वन डढेलो नियन्त्रणसम्वन्धी नमूना अभ्यास – Kanika Khabar
Sunday, April 27Nepali News Portal

वन डढेलो नियन्त्रणसम्वन्धी नमूना अभ्यास

    मा प्रकाशित

घोराही, २ चैत ।

गर्मी मौसमसँगै वन जंगलमा लाग्ने डढेलो नियन्त्रण गर्दै सून्यमा झार्ने उद्देश्य अनुसार सप्ताहव्यापी सचेतनामुलक कार्यक्रम सुरु भएको छ । डिभिजन वन कार्यालय दाङले चैत १ गतेदेखि ‘वन डढेलो सप्ताह–२०८१’ सुरु गरेको हो ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत शुक्रवार घोराही उपमहानगरपालिका–२ मा रहेको शिवशक्ति सामुदायिक वनमा डढेलो नियन्त्रण सम्वन्धी नमूना अभ्यास गरेर सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको थियो ।
वन डढेलोका हिसावले जिल्लामै उच्च जोखिममा रहेको उक्त वनमा नमूना अभ्यास गरेर स्थानीयलाई सचेत गराउने काम गरिएको डिभिजन वन कार्यालय घोराहीका बरिष्ठ वन अधिकृत टेकप्रसाद आचार्यले जानकारी दिएका छन् ।

बरिष्ठ वन अधिकृत आचार्यका अनुसार गर्मी मौसममा डढेलो लाग्न नदिनका लागि गर्नुपर्ने पूर्व तयारी, डढेलो लागिहालेको अवस्थामा कसरी नियन्त्रणमा लिने, सुकेका पातहरुको व्यवस्थापन, झाडी सफाई र अग्नी रेखा निर्माणलगायतका बारेमा वन समूहका पदाधिकारी र उपभोक्तालाई जानकारी गराइएको थियो । अग्नी नियन्त्रण सम्वन्धी नमूना अभ्यासले उपभोक्तामा सचेतना फैलाउने भन्दै बरिष्ठ वन अधिकृत आचार्यले भने,‘चैतदेखि जेठको अन्तिमसम्मको सुख्खा समयमा दाङमा धेरै आगलागीका घट्नाहरु हुने र वन जंगलमा धेरै क्षति हुने गरेको छ । अव त्यस्ता घट्ना हुन नदिनका लागि सचेतना फैलाउने कार्यक्रम गरिरहेका छौ ।’

नमूना अभ्यास कार्यक्रममा डिभिवन वन कार्यालय दाङका निमित्त कार्यालय प्रमुख वन अधिकृत मदन ढुंगानाले वन जंगलामा हुने आगलागी नियन्त्रणका लागि उपभोक्ता सचेत नहुँदासम्म रोक्न नसकिने बताए । वन जंगलमा करिव ९५ प्रतिशत आगलागी मानवीय लापरवाहीका कारण हुने गरेको भन्दै वन अधिकृत ढुंगानाले त्यसलाई रोक्नका लागि नागरिकमा सचेतनासँगै डढेलो प्रतिकार्य योजना निर्माण गर्न आवश्यक रहेको बताएका थिए ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत जोखिम युक्त वन क्षेत्रमा पुगेर नमूना अभ्याससँगै उपभोक्तालाई सचेत गराउनेदेखि अग्नी नियन्त्रण दस्ता गठनका लागि पहल गर्ने गरेको भन्दै वन अधिकृत ढुंगानाले भने,‘वन जोगाउनका लागि उपभोक्ता सचेत बन्नुपर्छ । हामीले अग्नी नियन्त्रणसम्वन्धी सचेतनासँगै आवश्यक सामग्री खरिदमा सहजीकरण गरिदिन्छौ ।’ वन अधिकृत ढुंगानाका अनुसार वन डढेलोको जोखिमका हिसाबले दाङमा घोराही उपमहानगरपालिकाअन्तर्गत वडा नं. २ र ३, बंगलाचुली गाउँपालिकाअन्तर्गत वडा नं ८, बबई गाउँपालिकाको वडा नं १, २ र ५ उच्च जोखिम्मा रहेको क्षेत्र भएकाले वन जोगाउनका लागि उपभोक्ता सचेत बन्नुपर्ने बताए ।

डिभिजन वन कार्यालय घोराहीका अनुसार गएको वर्ष जिल्लामा आगलागीका एक हजार एक सय ७८ वटा घटना भएका थिए । कार्यक्रममा प्रमुख अतिथि वन तथा वातावरण मन्त्रालयकी वरिष्ठ वैज्ञानिक अधिकृत शान्ति शर्माले वन जंगलमा हुने आगलागीका कारण ठुलो क्षतिसँगै धुवाका कारण वायु प्रदुर्शन हुने गरेको भन्दै डढेलो नियन्त्रणमा ध्यानदिनुपर्ने बताइन । त्यसका लागि आफ्नो वन क्षेत्र जोगाउनका लागि प्रत्येक वन समूहका उपभोक्ता सचेत बन्ने र नियमित अनुगमन गर्न सके वन जोगाउन सकिने बताएकी थिइन ।

कार्यक्रममा बरिष्ठ वन अधिकृत ओमबहादुर वलीले विगतमा भएका आगलागीबाट पाठ सिक्दै अव आगलागी नियन्त्रणका लागि लाग्नुपर्ने बताए । वन जंगलमा लाग्ने आगलागीबाट प्रत्येक बर्ष ठुलो क्षति हुने गरेको भन्दै त्यसलाई रोक्नका लागि उपभोक्ता समिति सचेत बन्नुपर्ने बरिष्ठ वन अधिकृत वलीले बताएका थिए । उनले जिल्लामा रहेको प्रत्येक वन समूहको आप्नो क्षेत्रफल र कोषको आधारमा ५ देखि ११ जनासम्मको डढेलो दस्ता बनाउनका साथै अग्नी नियन्त्रणका लागि आवश्यक सामाग्री खरिद गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा शिवशक्ति वन उपभोक्ता समूहका अध्यक्ष चिल्लु चौधरीले अग्नी नियन्त्रणका लागि वन समूहले बनाएको योजनाका बारेमा जानकारी गराएका थिए । अग्नी नियन्त्रणका लागि वन समूह प्रतिवद्ध रहेको भन्दै अग्नी नियन्त्रण दस्ता गठन गरेर आगामी दिनमा डढेलो नियन्त्रणका लागि काम गर्ने बताएका थिए ।

डिभिजन वन कार्यालय दाङका वन अधिकृत मदन ढ्ुंगानाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण बरिष्ठ वन अधिकृत टेकनप्रसाद अचार्यले गरेका थिए । चैत १ गतेदेखि सुरु भएको सप्ताहव्यापी कार्यक्रम ७ गतेसम्म सञ्चालन हुने भएको छ । कार्यक्रममा हेमराज गन्धर्व र जनक गन्धर्वले गीत संगीतका माध्यमबाट वन डढेलो नियन्त्रण सम्वन्धी सचेतनामुलक गीत गाएका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्