३०० वर्ष पुरानो पोखरीले पायो नयाँ जीवन – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

३०० वर्ष पुरानो पोखरीले पायो नयाँ जीवन

    मा प्रकाशित
रासस
असार २८, भक्तपुर ।
तस्बिर: रत्न श्रेष्ठ/रासस

साँझ ढल्किँदै थियो। वरिपरिको बत्तीको उज्यालोले पोखरी चम्किरहेको थियो। बाँसुरीको मनमोहक धुनले सन्ध्याकालीन माहोललाई उत्सवका रूपमा परिणत गरिरहेको थियो।

बत्तीको उज्यालोले चम्किएको पोखरीमा राति पनि दुईवटा डुंगा चलिरहेका थिए। पोखरीभित्र सीमित मानिस रहे पनि वरिपरि स्थानीयवासीको बाक्लो उपस्थिति थियो।

मध्यपुरथिमि नगरपालिका–४ मा रहेको तीन सय वर्ष पुरानो ऐतिहासिक निगु पुखुः अर्थात् दुई पोखरीमध्ये दक्षिणतर्फको पोखरीमा शनिबार साँझको उद्घाटन सत्रमा देखिएको दृश्य हो यो।

थिमि बोडेको कमलपोखरी र याता पोखरीको पानी आउने गरी करिब ३०० वर्षपहिले गंगा महारानीले सिँचाइ, आगलागी एवं पानीको स्रोतका लागि ‘निगु पुखुः’ निर्माण गराएकी थिइन्। पुनर्निर्माण गरिएको उक्त पोखरी मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले उद्घाटन गरेका हुन्।

विसं २०१५ मा तत्कालीन राजा महेन्द्र भक्तपुर आउँदा स्वागत गर्न पानी निकालेपछि दुईपोखरी घाँसेमैदानमा परिणत भएको थियो। २०६५ सालमा नगरपालिकाले १० लाख रूपैयाँ खर्चमा फलामे बार लगाई संरक्षणको प्रयास गरे पनि केही वर्षयता यो पोखरी मंसिरमा धान सुकाउने र अन्य समय केटाकेटी खेल्ने मैदानका रूपमा परिणत हुँदै आएको थियो।

नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा ५० लाख रूपैयाँ बजेट विनियोजन गरी निरञ्जन श्रेष्ठको अध्यक्षतामा गठन भएको पुनर्निर्माण तथा गुरुयोजना उपभोक्ता समितिमार्फत पुनर्निर्माण सुरू गराएको थियो। कुल १५ करोड लागतमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। चालू आव ०७६/७७ मा १ करोड २५ लाख र बागमती प्रदेशले ५० लाख बजेट विनियोजन गरेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए। दक्षिण तर्फका पोखरीको पुनर्निर्माण सकिएको र उत्तर तर्फको ठूलो पोखरीको पुनर्निर्माण कार्य धमाधम भइरहेको उनले बताए।

पोखरीको चारैतिर माः अप्पा र दाची अप्पाः (इँटा) मा चुना सुर्कीको प्रयोग गरी पर्खाल लगाइएको छ भने चारैतर्फ कलात्मक ढोका राखिएको छ। पोखरीमा तल कालिमाटी, बीचमा पाङ्गो माटो र माथि पुनः कालीमाटी गरी १५ इञ्च माटो र त्यसमाथि इँटा बिछ्याएर पानी भरिएको छ।

यस प्रविधिले पोखरीमा पानी नसुक्ने जानकारी दिँदै नगरप्रमुख श्रेष्ठले स्थानीय इनाय टोलको राजगणेशदेखि दिगु भैरव मन्दिरसम्मको आकाशेपानी संकलन गरी प्रशोधन गरेपछि पोखरीमा खसाल्ने योजना रहेको बताए।

दुई पोखरी परिक्रमा गर्न मिल्ने गरी पैदलमार्गमा आठवटा फल्चा अर्थात् पाटी निर्माण गरिँदैछ।

कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष कुमार श्रेष्ठले दुईपोखरी क्षेत्रलाई नगरको प्राचीन एवं ऐतिहासिक संस्कृतिको प्रदर्शनस्थल एवं पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने जानकारी दिए। मध्यपुर थिमिभित्रका ऐतिहासिक सम्पदाको संरक्षण एवं जिर्णोद्धार गर्दै ओझेलमा परेको क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा अगाडि बढाउने बताए।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्