रक्षा शर्मा
हावामा फरफराउँदै गरेको हेरे मैले त्यो झण्डा आहा !
तिनकुने आकार अवश्य छ फरक अरूभन्दा
निलो सीमाना जस्तै फराकिलो आकाश शान्त
अथाह, विभेद र अवरोध बिनाको पुर्खाको
रातो रगत र चन्द्र सूर्यको प्रकाश
तर यो हुल झण्डा बोकी अदालत किन धाको ?
हुन त म पनि वकिल होइन
मुद्दाको तर्कविर्तक बुन्न
तर पनि एक नेपालीको नाताले
पर्छ उनका व्यथा सुन्न
मेरी छोरीको बलात्कारीलाई कारबाही भएन
त्यसैले आएँ न्याय माग्न
एउटी आमाले रुदै भनेका यी वाक्यले बाध्य पार्यो मलाई
देशको शान्ति र समृद्धिको भ्रम त्याग्न
सर्वज्ञानी गुरुहरु आन्दोलन गर्न सडकमा झरे
कि नयाँ शिक्षा ऐन ल्याऊ
कि शैक्षिक सत्र नै ध्वस्त गरिदिन्छौ अरे !
कतै बल्दैछ राजा आऊ देश बचाउको नारा
गणतन्त्र वा राजतन्त्रमा बाँडिए एकीकृत जनता
फेरि उचालियो झण्डा उही जोश तर कारण अनेक
फरक विधि तर समृद्ध नेपाल सुखी नेपालीको खोज एक
देशको हित होइन, आफ्नो खल्ती भर्न
कुर्सीको तानातान हावामा रेल उडाउने गफ
तर किन शून्य छ उद्योग र उत्पादन ?
मत माग्ने दिन पछि किन फर्किएनौ तिमी गाउँ ?
सोध्दै थिए एउटा बुवा छोपी तिम्रो घोषणापत्र जप्दै तिम्रो नाउँ
खेती के गरु बुवा, कहिले पाँच रुपैया पनि पुग्दैन टमाटरको भाउ ?
नातागोता छैनन हाम्रा पदमा त्यसैले विदेश जाने अनुमति पाऊँ
कति युवा करले त कति रहरले उडे सपना समाली
डर छ बुतालाई पनि, कतै जानुपर्छ कि छोराको मलामी
गोडा मोल्ने र हात जोड्नेको देशमा चल्छ राज
न्याय बेचिन्छ लाखौंमा
दाबिन्छ निमुखा आवाज
कर प्रणालीको सार लगानीको आधार
नारा याद छ मलाई
बजेट कता बाँडियो बिचमा भएन त हाम्रो भलाइ
विद्यालय जान लागेका कति खोला तर्न नसकी फर्किए
अस्पताल पुग्न नपाउदै बिच बाटामै कति सास अड्किए
तर, अझै गर्वसाथ भन्छु
म मेरो देश नेपाल, सुन्दर शान्त विशाल
जहाँ बुद्धका उपदेश व्यवहारबाट बिलाए
जहाँका नारी, सीता माता होइन, द्रौपती बनाए
जहाँ स्रोतसाधन त्यस्तै
नतिजा रित्तै पाए
जहाँ किसानकै पेट भोको भएर कराए
तर, अझै गर्वसाथ भन्छु म
मेरो देश नेपाल सुन्दर शान्त विशाल
चहकिलो झण्डामुनि
त्रसित र शोषित चित्कार माग्दैछ गाँस, बास, कपास
चाहिदैन संसार
हातमा हात र काँधमा काँध मिलाई बढौँ अगाडि
जात, भाषा, धर्म पहिले हामी सबै नेपाली एक्कासी
एउटा प्रश्नले फर्कायो यर्थाथमा
कहिले होला हामीले चाहेको नयाँ नेपाल आउने ?
कहिले होला निर्मलाजस्ता हजारौले न्याय पाउने
अवश्य आउँछ, तर उठाउ त्यो झण्डा
म छु तिम्रो साथ
सत्यको हुन्छ जीत
एकदिन सुनिएला नि हाम्रो पनि आवाज