दीपाजी राजेशलाई ‘जज’ कि ‘आदर’ ? – Kanika Khabar
Thursday, March 28Nepali News Portal

दीपाजी राजेशलाई ‘जज’ कि ‘आदर’ ?

    मा प्रकाशित


राजेश हमाल महानायक हुनुहुन्छ र ……? कस्तो हाँस्यास्पद अभिव्यक्ति । दीपाजी यस्तो अभिव्यक्तिले तपाईं मेरो नजर र आदरको उचाइँबाट नमजाले चिप्लिनुभयो । सायद अन्य दर्शकको नजर र आदरबाट पनि आफ्नो आधार गुमाउनुभयो होला । अँ साँच्ची यस्तो अभिव्यक्ति अभिव्यक्त गर्न सक्ने तागत तपाईमा कसरी आयो होला महोदय ? एक दुई वटा फिल्म दर्शकको माया र सद्भावले चल्यो भन्दैमा यसरी अन्धउचाईको पराकाष्ठामा अनमत्त हुन मिल्छ र ? यसले तपाईको बौद्धिकतामा नै प्रश्न चिह्न खडा गरेको मात्रै छैन मजस्तै करोडौँ दर्शकलाई तपाईंको बौद्धिकताप्रति दया लागेको हुनुपर्छ सायद । किनकि नेपाली सिने जगतमा एउटा युग खडा गर्ने राजेश हमालमा यस्तो घमण्डको छिटासम्म नि कहिले देखिएको छैन । यो आदर्श र व्यवहार तपाईंजस्ता कलाकारका लागि झन बढी अनुकरणीय हुनु पर्ने हो ।

राजेश हमालको लगनशीलता, अनुशासन र परिश्रमले नै उहाँलाई महानायक बनाएको हो । उहाँले महानायकको उपाधि किन्नुभएको होइन दर्शक श्रोताको माया, ममता र विश्वासले पहिराइदिएको उपाधि हो । राजेश हमाल एउटा मात्र यस्तो व्यक्ति हो, जो करोडौँ दर्शक, श्रोताको मन मुटुमा धड्कन सफल भएको व्यक्ति अनि युगौंयुगसम्म धड्किरहने व्यक्ति पनि हो ।
कुनै समय यस्तो थियो कि राजेश हमालको फोटो मात्र पोस्टरमा राखेपछि त्यो फिल्मले मजाको विजनेस गर्दथ्यो । त्यही तस्बीरको भरमा हलमा दर्शकहरुको भीड लाग्ने गर्दथ्यो र अझैं पनि लाग्दछ । अढाई दशक लामो समय जसले नेपाली चलचित्रको क्षेत्रमा अनवरत खटिरहेको र सिने जगतलाई मान सम्मान गरिरहेको व्यक्ति हो, राजेश हमाल । कति कलाकारहरु विदेश पलायन भए, तर नेपाली सिने बजारको उन्नयनमा अनवरत खटेर यो क्षेत्रलाई व्यवसायिक र विश्वासको क्षेत्र बनाउन लागिपर्नुभयो । अन्यथा, भिसा त राजेशलाई जुन देशले पनि दिन्छ । यो राजेश हमालको त्याग मात्र होइन नेपाली सिने जगतप्रतिको माया हो, नेपाली स्वाभिमानीको दृष्टान्त हो । कैयौ कलाकार खहरेजस्तै उर्लदै आए अनि खहरेजस्तै सुकेर गए । आफ्नो कर्ममा विश्वास गरेर नै सफलताको उचाई टेक्न सकिन्छ भन्ने आस्थाको प्रतिमूर्ति हो राजेश हमाल ।

आज मलाई आफ्नो निजी अनुभव सेयर गर्न मन लाग्यो । जतिबेला म चार कक्षामा पढथेँ । म फिल्मको दर्हक बनेको पहिलो फिल्म राजेश हमालकै थियो–युगदेखि युगसम्म । म मामा माइजूसँग ‘नाइट सो’ (६ देखि ९) को सो हेर्न हलमा पुगेको थिएँ । अन्य सो मा टिकट नपाएपछि बडो मुस्किलले नाइट सो को टिकट हामीले पाएका थियोँ । हलमा निकै भीड थियो । बडो मुस्किलले हलभित्र छिरेका थियौँ । केहीबेरमा फिल्म सुरु भयो । जब राजेश हमालको ‘इन्ट्री’ भयो तब दर्शक दिर्घाबाट तालीको गडगडाहट चल्यो । मलाई अहिले पनि ताजा याद छ–कृष्टि मैनालीसँगको जोडी थियो राजेश हमालको । फिल्म ‘लभ स्टोरी’ नै थियो । फिल्मको अन्त्यमा राजेश र कृष्टिले भीरबाट हाम फालेर मरेको कथा थियो, त्यही कथालाई फिल्मको अन्तिम ‘सिन’ बनाइएको थियो । बस, यही सिनले मलाई धेरै रुवायो । म धेरै रोएँ, माइजू पनि धेरै रुनुभयो । बाहिर निस्कदा अँध्यारो भइसकेको थियो । भारी मन लिएर हलबाट घर आएँ । मनमा नरमाइलो लागिरहेको थियो । त्यो साँझ खाना पनि खाएनँ । फेरि रुन थालेँ । मामाले जिस्काउनुभयो । साँच्चिकै मरेको होइनन्, त्यो त नाटक मात्र हो । साँच्चिकै मरेजस्तो तिमी किन रोएको भान्जी ? मामा हाँस्न थाल्नुभयो । मचाहिँ रोइ रहेँ । बच्चा नै थिएँ । खोई के भयो के भयो ? साँच्चिकै मरेजस्तै लाग्यो मलाई । अनि त्यसपछि थाहा भयो कि फिल्म भनेको यस्तो हुँदो रहेछ, जहाँ कलाकारहरु मरेर पनि बाँच्दा रहेछन्, कथाले कलाकारलाई बगाउँदो रहेछ, कथाले कलाकारलाई कुदाउँदो रहेछ ।

पहिलो फिल्मले नै म राजेशको ‘फ्यान’ बनेँ । राजेश मेरो ‘द बेस्ट’ हिरो । अनि राजेशका प्रायः फिल्म नछुटाएर हेर्न थालेँ । एकपटक राजेश दाङको तुलसीपुर आउँदा घरमा झुठो बोलेर राजेशलाई प्रत्यक्ष र नजिकबाट हेर्न म तुलसीपुर पुगेको थिएँ । मलाई अहिले पनि ताजा याद छ, राजेशले लगाएको निलो सर्ट, मानिसको भीडभाड थियो । म सानो थिएँ, सानो भएका कारण त्यो भीडलाई छिचोलेर अगाडि बढ्न मलाई त्यति गाह्रो भएन । मलाई अहिले पनि याद छ, राजेशले हात हल्लाउँदै भन्नुभएको थियो – म तपाईंहरुको मायाले यहाँसम्म आइपुगेँ, तपाईंहरु मेरा भगवान हुनुहुन्छ, म मेरा दर्शकलाई कहिले पनि निराश हुन दिने छैन । राजेशका यी शब्दहरु अहिले पनि मेरा कानमा ताजा बनेर गुञ्जिरहेका हुन्छन् । उहाँ त्यतिबेला जे बोल्नुभएको थियो अहिलेसम्म पूरा गर्नु भएको छ ।

राजेशको आवाज, क्षमता, व्यक्तित्व, हेयर स्टायलले सबै दर्शक श्रोतालाई तानेको छ । सबैलाई समान व्यवहार गर्ने उहाँको बानी अनुकरणीय छ । मेरो जीवनमा राजेशको पहिलो फिल्मको एउटा दुखद संजोग रहेको छ । मामा जसले मलाई पहिलोपल्ट फिल्म हेराउनुभएको थियो, त्यो पनि राजेश हमालको, उहाँ २४ वर्षको अल्पायुमै हामीलाई छाडेर जानुभयो । अहिले पनि राजेश हमालको फिल्म हेर्दा, राजेश हमालको प्रसङ्ग चल्दा मामा मेरो मन, मस्तिष्क र आँखाभरि आउनुहुन्छ । यहाँसम्म कि तिन पाते डाँडा काटेर.… बोलको गति गुञ्जदा मलाई मामाको यादले सताउँछ, मामाको मायाले रुवाउँछ, मामाको नियास्रो छाउँछ, म राजेशका अनुहारमा मामाको झल्को पाउँछु, मामाको नियास्रो मेटाउँछु ।

दीपाश्री निरौला जीले भनेको कुरा कत्तिको जायज छ, यो त आम दर्शक श्रोता र सिनेकर्मीहरुले जज गरिरहनुभएको छ । दीपाले रजतपटमा प्रकाश सुवेदीसँग भन्नुभयो, राजेश हमाल महानायक हो र ? हजुरले बनाइदिनुभयो । म दीपालाई प्रतिप्रश्न गर्न चाहन्छु, राजेश हमाललाई महानायक हजुरले दिएको उपाधि हो र ? दीपाजी तपाईभित्र अग्रजलाई गर्ने आदर किन हरायो यतिबेला ? कुन अहम्ले तपाईलाई छोपेको छ, म अचम्मित छु । यसरी अनुजले अग्रजलाई सम्मान, इज्जत गर्न नसकेपछि कलाकारिता कसरी अगाडि बढ्छ । तपाई पनि राम्रो कलाकार हो । आफूले सम्मान पाउनका लागि अरुलाई पनि सम्मान गर्न सक्नुपर्छ । दीपाजी तपाईंभित्र सम्मानको खडेरी रहेछ, आफूभित्रको खडेरी परिपूर्ति गनुहोस् अन्यथा तपाईंको अस्तित्व पनि सकिएर जानेछ । दर्शक श्रोताले बनाएको ‘हाइट’ दर्शक श्रोताले नै घटाउँछन् । आआफ्नो ठाउामा सबै कलाकार महानायक हो, तर दर्शकको महानायक राजेश हमाल नै हुनुहुन्छ । दीपाजी राजेश हमालको जज गर्ने हैसियत अझै तपार्इंको बनेको छैन । आदर गर्ने हैसियतमा हुनुहुन्छ। आदर गर्नुहोस्, तपाईले गर्ने आदरमा नै तपाईंलाई सम्मान मिल्दछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्