सम्पादकीय : प्याब्सनको गौरवमय कार्यक्रम ‘रनिङ सिल्ड’ – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

सम्पादकीय : प्याब्सनको गौरवमय कार्यक्रम ‘रनिङ सिल्ड’

    मा प्रकाशित

संस्थागत विद्यालयलाई बारम्बार लाग्दै आएको आरोप हो–सिर्जनशीलताको अभाव । निजी विद्यालय घोकन्ते केन्द्र हुन् र विद्यार्थीको सिर्जनशीलतालाई प्राथमिकता दिइदैन । यस्ता आरोप निजी विद्यालयहरुले खेप्दै आएका छन् । यद्यपि राष्ट्रिय शिक्षामा शैक्षिक गुणस्तरको ग्राफ निजी विद्यालयहरुले उचो राखे पनि घोकन्ते केन्द्रको संज्ञाबाट निजी विद्यालय अछुतो भने छैनन् । राज्यबाट दोस्रो दर्जाको विद्यालयको दृष्टिका रुपमा हेरिनु निजी विद्यालयका लागि नौलो कुरा भने होइन । तर, कर्तव्यपरायणतामा निजी विद्यालयहरु कहिल्यै चुकेनन् । बालबालिकाको चौतर्फी विकासका लागि निरन्तर खटिरहेका हुन्छन् निजी विद्यालयहरु । बालबालिकाको सर्वाङ्गीण विकासमा निजी विद्यालयबाट कुनै कन्जुस्याइँ गरेको पाइदैन । विद्यालयमा भर्ना भएका बालबालिकालाई रुचि अनुसार प्रशिक्षण दिदै बालबालिकालाई रुचि अनुसारको क्षेत्रमा दक्ष र निपुण बनाउन विद्यालयहरु सक्रिय रहेका छन् । निजी विद्यालयको यो सक्रियतालाई राज्यले उपादेयताको रुपमा लिन जरुरी छ । बालबालिको सर्वाङ्गीण विकासमा समाज, समुदाय, विद्यालय र राज्य स्वयम् नै जिम्मेवार रहनुपर्छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सव) घोराही नगर कमिटीको आयोजनामा यतिबेला घोराहीका विद्यालयहरु खेलमय हुने भएका छन् । यही मङसिर २७ गतेदेखि सञ्चालन हुने तेस्रो प्याब्सन घोराही रनिङ सिल्ड–२०८१ को अभ्यासमा लागेका विद्यार्थीहरुमा खेलकुदप्रतिको रुचि ह्वात्तै बढेको छ भने विद्यालयहरु खेलमय बनेका रोमाञ्चित दृश्यहरु देखिन्छन् । घोराहीस्थित नवलपुर खेल मैदानमा २७ गतेदेिख सञ्चालन हुने रनिङ सिल्डले बालबालिकालाई खेलकुदसँग जोड्दै उनीहरुमा उस्तै उत्साह र उमङ्ग पनि थप्ने विश्वास विगतका रिनङ सिल्डहरुले देखाएका छन् । २०७९ बाट सुरुआत गरिएको रनिङ सिल्डले विद्यालयमा वर्ष दिनभरि खेलकुदका गतिविधिहरुले बाक्लो रुप भने अवश्य लिएका छन् । अतिरिक्त क्रियाकलापसँग जोडिदै आएका खेलकुदका इभेन्टहरुले विद्यालयमा अनिवार्य क्रियाकलापका रुप पाउन थालेका छन् । पठनपाठनका सँगसँगै खेलकुद पनि आवश्यक रहेको सिद्धान्तलाई विद्यालयले व्यवहारमा उतार्न थालेका छन् भने विद्यार्थीहरुले खेल अभ्यासमा आफूलाई सहभागी गराउन थालेका छन् । कक्षा कोठाको चार दिवारभित्र खोजिने अनुशासन खेल मैदानसम्म बिस्तार भएको छ । यो शिक्षण सिकाइको सकारात्मक पक्ष हो । बालबालिकाभित्रको क्षमता प्रस्फुटनको अब्बल मार्ग हो ।

सशस्त्र द्वन्द्वका समयमा हराउँदै गएका खेलकुदका प्रतियोगितात्मक गतिविधिहरुलाई संघीय लोकतान्त्रिक गणतन्त्रपश्चात राष्ट्रपति रनिङ सिल्डले जोड्दै आएको थियो । निजी विद्यालयमा खेलकुदलाई बाक्लो रुपमा बिस्तार गर्न प्याब्सन घोराही नगर कमिटीले आयोजना गर्दै आएको रनिङ सिल्डले मद्दत गरेको छ । पढाइसँगै खेलको अपरिहार्यतालाई बुझ्दै जाने हो भने शिक्षण सिकाइमा समेत सहज हुने छ । अब खेललाई शिक्षासँग जोड्न आवश्यक छ । यसका लागि घोराही नगर प्याब्सनले अब्बल ‘प्लेट फर्म’ तय गरेको छ । यो ‘प्लेट फर्म’ सम्पूर्ण निजी विद्यालयहरुको हो । यस्ता ‘प्लेट फर्म’ विद्यालयका लागि मात्र चुनौति रहन सक्छन् । निजी विद्यालयहरुको छाता संस्था प्याब्सनले तय गरेको यो ‘प्लेट फर्म’ लाई संरक्षण गर्ने, बिस्तार गर्ने र निरन्तरता दिने सम्पूर्ण सदस्य विद्यालयहरुको दायित्व हो । यस्तो ‘प्लेट फर्म’ अन्तर कक्षाको प्रतिस्पर्धालाई अन्तर विद्यालयसम्म पु¥याएको छ । यस्ता ‘प्लेट फर्म’ बिस्तारै अन्तर पालिका, अन्तर जिल्ला, अन्तर प्रदेश हुँदै राष्ट्रिय प्रतिस्पर्धासम्म पुग्ने सहज मार्ग हुनेमा दुई मत रहँदैन । सिङ्गो प्याब्सनको ध्यान यसप्रति केन्द्रित हुन जरुरी रहन्छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्