एमालेमा तरङ्ग : शिक्षामन्त्रीको राजीनामा स्वीकृत गर्नुहुँदैन थापा, नयाँ मन्त्री लिनुपर्छ बस्नेत – Kanika Khabar
Saturday, June 13Nepali News Portal

एमालेमा तरङ्ग : शिक्षामन्त्रीको राजीनामा स्वीकृत गर्नुहुँदैन थापा, नयाँ मन्त्री लिनुपर्छ बस्नेत

    मा प्रकाशित

काठमाडौँ, ८ वैशाख ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएसँगै नेकपा एमालेमा तरङ्ग पैदा भएको छ। उनको राजीनामालाई लिएर सांसद तथा मन्त्रीहरूबिच नै विभिन्न मत देखिएका छन्।

एमाले सांसद सूर्य थापाले फेसबुकमा स्टाटस लेख्दै भट्टराईले राजीनामा दिन जरूरी नभएको बताएका छन्। भट्टराईको राजीनामा अनपेक्षित र असान्दर्भिक भएको भन्दै उनले यसलाई स्वीकृत गर्न नहुने बताएका हुन्।

अर्कातिर एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले शिक्षक आन्दोलन नटुङ्गिएपछि भट्टराईले राजीनामा दिएको भन्दै नयाँ मन्त्री ल्याउनुपर्ने बताएका छन्।

एमाले सांसद थापाले फेसबुकमा लेखेका छन् —

‘शिक्षामन्त्री विद्या भट्टराईले आज पदबाट दिनुभएको राजीनामा अनपेक्षित र असान्दर्भिक हो। उहाँले राजीनामा दिन जरूरी नै थिएन। मेरो सुझाव छ – उहाँको राजीनामा स्वीकृत नगरियोस्, ताकि संसदीय समितिमा विद्यालय शिक्षा विधेयकमाथि ११० दफासम्म पुगेको छलफल यही रफ्तारमा अघि बढ्नरबढाउन सम्भव हुनेछ।

उहाँले नराम्रो केही गर्नुभएको थिएन। शिष्ट, विनम्र, शालीन, अनुभवी र गम्भीर व्यक्तित्वका साथ उहाँले बिना धाक, रवाफ बिमारी अवस्था र शल्यक्रियाका बाबजुद यस कामलाई निष्कर्षमा पुर्‍याउन बडो निष्ठाका साथ कोसिस गर्नुभएको थियो। बरू शिक्षक महासंघको आन्दोलनरत नेतृत्वले आवश्यक र अनिवार्य समन्वयरसहयोग नगरी उहाँको राजीनामाको माग गरेको तथ्य स्थापित खोज पत्रकार मकर श्रेष्ठले यसरी स्टाटसमा लेख्नुभएको छ।

मेरो बुझाइ र विश्लेषणमा विद्यालय शिक्षा विधेयक पारित हुन अब केही महिना ढिलो हुने स्थिति सिर्जना भयो। प्रधानमन्त्रीज्यूले वैशाख २३ गते प्रतिनिधि सभामा टेबुल हुने दिन नै तोकेर शिक्षक नेतारूलाई स्पष्ट भन्नुभएको थियो। उहाँहरूले सडक प्रदर्शनी जारी राख्नुभएको देखियो। र, घटनाक्रम शिक्षामन्त्रीको राजीनामासम्म पुगेको छ। वैशाख २३ वा बजेटअघिको निकट मितिमा सम्बन्धित संसदीय समितिलाई विधेयकमाथिको सम्पूर्ण काम पूरा गर्न अब सम्भव नहुने स्थिति सिर्जना भयो कि ?

जुनसुकै विधेयकमाथिको छलफल अघि बढ्न सम्बन्धित मन्त्रालयका मन्त्री र अधिकारीहरूको उपस्थिति अनिवार्य हुन्छ। यसको अत्यावश्यक प्रबन्ध मिलाउन र नयाँ मन्त्रीले विधेयकको समग्र विषयवस्तु बुझेर जिम्मेवारीपूर्वक समितिमा हुने दफावार छलफलमा सहभागी हुन त केही समय लाग्ने नै देखियो।’

पोलिटब्युरो सदस्य महेश बस्नेतले भने मन्त्री भट्टराईको कार्य सम्पादनमै कमजोरी भएको टिप्पणी गरेका छन्।

उनले भनेका छन्, ‘शिक्षकहरूको आन्दोलन नटुंगिनु र शिक्षक महासंघसँग वार्ता गर्न नसकेपछि उहाँको राजीनामा आउनु मन्त्री स्वयंको कमजोरीको संकेत हो।’

मन्त्री भएदेखि नै भट्टराईको कार्य सम्पादनमा कमजोरी भएको र कार्यशैलीप्रति जनगुनासो व्यापक बढेको उनको भनाइ छ।

‘अबको चुनौती भनेको शिक्षा क्षेत्रलाई स्थायित्व दिने, शिक्षकहरूको माग सम्बोधन गर्ने र शिक्षा नीति सुधार गर्ने नेतृत्व छनोट गर्नुपर्छ,’ उनले भने।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्