काठमाडौँ, १२ वैशाख ।
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सर्वोच्चको निर्देशनात्मक आदेश शिक्षकको हठ विरुद्धमा रहेको उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले सर्वोच्च अदालतले बालबालिकाको भविष्यप्रति गम्भीर चिन्ता गर्दै दिएको निर्देशनात्मक आदेश शिक्षकको हठ विरुद्धमा रहेको उल्लेख गरेका हुन् ।
उनले लेखेका छन्, ‘सर्वोच्च अदालतले बालबालिकाको भविष्यका बारेमा गम्भीर चिन्ता गर्दै निर्देशनात्मक आदेश दिएछ । कतिपय शिक्षक नेताहरू उक्त आदेश सरकारका लागि हो भनेर तर्क गरिरहनु भएको छ । हो आदेश त सरकारलाई हो । तर चिन्ता विद्यालय बन्द भएको कुरा प्रति हो । त्यसमाथि सरकार र राजनीतिक दलले विद्यालय शिक्षा ऐन यस अधिवेशनबाट जारी गर्छौँ भन्दा पनि लिएर मात्र जाने हठ गर्ने शिक्षक नेताहरूको हठका विरुद्धमा हो ।’
सर्वोच्चले आन्दोलनरत शिक्षकहरुलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण निर्माण गर्न शुक्रत्रबार सरकारलाई आदेश दिएको थियो । आदेशमा कक्षा १२ को परीक्षा समयमै सम्पन्न गर्न भनि भनिएको छ ।
महासचिव पोखरेल लेख्छन्
सर्वोच्च अदालतले बालबालिकाको भविष्यका बारेमा गम्भीर चिन्ता गर्दै निर्देशनात्मक आदेश दिएछ । कतिपय शिक्षक नेताहरु उक्त आदेस सरकारका लागि हो भनेर तर्क गरिरहनु भएको छ । हो आदेस त सरकारलाई हो । तर चिन्ता विद्यालय बन्द भएको कुरा प्रति हो । परीक्षा रोकिएको कुरा प्रति हो । सरकार र राजनीतिक दलले विद्यालय शिक्षा ऐन यस अधिवेशनवाट जारी गर्दछौ भन्दा पनि लिएर मात्र जाने हठ गर्ने शिक्षक नेताहरुको हठका विरुद्धमा पनि हो । अब हठ त्यागेर अनौपचारिक रुपमा भएको सहमतिलाई औपचारिकता दिएर शिक्षकहरुलाई विद्यालय फर्काउने वातावरण तयार गरौ ।
उक्त आदेश पछि सरकारका लागि अदालतको आदेशको कार्यान्वयन गर्नु पर्ने वाध्यता उत्पन्न भएकोछ । उक्त आदेशको मुल पक्ष विद्यालय र परीक्षा समयमै सञ्चालन गर्नु हो । सबै पक्ष जिम्मेवार बनौँ ।


