सर एउटा यस्तो लेख लेख्नुहोस् जुन लेख सबै तह र तप्काका पाठकहरुको खुराक बन्न सकोस् । यही अनुरोध बारम्बार मेरो कानमा गुन्जिरहयो । म मेरो मित्रले गरेको अनुरोधलाई मूर्तरुप दिन हरेक पल कल्पनामा डुविरहेँ तर पनि कुनै विषय बस्तु नै फेला पार्न सकेनँ । मेरा धेरै दिनहरु शुन्यतामा बितिरहे गन्तव्यहीन यात्रा भएर । लेख्न अदम्य साहस बोकेर अघि बढ्न खोजँे तर अफ्सोस कुनै मेसो नै आएन । मैले यसो भनिरहँदा मेरो मित्रलाइँ लाग्न सक्छ कि मैले नलेख्ने बहाना खोजिरहेछु तर त्यसो किमार्थ होइन । जब जब म लेख्न तम्सिन्छु, मेरो मस्तिष्क खोक्रो बनिदिन्छ। लेख्नु अघि सलबलाएका स्मृतिका पानाहरु खाली भएर चुनौती दिन थाल्छन् । अनि रित्तो मस्तिष्क लिएर म टोलाएर एक्लै एकान्तमा आफूलाई धिकार्दै कल्पनामा हराइरहन्छु ।
साँच्ची अरुले लेखेका लेख पढ्दा धेरै टिकाटिप्णी गर्ने व्यक्ति म, आज आफैले लेख्न नसक्न्नुलाई लक्ष्मीप्रसाद देवकोटाको भलाद्मी भए झै महसुस गर्न पुगेको छु । सिकाईको क्रममा एउटा वालकले हिँड्न सिक्दा कति बिल्डिङ खान्छ उसलाई रत्तिभर पनि थाहा हुँदैन तथापि उसले अनवरत रूपमा हिँड्न प्रयास गरिरहन्छ र अन्त्यमा उ हिँड्न, उफ्रिन एवं कुद्न सफल हुन्छ । समयको चक्र सँगसँगै ऊ विश्व यात्रा गर्न समेत तमतयार हुन्छ । म आफूलाई अत्यन्तै निपुण विद्वान सोच्ने मानिस एक पङ्क्ति लेख्दा नलेख्दै शुन्यतामा विलिन भएर कपि कलमको ठेगान लगाएर बस्न ग्लानि नमानी लेखाइको निरन्तरता दिने साहस पनि गर्न सकेन । यदि म पनि त्यो वालक जस्तै आफ्नो लेखन प्रक्रियामा ढल्दै उठदै हिँड्दै गरेको भए आज एक स्थापित लेखक बन्ने पो थिएँ कि । यी र यस्तै मनमा खेल्ने अमूर्त शब्दहरूलाई कपि र कलमको सहयोगले मूर्तरुप दिन निकै घोचिरहे पनि यथार्थमा लेखन ज्यादै कठिन कार्य रहेछ भनेर बुझँे । कसैलाई नपर्खने समयले आफ्नो गति लिईरहेको एकपलमा फेरि ममा लेख्ने उर्जा आयो । मैले दोश्रो पटक लेख्ने हिम्मत जुटाए किन्तु मेरो लेख्ने प्रयास प्रयासमा मात्र सीमित भयो ।
चिन्तन गर्नु मन र मस्तिष्कको गन्थन मात्र रहेछ जस्तो लाग्यो । लेखन एउटा शक्तिशाली विचारको विस्फोटन गरी सिङ्गो व्राह्मण्डलाई पुनर्जीवित गर्ने एउटा जादुवी कला रहेछ । त्यसैले मानिसहरु लेखन एउटा अमृतले सजिएको आलङ्कारिक साधना हो जसले विश्वलाई फरक विचार र दृष्टिले चियाउन पलपल अभिप्रेरित गर्दछ भनी विश्वास गर्दारहेछन् । यस संसारमा जीवित पाईला टेक्नेहरु सबैमा चिन्तन गर्ने क्षमता हुन्छ तर त्यही अमुर्त चिन्तनलाई मुर्तरुपमा ढाल्न सक्ने क्षमता र कला ज्यादै न्यून व्यक्तिहरुमा हुदोरहेछ ।
विज्ञानको चमत्कारले संसारलाई आश्चर्य चकित वनाएको भए तापनि धेरै भन्दा धेरै अन्वेषण , खोज, अनुसन्धानहरुले अधिकतम जिज्ञासाहरु मेटाए पनि हाम्रा माझमा अझै पनि अनगिन्ती अनुत्तरित र अतृप्त जिज्ञासाहरु मेटाउन सकेको छैन । सायद ती नखोजिएका र नमेटिएका सवालहरुले मेरो मानसपटलमा घनचक्कर लगाईरहेका छन् । म आफूलाई असफल र वुद्दिहिन व्यक्तिको रुपमा कदापि स्वीकार्न सक्दिन । त्यसैले म आफूलाई कुनै पनि कोण र दिशाबाट असफल र असक्षम देख्दिनँ । मलाई मेरो मित्रले परीक्षा लिनलाई लेख लेख्न अनुरोध गरेनन् भनेर सोच्ने आधार पाउन पनि कठिन प¥यो । सपना जस्तै लाग्न थाल्यो मेरो उनी सङगको भेट अनि उनको अनुरोध । सोच्दा सोच्दै यस्तो लाग्यो कि उनले मलाई कुनै अनुरोधै गरेका छैनन् । मिथ्यामा म मेरो मनुस्मृतिमा हराईरहेछु । यो मेरो लेखक बन्ने फगत वाहना हो । व्यर्थमा म दुःख खेपिरहेछु ।
खनजोत नगरेको खेतमा पनि चाहिने नचाहिने झार जङ्गल उम्रन्छन भने मेरो मस्तिष्क त धेरै पटक खनिएको छ जोतिएको छ अनि विभिन्न विचारहरुको विजारोपन गरिएको छ । त्यसैले म दावाका साथ भन्न सक्छु कि मेरो मगजमा अवस्य पनि केही उम्रन्छ, झाङ्गिन्छ, फुल्छ अनि फल्छ । फल फलाउने आश अनि अभिलाशाले मलाई दिन प्रतिदिन व्यग्र बनाउदै लग्यो । म ती भर्खर अङ्कुराउन लागेका स्वप्नील विचारहरुलाई गोडमेल गर्दै मलजल गर्न थाले । मानिस आफ्नो वरपरको कुनै पनि घटना वा परिघटानाबाट विमुख भएर बाच्न सक्दैन । ती हरेक सन्दर्भहरुले मानिसलाई घेरिरहेका हुन्छन् । म पनि यस्ता कुनै पनि पलबाट अछुतो थिएन । मानिसको दिमाग बिचित्रको छ । यसले संसार हाक्न सक्छ , विश्व विजेता बन्न सक्छ, अनि केके गर्न सक्छ्, केके गर्न सक्छ । यस्ता हरेक रहस्यमय ज्ञानको खोजी र प्राप्तिका लागि हरेक मानवलाई केवल तीन चिजको आवश्यकता पर्दछ ।
पहिलो चिज प्रत्येक मानिसमा आत्मवल हुन जरुरी छ । यदि ऊसँग आत्मवल भयो भने उसले जीवनमा कुनै पनि कुरा असम्भव देख्दैन । अनि बालकको सिकाई अभ्यास जस्तै उ ढल्दै, उठदै, हिँडदै अन्त्यमा कुद्न थाल्छ सफलतामा प्राप्तिमा । दोश्रो चिज भनेको सम्पूर्ण मानिसमा नवीनतम सोच हुन आवश्यक छ । दुनियाँको कुनै पनि कुनामा बस्ने मानिसले जे सोच्छ, त्यही गर्छ, जे गर्छ, त्यही वानी पर्छ अनि जे वानी पर्छ त्यही आफ्नो चरित्र बनाई कर्म गर्न थाल्छ । तसर्थ नवीनतम सोच राख्ने हरेक व्यक्ति सफल र सुखी हुन्छ । अब तेश्रो चिज भनेको मानिसको हरेक पल अवसरको पल भनी चिन्न सक्नु पर्छ । उसको मुटुको प्रत्येक धड्कन, प्रत्येक श्वास, प्रत्येक पल, प्रत्येक पाइला र प्रत्येक दृष्टि अवसर बोकेर पछ्याईरहेका हुन्छ्न । हरेक मानवलाई कुनै चिजको जरुरी छ भने उसले केवल यी अवसरहरुको सकारात्मक ढङ्गले रचनात्मक शैलीमा अवलम्बन गर्न जरुरी छ ।
दुनियाँमा यी तीन चिजको धनी मान्छे जो कोही पनि सुकरात बन्न सक्छ, बुद्ध बन्न सक्छ, माहत्मा गान्धी बन्न सक्छ, साम्राज्य विजेता बन्न सक्छ , विश्व विजेता बन्न सक्छ, ब्राह्मण्ड विजेता बन्न सक्छ अनि समय विजेता बन्न सक्छ ।
कल्पनाका सीमाहीन सागरमा डुबुल्की लगाईरहेको म अर्थहीन मान्छे, खोक्रो आडम्बरले भरिएको मान्छे , रित्तो गर्वले फुलिएको मान्छे पुनः मेरो मित्रको अनुरोधमै घोत्लिन प्रयास गर्छु । लाख कोसिसको वावजुद पनि मेरो मगज खाली पाँउछु । मेरा हातहरु डिग चल्न मानेका छैनन् । मस्तिष्कले केही सोच्न सकेको छैन । मेरा सम्पूर्ण कल्पनारुपि भावनाहरु खहरे खोलाहरु सुकेझै क्षण भरमै विलिन भएर गए । मैले ती विलाएका सपनाहरु एकत्रित गर्न सकेन । मेरा अमूर्त विचारहरुलाई जिवन्त गर्न सकेन । अब मसँग ती मित्रलाई प्रति अनुरोध गर्नु सिवाय कुनै विकल्प छैन । मलाई आशा छ ती मेरा परम मित्रले मैले केही लेख्न नसकेको कुरा आफु भित्र कुन्ठित गरेर राख्नेछन र दुनियाँमा मेरो साखलाई जोगाई राखिदिनेछन् ।
मा प्रकाशित