कविता : अराजक आमाहरू – Kanika Khabar
Monday, December 8Nepali News Portal

कविता : अराजक आमाहरू

    मा प्रकाशित


अराजक आमाहरू

अब बदल्नुुपर्छ आमाहरूले आफूलाई
र फैलाउनुपर्छ परिवर्तनका ध्वनिहरू
छोरीहरूको मथिङ्गलमा !
आमाहरूले अब पनि नबोक्ने हो भने तरबार
बन्धनमै बाँचिरहने छन् छोरीहरू,
आमाहरूले नसिकाउने हो भने
आवाज बुलन्द बनाउन
मौनता ओढेर निदाइरहने छन् छोरीहरू
आमाहरूले नभत्काउने हो भने कुविचारका पर्खालहरू
सहिरहने छन् अझै पनि दलन र अनिच्छाको जिन्दगी
नसक्ने हो भने थुत्न पुरुषसत्ताको जिब्रो
बाँचिरहने छन् आफ्नै घरको पुरातनी पर्खालमा
र, घेरिइरहने छन् चक्रव्यूहमा !

यो समय आमाहरू बलियो हुने समय हो
यो समय आमाहरूले सत्ता लिने समय हो
आमाहरूले नै सिकाउनुपर्छ अब छोरीहरूलाई
उमार्न आफ्नै शरीरमा क्याक्टसका अनगिन्ती बिरुवाहरू
सिकाउनुपर्छ आमाहरूले नै
खिलखिलाएर हाँस्न आफैसँग
विष ओकल्नेहरूका अगाडि
फूल बनेर होइन,
काँडाबिचमा उम्रन सिकाउनुपर्छ
मैला विचारविरुद्ध
नाच्न सिकाउनुपर्छ खुकुरी बोकेर
अन्यायविरुद्ध
बमहरू पड्काउन सिकाउनुपर्छ !

सिकाउनुपर्छ अझै छोरीहरूलाई
लगाउन व्याप्त पितृसत्ताको सोचमा आगो
निकालिदिन तिनका केही व्यभिचारी आँखाहरू
भाँचिदिन तिनका केही लामा भएका हातहरू
लुछिदिन तिनका अनुहारका अनेकन् मुखुन्डाहरू
च्यातिदिन तिनका केही वासना बोल्ने थुतुनाहरू
उज्यालो निलेर उज्यालै ओकल्न सिकाउनुपर्छ
अब आमाहरूले बोल्न सिकाउनुपर्छ !

आमा अब तिमीहरूले नाच्नुपर्छ चण्डीनाच
किन सधैं उभिइरहने सतिसाल भएर
किन छोपिरहने सहनशीलतालार्ई घुम्टोमा
किन मरिरहने पल प्रतिपल आफ्नै रहरहरूसँग
बाँधेर हुन्न आफ्नै आँखामा आफैंविरुद्धको पट्टी
कहिले आवाज बनेर÷कहिले मौनता ओढेर
गरिरहनुपर्छ युद्ध
अब पर्छ तिमीहरूले शङ्खनादसँगै
समानताको उद्घोष गर्न !

आमा अब तिमी किन नबन्ने आगो
किन नजलाउने कुविचारहरूलाई
देखावटी देवी बनेर कहिलेसम्म बाँचिरहने
कति बन्ने खरानी
कति बन्ने धुलो
कति बन्ने बिचरा
कति बन्ने बेसहारा
लेखिने बेला भएन र
अब त आमाहरूको पनि इतिहास ?

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्