विश्वमान चित्रमा तिमिलाई खोज्न सिकाउदासिकाउदै
म आफुलाई भेट्टाउन नसक्ने भएछु।
तिमीलाई गणितका सुत्रहरु बुझाउदा बुझाउदै
म आफ्नो जिन्दगीको सुत्र नै बिर्सिसकेछु
म तिमीलाई विज्ञानको चमत्कार सुनाउँदा सुनाउँदै
आफ्नो जीवनको विज्ञान भुलिसकेछु
म तिमीलाई इतिहास पढाउदा पढाउदै
म आफ्नो नाम, थर र वतन बिर्सिसकेछु
अनि तिमीलाई समयको महत्त्व बताउँदा बताउँदै,
थाहा छ तिमीलाई,
मेरो घाँटीको क्यान्सर भएको एक वर्ष
ढिलो थाहा पाउँदा ,
मेरो दृष्टि कमजोर भएको दुई वर्षपछि मात्र चाल पाउँदा,
मेरो श्रवणशक्ति गुमेको तिमीले मलाई दोहोर्याएर
सवाल गर्दा पनि उत्तर नदिदा,
हुन त तिमी भन्दै थियौ, मेरो स्वर भन्दा तिम्रा सहपाठीहरुको
आवाज चार गुणा बढी थियो
तर पनि हेरन,
म कतै समयमा नपुग्ने भैसकेछु
फेरि यस्मा मैले तिमीलाई दोषारोपण गरेको होइन
मैले तिमीलाई सभ्यताको पाठ सिकाउदा सिकाउदै
म समाजमा छु, म समाजको अङ्ग हँु,
मेरो समाज विभिन्न रीतिरिवाज, कला संस्कृति, भेषभुषाले
सुसज्जित छ
मैले यस्को संरक्षण र सम्बद्र्धन गर्नुपर्छ भन्ने
मेरो सभ्यता बिर्सिसकेछु
मैले तिमीलाई
परिवार र पारिवारिक सम्बन्ध, माया, ममता
र पारिवारिक दायित्व सम्झाउदा सम्झाउदै
म कुन बेला एक्लो भैसकेछु
मैले तिमीसँग अनुशासनको व्याख्या गर्दा गर्दै
प्रकृतिको अनुशासन भङ्ग गरिसकेछु
मैले तिमीलाई नम्रताको परिभाषा सिकाउदा सिकाउदै,
मेरो दिलमा कतै केही नउम्रने गरी,
केही नफुल्ने गरी, नफल्ने गरी,
अनि मेरो पनि हृदय छ भनी
कसैले सोच्न नसक्ने गरी,
म कुन बेला रुखो भैसकेछु
मैले तिमीलाई सहनशीलताको अर्थ बुझाउँदै गर्दा
म यति सहनशील भएछु कि
मेरा जन्मदाताले मलाई सदाका लागि छोड्दा पनि
बालक जस्तै ह्व्वा ह्व्वा डाको छोडी नरुँदा
म कठोर भएछु या सहनशील
आफन्त, नाता गोताले गलहत्याउदा,
समाजका टाठा बाठा, सम्भ्रान्त अनि सत्तासिनहरु देखि
भद्र भलाद्मीहरुले पनि निमुखो देखेर हेप्दा,
मैले एक थोपा आँसु नझार्दा,
कसैसँग बिन्ती भाउ नचढाउदा,
बडो घमण्ड गर्दोरहेछ,
‘जाबो शिक्षक’
मैले कमाएको उपमा
स्वाभिमानी, म शिक्षक ।