरो विजय सुनिश्चित छ, मेरो हार सुनिश्चित । यो शाश्वत कुरा हो, तैपनि म प्रकृतिमाथि विजय पाउने होडमा दौडिरहेको छु । मैले तँलाई जित्न सक्दिनँ, तँ मलाई जित्न दिदैनस् । त्यो दुबैलाई थाहा छ । तैले धर्मशास्त्र पढेको छस् ? सायद छैनस् होला, पढेको भए सायद कहिलेकाहीं हार स्वीकार गर्थिस् होला, हार स्वीकार नगरे पनि परिणाममा सन्तुलन त ल्याउँथिस् होला । किनकि हाम्रो धर्म शास्त्रमा देवताले आफ्ना निकट सत्रु दानवलाई पनि शक्तिशाली वरदान दिएका छन् ।
हेर, जिन्दगी आज म तँलाई गूढ कुरा भन्छु । तेरो र मेरो बिचको सम्बन्ध कायम गर्ने भनेको नै जागिर हो । तँलाई थाहा छैन जागिर भनेको । तर मैले राम्रोसँग बुझेको छु जागिरलाई । आखिर जागिर ‘जा’ अनि ‘गिर’ हो, जतिसुकै गिरे पनि ‘जा’ ‘गि’ ‘र’ हो । मतलव जागिरहनु हो । अझ तँलाई स्पष्ट रूपमा भनूँ जब ‘जा’ ‘गि’ ‘र’ कोे ‘गि’ गिर्छ तब जागिर ‘जार’ हो । अब तँ आफै भन त यो जाररूपि जागिर कस्तो होला ? तँलाई थाहा छ म प्राणीमा श्रेष्ठ प्राणी मानव हुँ । म चेतनशील प्राणी पनि हुँ । तर मेरो श्रेष्ठता र चेतनशीलतालाई जागिरको रापले ‘जार’ को भुप्रोमा दिनानुदिन खाग बनाउँदै लगेको छ । म जागिर खाएर तँलाई सुख दिने चेष्टा गर्छु तर जागिर उल्टै मलाई खाएर समाप्त गर्न खोजिरहेको छ, अनि मसँगै तँलाई पनि । यही जागिर हो तेरो र मेरो बिचको सम्बन्धमा दरार पैदा गर्ने ।
एकछिन पख जिन्दगी, अब म तेरो र मेरो सम्बन्धमा ‘चुँडिएको तुइन’ जागिरलाई सम्बोधन गर्छु । जागिर तँ सस्तो छस् कि महङ्गो छस्, तेरो मूल्य अझैं मैले बुझ्न सकेनँ । जीवनको अर्थ बोध भएदेखि नै मैले तँलाई खोजिरहेको छु । तर भेट्न सकेको छैन । तँ मेरो लागि क्षितिजजस्तै लाग्छस् । टाढाबाट नजिकै छस्, तर अहोरात्रको दौडाइमा पनि पत्तो लाग्दैनस् । कस्तो अचम्म, तँ त शिशिर र वसन्तको कथामा शिशिरले पछ्याएको आगोको उज्यालो जस्तो छस्, दृश्यले नजिक दूरीले दूर । तर, तँ अनि शिशिरले पछ्याएको अनलमा धेरै फरक छ । एउटै वाक्यमा भनूँ है त, शिशिरले पछ्याएको अनलले शिशिरलाई राजा बनायो तर मैले पछ्याएको तैले त मलाई रङ्क बनाइस् । तेरो मूल्य पनि बुझिनसक्नु छ । दृश्यमा तँ ज्यादै सस्तो छस्, प्राप्तीमा तँ ज्यादै महङ्गो छस् । दृश्यमा तँ अखवारका पानामा छस्, टेलिभिजनको काँचको पर्दामा छस् अझ भनौं श्रव्यमा रेडियोको तरङ्गमा छस् । तर प्राप्तीमा तँ कहाँ छस् कहाँ ? तेरो प्राप्तीमा म ग्रिसको दन्त्य कथाको अभिशप्त सिसिफसजस्तै बनेको छु  ।  न त म तँलाई भेट्न सक्छु, न त म तँलाई छोड्न सक्छु । तँ त बडो अचम्मको रहेछस् ।  साथ नभएर पनि साथै भएजस्तो, दूर रहेर पनि समीप रहेजस्तो, समीप रहेर पनि दूर रहेजस्तो ।
ए जागिर ! तँलाई भेटाउन म अभिभावक÷गुरुले देखाएको बाटोमा हिंडें, अनि हिंडिरहेको छु । तर, अहिले म अलमलमा छु । अभिभावक÷गुरुबाट मलाई गलत मार्ग निर्देशन गरियो या तैले बसाइ सरिस् । मैले बुझेको त तँ योग्यता, मेहनत, परिश्रम, इमान्दारी, लगनशीलता, स्वाभिमान आदि आदिमा हुन्छस् तर त्यहाँ त तेरो उपस्थिति नै पाएनँ । तँलाई खोज्न, पाउन म त्यतै त्यतै हिंडें । तर उपलब्धी शुन्य । थाहा छ, तेरो खोजीमा मैले धेरै जोर जुत्ता, चप्पल फटालेको छु, धेरै खुट्टा खियाएको छु, धेरै ठाउँ ङिच्च दाँत देखाएको छु, धेरै विन्तीभाउ गरेको छु अनि ऋण बोकेको छु । आदर्शरूपि सिद्धान्तमा मेरो योग्यताको प्रमाणपत्रसँग तेरो सान्निध्य साइनो हुने कुराले मेरो मस्तिष्क भरेको थिएँ तर व्यवहारमा त्यसको कुनै अर्थ पाइनँ । मैले बुझेभन्दा तँ फरक रहेछस्, मैले सोंचेभन्दा तँ भिन्न रहेछस्, मैले देखेभन्दा तँ दूर रहेछस्, मेरो औकातभन्दा तँ महङ्गो रहेछस् । साँच्चै तँ त राजनीतिमा रहेछस्, नेताको खल्तीमा रहेछस्, नातावादमा रहेछस्, चाकरी र चाप्लुसीमा रहेछस्, धम्की र त्रासमा रहेछस्, नोटका बोटमा रहेछस् । इमान्दारी साथ भन त जागिर तँलाई पाउनका लागि हामीजस्ताका दिन कहिले आउँछन् ? किनकि मैले जवाफ दिनुछ मेरो जिन्दगीलाई । मसँग कुनै जवाफ छैन । जिन्दगी  तँ मसँग कुनै गुनासो नगर किनकि आज जागिर मेरो पहुँचमा छैन । जबसम्म जागिर मेरो पहुँचमा हुँदैन तबसम्म म तँलाई सुखी र खुशी तुल्याउन सक्दिनँ । आज जागिर चुनावी सरगर्मी चढेको नेताझैं व्यस्त छ । फरक यति हो नेता जनताका घरदैलोमा पुग्छन् तर जागिर राजनीति, नेता, चाकरी, चाप्लुसी, नोटकै वरिपरि घुमिरहेको छ । तैपनि म निराश छैन, मेरो आशा मरेको छैन । म विश्वस्त छु, चुनाव जितेपछि जनता बिर्सने नेताहरू अर्को चुनावी वहावसँगै जनताका घरघरमा फर्केजस्तै एकदिन जागिर पनि अबश्य मजस्ताको पोल्टामा फर्किनेछ । जिन्दगी तँसँग मेरो एउटै प्रार्थना छ, त्यतिन्जेलसम्म मलाई जागिरका लागि हरेक कोणबाट तन्दुरुस्त राख्नू । जय जागिर !
"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्