फिल्म ‘मिरमिरे’ मा दयाहाङपछि प्रकाशको इन्ट्री – Kanika Khabar
Monday, July 14Nepali News Portal

फिल्म ‘मिरमिरे’ मा दयाहाङपछि प्रकाशको इन्ट्री

    मा प्रकाशित

काठमाडौं । फिल्म ‘मिरमिरे’मा अभिनेता प्रकाश सपूत अनुबन्ध भएका छन् । भेट्रान अभिनेता दयाहाङ राईपछि अभिनेता प्रकाशलाई यो सिनेमामा अनुबन्धित गराएको हो ।

प्रकाश अहिलेका रुचाइएका कलाकार हुन् । चलचित्र ‘मिरमिरे’बाट प्रकाश र दयाहाङले पहिलो पटक सहकार्य गर्ने भएका छन् । अन्य कलाकारबारे हालसम्म यो टिमले जानकारी दिएको छैन । “हामी कलाकारसँग सम्झौताकै क्रममा छौँ । केहीसँग कुरा भइरहेको छ,” निर्देशक यम शेर्पाले भने, “हामी अहिले बजारले रुचाएका र अभिनयमा पक्कड भएका कलाकारलाई नै लिएर काम गर्नेछौँ ।”

प्रकाश यो सिनेमामा अभिनेताका रूपमा मात्रै रहनेछन् वा सांगीतिक पाटोमा पनि जोडिनेछन् भन्नेबारे पछि स्पष्ट पार्ने यमले बताए । चलचित्र राम्रो बनाउन कुनै सम्झौता नगर्ने उनले दोहोर्‍याए । ‘मिरमिरे’ यमको दोस्रो निर्देशन हो ।

चलचित्र ‘कार्साङ’ फेम्ड निर्देशक यमले ‘मिरमिरे’को कलाकार लाइनअप बलियो हुने बताए । प्राविधिकपक्ष पनि सिनेमाको बलियो हुने उनको भनाइ छ । अभिनेता प्रकाश सपूतले ‘मिरमिरे’मा जोडिन पाउँदा खुशी व्यक्त गरे । आफ्नो भूमिका विशेष र महत्वपूर्ण रहेको बताउँदै उनले यस सिनेमाले आफूलाई नयाँ उचाइ दिने विश्वास व्यक्त गरेका छन् ।

यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्रले ग्रामीण परिवेशको सामाजिक कथा भन्ने यमले जानकारी दिए । चलचित्रको निर्देशन सँगै स्टोरी पनि यम शेर्पा स्वयंले लेखेका छन् । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा र ईश्वर श्रेष्ठ छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।

‘मिरमिरे’लाई २०८२ मा रिलिज हुनेछ । प्रदर्शन मिति भने तय भएको छैन । चलचित्रलाई आरआर फिल्मसले वितरण गर्नेछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्